+
+
Shares

धर्मेन्द्रको पहिलो पुण्यतिथि : पहिलो फिल्मका लागि पाएका थिए ५१ रुपैयाँ

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ८ गते १५:०५

हिन्दी सिनेमाका ‘ही-म्यान’ धर्मेन्द्रको आज पहिलो पुण्यतिथि हो । १३ वर्षको उमेरमा दिलीप कुमारलाई देखेपछि उनले अभिनेता बन्ने सपना देखेका थिए ।

पहिलो फिल्मका लागि उनले ५१ रुपैयाँ पाएका थिए, जुन तीन जना निर्माताले मिलेर तिरेका थिए ।

पञ्जाबको एउटा सानो गाउँबाट बलिउडका ठूला स्टारमध्ये एक बन्नेसम्मको उनको यात्रा संघर्ष, लगन र सफलताको उदाहरण बनेको छ ।

सन् २०२५ नोभेम्बर २४ मा ८९ वर्षको उमेरमा उनको निधन भएको थियो । उनले ३०० भन्दा बढी फिल्म र अनगिन्ती यादगार भूमिका छाडेर गए ।

पञ्जाबमा जन्म, दिलीप कुमारलाई देखेर अभिनेता बन्ने सपना

धर्मेन्द्रको जन्म सन् १९३५ डिसेम्बर ८ मा पञ्जाबको नसराली गाउँमा भएको थियो । उनको पूरा नाम धर्मेन्द्र कृष्ण देओल थियो ।

उनका पिता केवल कृष्ण सिंह देओल विद्यालयमा शिक्षक थिए । उनको बाल्यकाल गाउँमै बित्यो । सानैदेखि उनलाई फिल्मप्रति रुचि थियो ।

करिब १३ वर्षको उमेरमा उनले ‘शहीद’ फिल्म हेरेका थिए । दिलीप कुमारको अभिनयबाट उनी यति प्रभावित भए कि अभिनेता बन्ने सपना देख्न थाले । त्यसपछि उनले फिल्म क्षेत्रमा प्रवेश गर्ने अठोट गरे ।

दिलीप कुमारलाई भेट्न उनको घरमै पुगेका थिए धर्मेन्द्र

धर्मेन्द्रको जीवनको एउटा रोचक घटना दिलीप कुमारसँग जोडिएको छ ।

धर्मेन्द्र सन् १९५२ मा पहिलोपटक मुम्बई आएका थिए । दिलीप कुमारलाई भेट्ने उनको इच्छा यति तीव्र थियो कि उनी सिधै उनको घर पुगे । त्यहाँ सुरक्षा गार्ड नभएकाले उनी घरभित्रै छिरे ।

उनी दिलीप कुमारको शयनकक्षसम्म पुगे, जहाँ अभिनेता सुतिरहेका थिए । दिलीप कुमारको निद्रा खुलेपछि धर्मेन्द्र आत्तिए र त्यहाँबाट भागे । पछि उनले अरूको निजी जीवनमा यसरी प्रवेश गर्नु गलत भएको महसुस गरे ।

धर्मेन्द्रलाई देखेर दिलीप कुमारले भनेका थिए- ‘अल्लाहले मलाई यस्तै बनाएको भए के बिग्रिन्थ्यो र ?’

सन् १९९७ मा भएको ४२औं फिल्मफेयर अवार्ड समारोहमा धर्मेन्द्रलाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो । उक्त अवार्ड दिलीप कुमारले नै दिएका थिए । धर्मेन्द्रको व्यक्तित्वबाट प्रभावित दिलीप कुमारले समारोहमा भनेका थिए, ‘जब मैले पहिलोपटक धरमलाई देखेको थिएँ, उनलाई देख्नेबित्तिकै मेरो मनमा उमंग पैदा भएको थियो । अल्लाहले मलाई पनि यस्तै बनाएको भए के बिग्रिन्थ्यो र ?’

फिल्मफेयरको ट्यालेन्ट हन्टले बदलियो भाग्य, काम खोज्दै महिनौं भौंतारिए

धर्मेन्द्रले फिल्ममा पहिलो ठूलो अवसर फिल्मफेयर म्यागजिनले आयोजना गरेको नयाँ प्रतिभाको खोजी प्रतियोगिताबाट पाएका थिए । सन् १९५८ मा उनले उक्त प्रतियोगितामा भाग लिए र छनोट भए । यसले बलिउडमा प्रवेश गर्ने बाटो खोल्यो । तर, सफलता भने तत्काल मिलेन ।

ट्यालेन्ट हन्ट जितेपछि पनि धर्मेन्द्रले लामो समयसम्म काम पाएनन् । उनी स्टुडियो र निर्माताका कार्यालय धाइरहन्थे । तर, धेरैपटक रित्तो हात फर्किनुपर्थ्यो । आर्थिक समस्याका कारण मुम्बईमा गुजारा चलाउनसमेत कठिन भएको थियो ।

रिपोर्टअनुसार एक समय निराश भएर धर्मेन्द्रले मुम्बई छाड्ने सोच बनाइसकेका थिए । त्यही बेला अभिनेता मनोज कुमारले उनलाई थप दुई महिना बसेर प्रयास गर्न सुझाव दिए । उनले केही न केही अवसर अवश्य मिल्ने बताएका थिए ।

बसमा भएको भेटले दिलायो पहिलो फिल्म

धर्मेन्द्रको करियरमा एउटा रोचक मोड बस यात्राका क्रममा आएको थियो । एक दिन अँधेरी जाने बसमा उनको भेट अर्जुन हिंगोरानीसँग भयो ।

हिंगोरानीले उनलाई फिल्मफेयरको ट्यालेन्ट हन्टकै समयदेखि चिनेका थिए । उनले धर्मेन्द्रबारे निर्माता टीएम बिहारीसँग कुरा गरे । त्यसपछि धर्मेन्द्रले पहिलो फिल्ममा काम गर्ने अवसर पाए ।

सन् १९६० मा प्रदर्शन भएको ‘दिल भी तेरा हम भी तेरे’बाट धर्मेन्द्रले हिन्दी सिनेमामा पदार्पण गरे । उक्त फिल्मका लागि उनले ५१ रुपैयाँ पाएका थिए । तीन जना निर्माताले १७–१७ रुपैयाँ दिएर उनको पारिश्रमिक जुटाएका थिए ।

धर्मेन्द्रले सलमान खानको कार्यक्रम ‘दस का दम’मा यो रोचक घटना सुनाएका थिए । उनले पहिलो फिल्ममा हस्ताक्षर गर्न जाँदा ५ हजार रुपैयाँ अग्रिम पाउने अपेक्षा गरेको बताएका थिए । तर, निर्माता टीएम बिहारी र उनका दुई सहयोगीले खल्ती छामे । तीनै जनाले १७–१७ रुपैयाँ निकाले र धर्मेन्द्रलाई कुल ५१ रुपैयाँ हस्ताक्षर रकम दिए ।

‘फूल और पत्थर’ले बनायो स्टार, रोमान्टिक हिरोबाट बने एक्सन स्टार

सुरुवाती फिल्ममा धर्मेन्द्रले ‘शोला और शबनम’, ‘अनपढ’, ‘बंदिनी’ र ‘हकीकत’जस्ता फिल्ममा काम गरे । यी फिल्मबाट उनले पहिचान बनाउन थाले । सन् १९६६ मा प्रदर्शन भएको ‘फूल और पत्थर’ उनको करियरको ठूलो मोड साबित भयो ।

फिल्ममा उनको दमदार शैली र पर्दामा देखिने प्रभावलाई दर्शकले निकै रुचाए । उनी हिन्दी सिनेमाका ठूला स्टारमध्ये एक बने । त्यसपछि ‘मेरा गाउँ मेरा देश’, ‘यादों की बारात’, ‘जुगनू’, ‘धरम वीर’ र ‘चरस’जस्ता फिल्मले उनलाई एक्सन स्टारका रूपमा स्थापित गरे ।

बलियो शरीर र एक्सन शैलीका कारण उनलाई बलिउडको ‘ही-म्यान’ भन्न थालियो । यद्यपि, उनको अभिनय क्षमता एक्सनमा मात्रै सीमित थिएन ।

‘शोले’का वीरुदेखि ‘चुपके चुपके’का प्राध्यापकसम्म, हरेक भूमिकाले जिते दर्शकको मन

सन् १९७५ धर्मेन्द्रको करियरका यादगार वर्षमध्ये एक हो । यही वर्ष उनका चर्चित दुई फिल्म ‘शोले’ र ‘चुपके चुपके’ प्रदर्शनमा आएका थिए ।

‘शोले’मा उनले वीरुको भूमिका निभाएका थिए । अमिताभ बच्चनसँगको उनको मित्रता र हेमा मालिनीसँगको नोकझोंकले दर्शकलाई निकै मनोरञ्जन दिएको थियो । फिल्मका संवाद र पात्र आज पनि लोकप्रिय छन् ।

ऋषिकेश मुखर्जीको फिल्म ‘चुपके चुपके’मा धर्मेन्द्रले प्राध्यापकको भूमिका निभाएका थिए । उनको कमेडी गर्ने शैलीले उनी एक्सन हिरो मात्रै नभएर उत्कृष्ट हास्य कलाकार पनि भएको प्रमाणित गर्‍यो ।

निर्देशक ऋषिकेश मुखर्जी धर्मेन्द्रलाई आफ्ना मनपर्ने कलाकारमध्ये एक मान्थे । उनले धर्मेन्द्रको अभिनय क्षमता र व्यक्तित्वको प्रशंसा गरेका थिए ।

‘शोले’जस्ता फिल्म खेले पनि पाएनन् उत्कृष्ट अभिनेताको अवार्ड

धर्मेन्द्रको करियरको एउटा पक्ष यस्तो पनि छ कि ‘शोले’ र ‘चुपके चुपके’जस्ता फिल्ममा उत्कृष्ट अभिनय गरे पनि उनले लोकप्रिय फिल्म अवार्डमा उत्कृष्ट अभिनेताको पुरस्कार पाएनन् ।

लामो फिल्मी यात्रामा उनले धेरै उत्कृष्ट भूमिका निभाए । सन् १९९७ मा उनलाई फिल्मफेयर लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो । सन् २०१२ मा भारत सरकारले उनलाई पद्मभूषणबाट सम्मानित गरेको थियो ।

छोराहरूलाई फिल्ममा ल्याए, राजनीतिमा पनि आजमाए भाग्य

धर्मेन्द्रले अभिनयसँगै फिल्म निर्माणमा पनि हात हालेका थिए । उनले विजेता फिल्म्स नामको निर्माण कम्पनी सुरु गरे । यही कम्पनीको ब्यानरमा सन् १९८३ मा प्रदर्शन भएको फिल्म ‘बेताब’बाट उनका छोरा सनी देओलले बलिउडमा पदार्पण गरेका थिए ।

उनले कान्छा छोरा बबी देओलको करियरमा पनि महत्त्वपूर्ण भूमिका खेले । धर्मेन्द्र राजनीतिमा पनि सक्रिय भए । सन् २००४ मा भारतीय जनता पार्टीको टिकटमा राजस्थानको बीकानेर लोकसभा निर्वाचन क्षेत्रबाट सांसद निर्वाचित भएका थिए । उनी सन् २००९ सम्म उक्त पदमा रहे ।

३०० भन्दा बढी फिल्मको यात्रा, ८९ वर्षको उमेरमा निधन

छ दशकभन्दा लामो फिल्मी करियरमा धर्मेन्द्रले ३०० भन्दा बढी फिल्ममा अभिनय गरे । ‘सत्यकाम’, ‘अनुपमा’, ‘सीता और गीता’, ‘मेरा गाउँ मेरा देश’, ‘शोले’, ‘चुपके चुपके’, ‘प्रतिज्ञा’, ‘यादों की बारात’, ‘घायल’ र ‘अपने’जस्ता फिल्ममा उनका फरक–फरक रूप देख्न पाइयो ।

पछिल्ला वर्षहरूमा पनि उनले अभिनयलाई निरन्तरता दिए । ‘लाइफ इन अ मेट्रो’, ‘यमला पगला दीवाना’, ‘रक्की और रानी की प्रेम कहानी’ र ‘तेरी बातों में ऐसा उलझा जिया’जस्ता फिल्मबाट नयाँ पुस्ताका दर्शकमाझ पनि उनको पहिचान कायम रह्यो ।

सन् २०२५ नोभेम्बर २४ मा ८९ वर्षको उमेरमा मुम्बईस्थित आफ्नै निवासमा धर्मेन्द्रको निधन भएको थियो । उनको अन्तिम फिल्म ‘इक्कीस’ सन् २०२६ जनवरी १ मा हलमा प्रदर्शन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?