+
+
Shares

सलीम खान,  फुटपाथमा भेटिएकी बेसहारा बालिकालाई अपनाए, ४५ वर्षको उमेरमा दोस्रो विवाह

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ८ गते १३:३९

सलीम खानको जन्म २४ नोभेम्बर १९३५ मा इन्दौरमा भएको थियो । उनले ९१ औं वर्षको केक काटेका छन् ।

‘शोले’, ‘दीवार’ र ‘जंजीर’ जस्ता चर्चित हिन्दी फिल्म लेखेका दिग्गज लेखक सलीम खानको आज अर्थात् २४ नोभेम्बरमा ९१औं जन्मदिन हो ।

सलीम खानले ६० को दशकमा सुशीला चरकसँग विवाह गर्दा एउटी युवतीको हात मात्रै थामेका थिएनन्, दुई धर्मबीच विश्वासको पुल पनि बनाएका थिए । उनले धर्म कहिल्यै आफ्नो सम्बन्धको बाधक नबन्ने वाचा गरेका थिए र जीवनभर त्यो वाचा निभाए । ससुरालीमा उनलाई मायाले शंकर भनेर बोलाइन्थ्यो ।

चार सन्तानका पिता बनेका सलीम खानले उनीहरूलाई नाम मात्रै होइन, संस्कार पनि दिए । त्यसपछि जीवनले अर्को मोड लियो, जब उनले हेलनको हात थामे । हेलन एक्ली थिइन् र सम्मानको हकदार थिइन् । यो निर्णय सहज थिएन । परिवारमा दुःख पनि भयो, तर सलीम खानले आफ्ना छोराछोरीलाई एउटै पाठ सिकाए- ‘आमा भन्नु जरुरी छैन, तर आमालाई जस्तै सम्मान भने दिनुपर्छ ।’

यही सलीम खानको वास्तविक विरासत हो- यस्तो परिवार, जहाँ सम्बन्ध रगतले होइन, सम्मान, विश्वास र मायाले जोडिएका छन् । उनको जीवन साँच्चै भव्य रह्यो, किनकि उनले कथा मात्रै लेखेनन्, ती कथालाई जीवनमा पनि उतारे । आज जानौं, यस्तै एउटा परिवारको कथा ।

पहिलो विवाहमा धर्म बाधक बनेको थियो

सलीम खानकी पहिलो पत्नी सलमा खान (सुशीला चरक) हुन् । सलमाको फिल्म उद्योगसँग प्रत्यक्ष सम्बन्ध थिएन । सलीम खान र सुशीला चरकको भेट सन् १९५० को दशकको अन्त्यतिर मुम्बईमा भएको थियो । त्यसबेला सलीम खान अभिनेता अजितको घरमा केही समय बसेका थिए भने सुशीलाको घर ठीक अगाडि थियो ।

भवनमा आउजाउ गर्दा दुवैको नजर जुध्यो । त्यसपछि भेटघाटको सिलसिला प्रेममा परिणत हुँदै गयो । प्रेमको यो कथा करिब पाँच वर्षसम्म चल्यो । यसमा सबैभन्दा ठूलो बाधक धर्म बन्यो, किनकि सुशीला  हिन्दू परिवारकी थिइन् ।

धेरै कठिनाइ आए, तर सलीम खानले सुशीलाको परिवारलाई धर्म उनीहरूको सम्बन्धको बीचमा कहिल्यै पर्खाल नबन्ने विश्वास दिलाए । त्यसपछि सन् १९६४ मा दुवैले विवाह गरे ।

रोचक कुरा, सुशीलालाई सात फेरा लिने परम्परा निकै मन पर्थ्यो । त्यसैले सलीम खानले पण्डितको व्यवस्था गरेर सात फेरा लिए र त्यसपछि दुवैले निकाह पनि गरे । विवाहपछि सुशीलाले आफ्नो नाम परिवर्तन गरेर सलमा खान राखिन् ।

सलीम खान र सलमाको विवाहपछि दाइजोका रूपमा गणेश नामका एक सहयोगीलाई पठाइएको थियो, जो आज पनि परिवारसँगै छन् ।

सलमा र सलीमका चार सन्तान सलमान, अरबाज, अलवीरा र सोहेल भए ।

सलमा चर्चामा रहन रुचाउँदिनन्, तर पारिवारिक तथा फिल्मी कार्यक्रमहरूमा कहिलेकाहीँ देखिन्छिन् ।

४५ वर्षको उमेरमा हेलनलाई दोस्रो पत्नीको दर्जा दिए

सलीम खानकी दोस्रो पत्नी हेलन रिचर्डसन हुन् । हेलन हिन्दी सिनेमाकी चर्चित नृत्यांगना तथा अभिनेत्री रहिन् । सन् १९५० को दशकमा पृष्ठभूमिमा नृत्य गर्ने कलाकारका रूपमा करियर सुरु गरेपछि उनलाई फिल्म ‘हावडा ब्रिज’ (१९५८) को गीत ‘मेरा नाम चिन चिन चू’ बाट ठूलो पहिचान मिल्यो ।

सन् १९६०–७० को दशकमा ‘जंगली’, ‘चाइना टाउन’, ‘तीसरी मंजिल’ र ‘प्रिन्स’ जस्ता फिल्मका चर्चित गीतहरूमा नृत्य गरेपछि उनी ‘डान्सिङ क्विन’का रूपमा प्रसिद्ध भइन् ।

सलीम खान र हेलनको पहिलो भेट सन् १९६२ मा फिल्म ‘काबुली खान’को सेटमा भएको थियो । त्यसबेला दुवै आआफ्नो करियरमा व्यस्त थिए । हेलन नृत्यका गीतहरूका कारण फिल्म उद्योगमा छुट्टै पहिचान बनाइसकेकी थिइन् भने सलीम खान फिल्ममा अभिनय गरिरहेका थिए । त्यसबेला दुवैबीच सामान्य चिनजान मात्रै थियो ।

सन् १९७५ आसपास हेलन आफ्नो करियरको कठिन समयबाट गुज्रिरहेकी थिइन् । काम पाउन कम हुँदै गएको थियो भने व्यक्तिगत र आर्थिक चुनौती पनि सामना गरिरहेकी थिइन् । यस्तो समयमा सलीम खानले कुनै स्वार्थ नराखी सहयोगको हात बढाए । केही दिनमै उनको प्रयासका कारण हेलनले तीन फिल्ममा काम पाइन् ।

सलीम खानले हेलनको प्रेमकथाबारे  भनेका थिए, ‘प्रेमको जरा सम्मानमा हुन्छ । जबसम्म कसैप्रति मनमा सम्मान हुँदैन, तबसम्म उसलाई साँचो प्रेम गर्न सकिँदैन ।’

यही आपसी सम्मान बिस्तारै गहिरो प्रेममा परिणत भयो । हेलनले एक हजारभन्दा बढी फिल्ममा काम गरिन् । उनलाई सन् २००९ मा पद्मश्रीबाट सम्मानित गरिएको थियो ।

रोचक कुरा, उनीहरूबीच एकअर्कालाई औपचारिक रूपमा प्रेम प्रस्ताव राखेको कुनै क्षण थिएन । सम्बन्ध आफैं अघि बढ्दै गयो ।

सन् १९८१ मा सलीम खानले हेलनसँग विवाह गरे । यो निर्णय सहज थिएन, किनकि उनी यसअघि नै सलमा खानसँग विवाहित थिए र सुखी पारिवारिक जीवन बिताइरहेका थिए ।

सलीम खानले जुमलाई दिएको अन्तर्वार्तामा हेलनसँग विवाह गरेर उनलाई सम्मान र सामाजिक दर्जा दिन चाहेको बताएका थिए । सलीमले भनेका थिए, ‘मेरो धर्मले मलाई दोस्रो विवाह गर्न अनुमति दिन्छ, त्यसैले केवल सँगै बस्नुभन्दा सम्मानजनक बाटो रोजेँ ।’

सलीम र हेलनको विवाहले स्वाभाविक रूपमा परिवारमा हलचल ल्यायो । सलमा खानका लागि यो सत्य स्वीकार गर्न सहज थिएन । छोराछोरी सलमान, अरबाज, सोहेल र अलवीरा सुरुमा यो सम्बन्धप्रति असन्तुष्ट थिए ।

त्यो संवेदनशील समयमा सलीम खानले छोराछोरीलाई भनेका थिए, ‘म तिमीहरूले उनलाई आफ्नी आमालाई जस्तै माया गर भन्ने अपेक्षा गर्दिनँ, तर आमालाई जस्तै सम्मान भने दिन चाहन्छु ।’

समयसँगै परिस्थिति बदलियो । बिस्तारै छोराछोरीले हेलनलाई स्वीकार गरे । हेलनले पनि परिवारलाई मनदेखि अपनाइन् र सलीम खानका सबै छोराछोरीलाई आफ्नै सन्तान मानेर माया गरिन् ।

अहिले सलमा खान र हेलनलाई धेरै अवसरमा सँगै देखिन्छ । सलमान, अरबाज र सोहेलले हेलनलाई आमाको दर्जा दिएका छन् ।

सलीम खान र हेलनका जैविक सन्तान छैनन् । दुवैले अर्पितालाई धर्मपुत्रीका रूपमा अपनाएका थिए । अर्पिता एक बेसहारा महिलाकी सन्तान थिइन्, जसको मुम्बईको फुटपाथमा मृत्यु भएको थियो । सलीम खान उनलाई प्रायः फुटपाथमा देख्ने गर्थे र महिलाको मृत्यु भएपछि बालिकालाई सहारा दिन आफ्नो घर ल्याएका थिए ।

जेठा छोरा सलमान बलिउडका शीर्ष अभिनेता

सलीम खानका जेठा छोरा सलमान खान आज बलिउडका शीर्ष अभिनेतामध्ये एक मानिन्छन् । सलमान तीन दशकदेखि फिल्म उद्योगमा सक्रिय छन् । उनले सन् १९८८ मा फिल्म ‘बीवी हो तो ऐसी’ बाट सहायक भूमिकामा अभिनय गर्दै फिल्मी करियर सुरु गरेका थिए । त्यसपछि सन् १९८९ को सफल फिल्म ‘मैने प्यार किया’मा मुख्य भूमिका निभाए, जसले उनलाई ठूलो लोकप्रियता दिलायो ।

सलमान खानले विवाह गरेका छैनन् र ६० वर्षको उमेरमा पनि अविवाहित छन् ।

त्यसपछि सलमानले ‘हम आपके हैं कौन’, ‘करण अर्जुन’, ‘तेरे नाम’, ‘वान्टेड’, ‘बडीगार्ड’, ‘दबंग’, ‘एक था टाइगर’ र ‘बजरंगी भाइजान’ जस्ता धेरै फिल्ममा काम गरे । अभिनेता हुनुका साथै उनी फिल्म निर्माता र टेलिभिजन प्रस्तोता पनि हुन् । उनले सन् २०१० देखि टेलिभिजन शो ‘बिग बोस’ सञ्चालन गर्दै आएका छन् ।

सलमान खान आफ्नो जीवन र फिल्मी करियरमा पिता सलीम खानलाई सबैभन्दा ठूलो सहारा मान्छन् । उनले धेरै अन्तर्वार्तामा सुटिङका क्रममा कुनै दृश्यमा अड्किएमा सबैभन्दा पहिले सलीम खानलाई फोन गर्ने बताएका छन् ।

सलीम खानले सलमानसहित आफ्ना छोराछोरीसँग सधैं डराउने पिता होइन, साथी जस्तो सम्बन्ध बनाउने प्रयास गरेका छन् ।

सलीम खानले सलमान सुपरस्टार भए पनि घरमा उनीसँग अन्य छोराछोरीलाई जस्तै व्यवहार गरिने बताएका थिए ।

सलमानसँग तुलना गरिएको विषयमा अरबाजले सोधेका थिए प्रश्न

अरबाज खान सलीम खानका दोस्रो सन्तान हुन् । अरबाज अभिनेता, निर्देशक तथा फिल्म निर्माता हुन् र फिल्म उद्योगमा सक्रिय छन् । उनले सन् १९९६ मा फिल्म ‘दरार’बाट अभिनय करियर सुरु गरेका थिए, जसमा उनले खलनायकको भूमिका निभाएका थिए । उक्त भूमिकाका लागि उनले फिल्मफेयर अवार्ड पनि पाएका थिए । त्यसपछि उनले ‘प्यार किया तो डरना क्या’, ‘हलचल’, ‘मालामाल वीकली’ र ‘शूटआउट एट लोखंडवाला’ जस्ता धेरै फिल्ममा अभिनय गरे ।

अरबाज खान प्रोडक्सन्सअन्तर्गत अरबाजले सन् २०१० मा फिल्म ‘दबंग’ निर्माण गरेका थिए । यसमा उनले अभिनय पनि गरेका थिए र फिल्म बक्स अफिसमा ठूलो सफल भएको थियो । त्यसपछि उनले ‘दबंग २’ निर्देशन पनि गरेका थिए ।

अरबाज खानको जन्म ४ अगस्ट १९६७ मा भएको थियो ।

व्यक्तिगत जीवनको कुरा गर्दा अरबाजको पहिलो विवाह मलाइका अरोडासँग भएको थियो, जसबाट उनको एक छोरा अरहान छन् । अरबाज र मलाइकाको विवाह सन् १९९८ मा भएको थियो । करिब १९ वर्ष सँगै रहेपछि सन् २०१७ मा उनीहरूको सम्बन्धविच्छेद भयो ।

मलाइका अरोडा अभिनेत्री, नृत्यांगना तथा टेलिभिजन व्यक्तित्वका रूपमा चिनिन्छिन् । ‘छैयाँ छैयाँ’ र ‘मुन्नी बदनाम हुई’ जस्ता चर्चित गीतबाट उनले विशेष पहिचान बनाएकी हुन् ।

मलाइका ‘इन्डियाज गट ट्यालेन्ट’ र ‘नच बलिए’ जस्ता धेरै रियालिटी शोमा निर्णायक पनि रहिसकेकी छन् ।

त्यसपछि अरबाजले डिसेम्बर २०२३ मा शूरा खानसँग दोस्रो विवाह गरे र अक्टोबर २०२५ मा छोरीका पिता बने । शूरा खान बलिउडकी व्यावसायिक मेकअप आर्टिस्ट हुन् । उनले रविना टण्डन र राशा थडानीसहित धेरै कलाकारसँग काम गरेकी छन् ।

शूरा र अरबाजको भेट फिल्म ‘पटना शुक्ला’को सेटमा भएको थियो, जहाँ शूरा मेकअप आर्टिस्टका रूपमा काम गरिरहेकी थिइन् ।

‘द इनभिन्सिबल्स’ शोमा अरबाज खानले सलीम खानलाई प्रश्न गरेका थिए, ‘दुनियाँको नजरमा सलमान खान ठूलो स्टार र सफल व्यक्तित्व हुन् । उनको तुलनामा तपाईंका अन्य छोराछोरी, म पनि सहित, त्यति सफल मानिँदैनन् । के तपाईंलाई कहिलेकाहीँ अन्य छोराछोरीले त्यस्तो सफलता हासिल गर्न नसकेकोमा निराशा लाग्छ ?’

यसमा सलीम खानले जवाफ दिएका थिए, ‘म उनीहरूको प्रयास हेर्छु । कहिलेकाहीँ उनीहरू इमानदारीपूर्वक प्रयास गरिरहेका छन्, मेहनत गरिरहेका छन् भन्ने लाग्छ । त्यसबेला केही न केही राम्रो अवश्य हुनेछ भन्ने लाग्छ । उनीहरूले आफ्नो समय खेर फालिरहेका छैनन्, निरन्तर मेहनत गरिरहेका छन् भन्ने कुराले मलाई सन्तुष्टि दिन्छ ।’

छोरी अलवीराले धेरै फिल्म निर्माण गरिन्

अलवीरा खान अग्निहोत्री सलीम खान र सलमा खानकी छोरी हुन् । उनी फिल्म निर्माता तथा फेसन डिजाइनरका रूपमा चिनिन्छिन् ।

अलवीराले फिल्म उद्योगमा निर्माताका रूपमा काम गरेकी छन् । उनले ‘बडीगार्ड’ (२०११), ‘ओ तेरी’ (२०१४) र ‘भारत’ (२०१९) जस्ता फिल्म निर्माण गरेकी छन् । सन् २०२३ मा उनले फिल्म ‘फर्रे’ पनि निर्माण गरिन्, जसबाट उनकी छोरी अलीजेह अग्निहोत्रीले बलिउडमा पदार्पण गरेकी थिइन् ।

अलवीरा खान अग्निहोत्रीको जन्म १३ डिसेम्बर १९६९ मा भएको थियो ।

अलवीरा फेसन डिजाइनिङमा पनि सक्रिय छन् । उनी विशेषगरी सलमान खानका फिल्मका लागि पोसाक डिजाइन गर्छिन् । उनले ‘सुल्तान’, ‘एक था टाइगर’, ‘बजरंगी भाइजान’ र ‘टाइगर ३’ जस्ता फिल्ममा डिजाइनरका रूपमा काम गरेकी छन् ।

व्यक्तिगत जीवनको कुरा गर्दा अलवीराले फिल्म निर्माता अतुल अग्निहोत्रीसँग विवाह गरेकी छन् । उनीहरूका दुई सन्तान छन्– छोरी अलीजेह र छोरा अयान अग्निहोत्री ।

अतुल अग्निहोत्री अभिनेता, निर्देशक तथा फिल्म निर्माता हुन् । उनले सन् १९९० को दशकमा अभिनय करियर सुरु गरेका थिए । पछि उनी निर्देशन र निर्माणमा पनि जोडिए ।

करियरको कुरा गर्दा अतुलले सन् १९८३ मा फिल्म ‘पसन्द अपनी अपनी’बाट बाल कलाकारका रूपमा अभिनय सुरु गरेका थिए । मुख्य अभिनेताका रूपमा उनलाई सन् १९९३ को फिल्म ‘सर’बाट पहिचान मिल्यो । त्यसपछि उनी ‘आतिश’, ‘क्रान्तिवीर’, ‘नाराज’, ‘यशवंत’ र ‘हम तुम्हारे हैं सनम’ जस्ता फिल्ममा देखिए ।

अभिनयपछि अतुल निर्देशनतर्फ लागे । उनले ‘दिल ने जिसे अपना कहा’ (२००४) र ‘हेलो’ (२००८) निर्देशन गरेका थिए ।

निर्माताका रूपमा अतुल अग्निहोत्रीले ‘बडीगार्ड’ (२०११) जस्तो सफल फिल्म निर्माण गरेका थिए । यसबाहेक उनी ‘ओ तेरी’, ‘भारत’, ‘राधे’ र ‘फर्रे’ जस्ता फिल्मसँग पनि जोडिएका छन् ।

अलवीराले सन् १९९५ मा अतुल अग्निहोत्रीसँग विवाह गरेकी थिइन् ।

कान्छा छोरा सोहेलले निर्देशनबाट करियर सुरु गरे

सोहेल खान सलीम खानका कान्छा छोरा हुन् । सोहेल पनि निर्देशक, अभिनेता तथा फिल्म निर्माताका रूपमा फिल्म उद्योगमा सक्रिय छन् ।

सोहेल खानले आफ्नो करियर निर्देशन र निर्माणबाट सुरु गरेका थिए । उनले सन् १९९७ मा फिल्म ‘औजार’बाट निर्देशनमा कदम राखेका थिए । त्यसपछि ‘प्यार किया तो डरना क्या’ र ‘हेलो ब्रदर’ जस्ता फिल्म निर्देशन गरे । सन् २०१४ मा उनले सलमान खानको फिल्म ‘जय हो’ पनि निर्देशन गरेका थिए ।

सोहेल खानको जन्म २० डिसेम्बर १९७० मा मुम्बईमा भएको थियो ।

अभिनेताका रूपमा सोहेलले सन् २००२ मा फिल्म ‘मैने दिल तुझको दिया’बाट पदार्पण गरेका थिए । त्यसपछि उनी ‘मैने प्यार क्यों किया’, ‘सलाम-ए-इश्क’, ‘वीर’ र ‘ट्युबलाइट’ जस्ता फिल्ममा देखिए । सोहेलको आफ्नै निर्माण कम्पनी पनि छ, जसको नाम सोहेल खान प्रोडक्सन्स हो । उनी टेलिभिजन शो ‘कमेडी सर्कस’का धेरै सिजनमा निर्णायक पनि रहिसकेका छन् ।

व्यक्तिगत जीवनको कुरा गर्दा सोहेल खानले सन् १९९८ मा सीमा सजदेहसँग विवाह गरेका थिए । करिब २४ वर्ष सँगै रहेपछि सन् २०२२ मा उनीहरूको सम्बन्धविच्छेद भयो । उनीहरूका दुई छोरा निर्वाण र योहान छन् ।

सम्बन्धविच्छेदपछि सोहेल र सीमा दुवैले मिलेर छोराछोरीको पालनपोषण गरिरहेका छन् ।

सोहेलकी पूर्वपत्नी सीमा चर्चित फेसन डिजाइनर तथा उद्यमी हुन् । सीमा मुम्बईमा आफ्नै फेसन ब्रान्ड सञ्चालन गर्छिन् । उनी नेटफ्लिक्सको रियालिटी सिरिज ‘फ्याबुलस लाइभ्स अफ बलिउड वाइभ्स’मा पनि देखिएकी छन् ।

कान्छी छोरी अर्पिता व्यवसायमा सक्रिय

सलीम खान र हेलनकी धर्मपुत्री अर्पिता खान शर्माले लन्डन कलेज अफ फेसनबाट फेसन मार्केटिङ तथा व्यवस्थापनको अध्ययन गरेकी छन् ।

करियरका क्रममा अर्पिताले अभिनयभन्दा डिजाइनिङ र व्यवसायमा रुचि देखाइन् । उनी इन्टेरियर डिजाइनिङसँग जोडिएकी छन् । यसबाहेक उनले मुम्बईमा ‘मर्सी’ नामको विलासी युरोपेली भोजनालय पनि सुरु गरेकी छन् ।

व्यक्तिगत जीवनको कुरा गर्दा अर्पिताले १८ नोभेम्बर २०१४ मा अभिनेता आयुष शर्मासँग विवाह गरेकी थिइन् । उनीहरूको विवाह हैदराबादस्थित ताज फलकनुमा प्यालेसमा भएको थियो ।

अर्पिता र आयुषका दुई सन्तान छन्– छोरा आहिल र छोरी आयत । रोचक कुरा, आयतको जन्मदिन २७ डिसेम्बरमा पर्छ, जुन सलमान खानको जन्मदिन पनि हो ।

आयुषले सन् २०१८ मा सलमान खानको निर्माणमा बनेको फिल्म ‘लभयात्री’बाट अभिनय करियर सुरु गरेका थिए । सन् २०२१ मा उनी फिल्म ‘अन्तिम : द फाइनल ट्रुथ’मा ग्याङस्टरको भूमिकामा देखिएका थिए, जसमा सलमान खान पनि थिए । त्यसपछि उनी फिल्म ‘रुसलान’ (२०२४) मा पनि देखिएका थिए ।

तेस्रो पुस्ताले पनि फिल्ममा पदार्पण गर्‍यो

सलीम खानकी नातिनी तथा अलवीराकी छोरी अलीजेह अग्निहोत्रीले सन् २०२३ मा फिल्म ‘फर्रे’बाट बलिउडमा पदार्पण गरेकी थिइन् । पहिलो फिल्मका लागि अलीजेहले फिल्मफेयरको उत्कृष्ट नवअभिनेत्री पुरस्कार पाएकी थिइन् । यसअघि उनी सन् २००८ को फिल्म ‘हेलो’मा बाल कलाकारका रूपमा देखिएकी थिइन् । अलीजेहलाई निर्देशक विकास बहलको आगामी फिल्ममा पनि अनुबन्ध गरिएको छ । उक्त फिल्ममा उनी सिद्धान्त चतुर्वेदीसँग देखिन सक्ने बताइएको छ ।

सलीम खानका नाति तथा अरबाज-मलाइकाका छोरा अरहान पनि फिल्म उद्योगमा करियर बनाउन तयारी गरिरहेका छन् । करियरको कुरा गर्दा अरहानले सन् २०२३ मा फिल्म ‘रकी और रानी की प्रेम कहानी’मा सहायक निर्देशकका रूपमा काम गरेका थिए । यो फिल्म करण जोहरको निर्देशनमा बनेको थियो ।

अरहानले अमेरिकाको एक फिल्म स्कुलबाट फिल्म निर्माणको अध्ययन गरेका छन् । डिजिटल क्षेत्रमा अरहानले आफ्नो भिडियो पोडकास्ट ‘डम्ब बिरयानी’ सुरु गरेका थिए । उक्त शोमा उनी साथीहरू र चर्चित व्यक्तित्वहरूसँग कुराकानी गर्दै देखिन्छन् । यसमा सलमान खान पनि सहभागी भइसकेका छन् ।

अरबाज र मलाइकाका छोरा अरहानको जन्म ९ नोभेम्बर २००२ मा भएको थियो ।

अरहानले अमेरिकाको एक फिल्म स्कुलबाट फिल्म निर्माणको अध्ययन गरेका छन् । डिजिटल क्षेत्रमा अरहानले आफ्नो भिडियो पोडकास्ट ‘डम्ब बिरयानी’ सुरु गरेका थिए । उक्त शोमा उनी साथीहरू र चर्चित व्यक्तित्वहरूसँग कुराकानी गर्दै देखिन्छन् । यसमा सलमान खान पनि सहभागी भइसकेका छन् ।

अरहान पनि फिल्ममा अभिनेताका रूपमा आउने चर्चा छ । रिपोर्टका अनुसार उनी अनिरुद्ध अय्यरको एक एक्सन प्रेमकथामा देखिन सक्छन् । उक्त फिल्ममा सलमान खान विशेष भूमिकामा देखिने बताइएको छ । तर, फिल्मबारे अहिलेसम्म आधिकारिक घोषणा भएको छैन ।

सोहेल खानका जेठा छोरा निर्वाण खान फिल्म निर्माणका विभिन्न पक्ष सिकिरहेका छन् । करियरको कुरा गर्दा निर्वाणले सन् २०२३ मा फिल्म ‘टाइगर ३’मा सहायक निर्देशकका रूपमा काम गरेका थिए । उक्त फिल्मका निर्देशक मनीष शर्मा थिए । सुटिङका क्रममा निर्वाणले अन्तर्राष्ट्रिय छायांकनमा पनि सहभागिता जनाएका थिए ।

फिल्मको छायांकन रुस, टर्की र अस्ट्रियाजस्ता देशका स्थानमा भएको थियो । पर्दामा उपस्थितिको कुरा गर्दा निर्वाण नेटफ्लिक्सको सिरिज ‘फ्याबुलस लाइभ्स अफ बलिउड वाइभ्स’मा पनि देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?