+
+
Shares

मुख्यमन्त्री कार्कीले दुःख सुनाए, नेकपाले भन्यो- सरकार फेर्न परे आफ्नै नेतृत्वमा जान्छौं

नेकपा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले आफ्नो पार्टी अस्थिरताको खेलमा नरहेको बताउँदै एमालेको आन्तरिक किचलोका कारण सरकार फेर्न परे नेकपाकै नेतृत्वमा सरकार बनाउने बताए ।

हरि अधिकारी हरि अधिकारी
२०८३ मंसिर ९ गते १७:५१

९ मंसिर, विराटनगर । एमाले अध्यक्ष केपी शर्मा ओलीले राजीनामा मागेपछि अप्ठ्यारोमा परेका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सत्ता साझेदार दल नेकपाका नेताहरूसँग छलफल गरेका छन् ।

छलफलमा मुख्यमन्त्री कार्कीले अध्यक्षले भन्दैमा राजीनामा नदिने बताए । नेकपाका नेताहरूले पनि कार्कीलाई तत्काल राजीनामा नदिन र ढुक्क भएर सरकार चलाउन सुझाव दिए ।

यद्यपि, सरकार फेरबदल गर्ने नै परिस्थिति आए एमालेको आन्तरिक विवादको साक्षी नबस्ने नेकपाको भनाइ छ । नेकपा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले आफ्नो पार्टी अस्थिरताको खेलमा नरहेको बताउँदै एमालेको आन्तरिक किचलोका कारण सरकार फेर्न परे नेकपाकै नेतृत्वमा सरकार बनाउने बताए ।

मंगलबार भएको छलफलमा मुख्यमन्त्री कार्कीले आफ्नो पार्टीले संस्थागत रूपमा निर्णय गरेको अवस्थामा भने राजीनामा दिने बताएका थिए । तर एमाले सचिवसमेत रहेका कार्कीलाई हटाउने पक्षमा एमाले सचिवालयको अधिकांश नेता छैनन् ।

अध्यक्ष केपी ओली, कोशी प्रदेश इञ्चार्ज शेरधन राई र केही नेता भने उनलाई जसरी भए पनि हटाउने पक्षमा छन् । सचिवालयमा आफ्नो पक्षमा बहुमत रहेकाले कार्कीले अध्यक्षको निर्देशन नमानेका हुन् ।

छलफलमा सहभागी नेकपा कोशी प्रदेश अध्यक्ष हर्क नेम्वाङले मुख्यमन्त्रीले राजीनामा दिँदा प्रदेशमा अस्थिरताको सन्देश जाने भएकाले यही सरकारलाई निरन्तरता दिनुपर्ने पक्षमा आफ्नो पार्टी रहेको बताए ।

‘हामीले चुनावको मुखमा सरकार फेर्दा गलत सन्देश जान्छ भनेका छौं, बाँकी विषय एमालेको आन्तरिक हो,’ उनले भने, ‘सरकार फेर्नै खोजे हामी आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्छौं ।’

एमाले अध्यक्ष केपी शर्मा ओलीले कार्कीलाई हटाएर अर्का सांसद तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउन चाहेका छन् । तर सरकार गठनको अन्तिम विकल्प संविधानको धारा १६८ को ५ अनुसार सरकार बनेका कारण मुख्यमन्त्री कार्कीलाई हटाउन सकस छ । मुख्यमन्त्री कार्कीले संसद्‌बाट भर्खरै विश्वासको मत लिएका कारण अविश्वासको प्रस्ताव लैजान गाह्रो छ ।

एमाले संस्थापनले कार्कीलाई दलको नेताबाट हटाउनका लागि यसअघि सांसदको हस्ताक्षर संकलन अभियान चलाएको थियो । तर बहुमत नपुग्ने अवस्था आएपछि एमाले अध्यक्ष ओली कार्कीलाई हटाउने निर्णयबाट ब्याक भएका थिए ।

एमाले संस्थापन पक्षका नेताहरू भने मुख्यमन्त्री कार्कीले दशैं-तिहारपछि मार्गप्रशस्त गर्छु भनेका कारण अब राजीनामा दिनुपर्ने बताउँछन् । ‘अध्यक्षसँगको छलफलमा मुख्यमन्त्रीले दशैं-तिहारपछि राजीनामा दिने कुरा गर्नुभएको रहेछ,’ एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले भने, ‘पार्टीको निर्णयअनुसार उहाँ चल्नुहुन्छ ।’

मुख्यमन्त्री निकट एक सांसद भने जबरजस्ती हिक्मत कार्कीलाई हटाए संसदीय दलभित्र विद्रोह हुने बताउँछन् । ‘अध्यक्षज्यूको चाहनाअनुसार सरकार पुनर्गठन गर्न खोज्दा प्रदेशमा दुर्घटना हुन्छ,’ ती सांसदले भने, ‘अब सरकार बन्दा उपधारा ५ अनुसार बन्ने हो, यसमा पार्टीको ह्विप लाग्दैन । हाम्रो पक्षका १५ जना सांसदले नेकपालाई सहयोग गर्न सक्छन् ।’

कोशी प्रदेशमा केदार कार्कीको नेतृत्वमा कांग्रेसभित्र विद्रोह भए जस्तै एमालेमा पनि विद्रोह हुनसक्ने ती सांसद बताउँछन् ।

छलफलमा नेकपाबाट प्रदेश इन्चार्ज तथा पूर्वमुख्यमन्त्री राजेन्द्र राई, संसदीय दलका नेता आङ्बो र संयोजक नेम्वाङ तथा एमालेबाट मुख्यमन्त्री कार्की, आर्थिक मामिला तथा योजना मन्त्री विदुर लिङ्थेप र सांसद रेवतीरमण भण्डारी सहभागी थिए ।

गत साउन २० गते ओली, कार्की, खतिवडा र सचिव राजकुमार भण्डारीसहितको छलफलमा दशैँ–तिहारपछि राजीनामा दिने समझदारी बनेको बताइए पनि वरिष्ठ नेता विद्या भण्डारीको साथ पाएपछि कार्कीले महासचिव शंकर पोखरेलसहितका शीर्ष नेताको सर्वसम्मत निर्णय हुनुपर्ने सर्त राखेका हुन् ।

गत २१ फागुनको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएपछि ओली र कार्कीबीचको सम्बन्ध चिसिएको थियो । त्यसपछि उनी कार्कीलाई हटाएर श्रम संस्कृति पार्टीतर्फ गएका मतदाता फर्काउने उद्देश्यसहित लिम्बू समुदायका तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउने लागेका थिए ।

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?