७ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन बाह र भारतीय समकक्षी नरेन्द्र मोदी सोमबार मध्याह्न न्यानो अंगालोमा कस्सिए । उनीहरुबीच थुप्रै विषयमा सकारात्मक सहमति, समझदारी तथा भविष्यसम्मका लागि प्रतिबद्धताहरु निर्माण भएका छन् ।
भारतीय समकक्षी नरेन्द्र मोदीले बालेन शाहलाई विश्वकै कान्छा प्रधानमन्त्रीका रुपमा संयुक्त राष्ट्रसंघ महासभामा सुन्न पाएको भन्दै प्रशंसा बर्साए । सोमबार नयाँदिल्लीस्थित हैदरावाद हाउसमा मोदीले त्यतिमात्रै भनेनन्, एक युवा प्रधानमन्त्रीका रुपमा बालेनको दूरदर्शिता र सोचको स्पष्टतासमेत पछिल्ला केही घण्टाहरुमा भएका छलफलमार्फत् आफूले पाएको मूल्यांकन सुनाए ।
पत्रकार भेटअघि बालेन र मोदीबीच समूहमा अनि एक्लाएक्लै वार्तासमेत भएको थियो । नेपालको पछिल्लो चुनावमार्फत् बालेनले आर्जेको लोकप्रियताको मोदीले प्रशंसा गरे । नेपाल–भारत सम्बन्धमा बीचका केही वर्ष उतारचढाव आएको भन्दै शिखर भ्रमणहरु स्थापित भइनरहेका बेला प्रधानमन्त्री बालेनको यो भ्रमणले राजनीतिक तथा कुटनीतिक सम्बन्धमा पुनर्ताजगी आएको महसुस सोमबारको वार्ता तथा सहमतिले दिएको छ ।
माथि भनिएझैं भेट सुरु गर्नुअघि दुई शीर्ष कार्यकारीले आपसमा गम्लंग अँगालो हाले । त्यो अंकमालको न्यानोपनसँगै वार्तामा छिरेका नेताहरु पत्रकारसँग बस्नुअघि भने केही गम्भीर देखिन्थे ।
समग्र हाउभाउ र संकेत हेर्दा मोदी सुरुमा निकै गम्भीर देखिन्थे, अनि बालेन चाहिँ स्वाभाविक देखिन प्रयत्न गरिरहेका थिए । यो संयोग नै मानौं, प्रधानमन्त्री बनेयता नेपालमा पत्रकारसँग नबसेका प्रधानमन्त्री बालेनले आफ्नो पहिलो पत्रकार सम्मेलन समकक्षी मोदीसँग गरे, नयाँ दिल्लीमा ।
सीमा विवाददेखि एयर इन्ट्री रुटका विषय समेतले प्रवेश पाएका छन् । इपिजी र अग्निपथका एजेन्डा छुटेका छन् । यसबारे अनलाइनखबरले विस्तृतमा लेखिसकेको छ । दुई खर्ब ४० अर्ब रुपियाँको विकास सहायता नेपाललाई दिने मोदीको घोषणा छ ।
कतिपय विषयहरु संयुक्त प्रेस वक्तव्यमा नपरे पनि प्रधानमन्त्रीको भारत भ्रमण सकिने बेलासम्म जारी संयुक्त वक्तव्यले सम्बोधन गरेका छन् । अनलाइनखबरका प्रधानसम्पादक बसन्त बस्नेत अनि एसोसियट सम्पादक जनार्दन बरालबीचको यो भिडियो समीक्षा नेपाल भारतका शीर्ष कार्यकारीहरुबीचको छलफल र त्यसबाट सार्वजनिक संयुक्त समझदारी, सहमति र सम्झौतामा आधारित छ ।
प्रतिक्रिया 4