+
+
Shares

यम बरालको संगीतमा पत्रकार खेम रिसालको ‘भुलेकै जाती’

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ९ गते १६:०३

काठमाडौँ । पत्रकार तथा गायक खेम रिसालले एक दशकपछि नयाँ गीत ‘भुलेकै जाती’ लिएर आएका छन् । यम बरालको शब्द तथा संगीत रहेको गीतलाई मदन केसीले एरेन्ज गरेका छन् ।

प्रेममा बिछोड भएपनि हार मान्नु हुँदैन भन्ने सन्देश दिने गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको छ । म्युजिक भिडियो भने केही समयपछि बनाउने तयारीमा रहेको गायक खेमले बताए ।

दुई दशकदेखि पत्रकारितामा सक्रिय उनले सानैदेखि संगीतमा पनि उत्तिकै झुकाव राख्ने गरेका छन् ।

पुतलीसडकस्थित ए लेभल स्टुडियोमा रेकर्ड गरिएको गीतलाई अनिष लिम्बुले रेकर्डिङ गरेका हुन् भने गोविन्द सोनीले मिक्सिङ तथा मास्टरिङ गरेका छन् ।

वाद्यबादनतर्फ नगेन्द्र राईले बाँसुरी, सञ्जीव लिम्बुले गिटार, हेमन्त कान्छा रसाइलीले सारङ्गी र मदन रेग्मीले मादल बजाएका छन् ।

२०७३ सालमा खेमले पहिलो गीतिसंग्रह ‘थालनी’ सार्वजनिक गरेका थिए । जसमा समावेश ‘कोही भन्छन् माया’ र ‘ठहरै बनायो गाँठे’ गीतलाई श्रोता-दर्शकले रुचाएका थिए ।

‘मैले सानैदेखि दुई सपना लिएर हिँडेको थिए । एउटा गायक बन्ने र अर्को टेलिभिजन प्रस्तोता र पत्रकार बन्ने,’ खेमले भने, ‘दुईमध्ये पत्रकारितालाई पेसा बनाएर अघि बढेँ, संगीत सौख मात्रै रहन पुगेजस्तो भएको छ । तर अब समय मिलाएर गीत-संगीत सार्वजनिक गरिरहने कोसिसमा छु । नयाँ गीतमा यम बराल दाइसँग सहकार्य गर्न पाउँदा औधी खुसी छु । किनकि, उहाँ मेरो आइडलमध्येको गायक हो ।‘

खेमका थप तीन गीत रेकर्डिङको तयारीमा छन् ।

‘भुलेकै जाती’ गीत ‘खेम रिसाल क्रिएट्स’ युट्युब च्यानलमा रिलिज गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?