News Summary
Generated by OK AI. Editorially reviewed.- कोशी प्रदेशका उद्योगहरूको भारित औसत क्षमता उपयोग गत आर्थिक वर्ष २०८२/८३ मा ४३.१ प्रतिशत पुगेको नेपाल राष्ट्र बैंकको अध्ययनले देखाएको छ।
- गत आव कोशीमा बैंक तथा वित्तीय संस्थाको निक्षेप १६.१ प्रतिशत बढेर ६ खर्ब ४१ अर्ब ९३ करोड र कर्जा प्रवाह ४.२ प्रतिशत बढेर ६ खर्ब ३९ अर्ब ३२ करोड पुगेको छ।
- गत आव कोशीको आर्थिक वृद्धि ३.१३ प्रतिशत रहने प्रारम्भिक अनुमान छ, जबकि समग्र कृषि बाली उत्पादन १.२ प्रतिशत घटेको छ।
११ कात्तिक, काठमाडौं । कोशी प्रदेशका उद्योगहरूको उत्पादन क्षमतामा समान्य सुधार आएको छ ।
गत आर्थिक वर्ष २०८२/८३ मा कोशीका उद्योगहरूको भारित औसत क्षमता उपयोग ४३.१ प्रतिशत पुगेको हो ।
अघिल्लो आव २०८१/८२ मा भने यस्तो क्षमता उपयोग ४१.८ प्रतिशत थियो । उत्पादित वस्तु अनुसार गत आव भटमासको तेल उत्पादन गर्ने उद्योगको क्षमता उपयोग सबैभन्दा बढी ११८ प्रतिशत पुगेको छ भने वनस्पति घिउ उत्पादन गर्ने उद्योगको क्षमता उपयोग सबैभन्दा कम ६.५ प्रतिशत छ ।
नेपाल राष्ट्र बैंकको अध्ययन अनुसार गत आव कोशीमा रहेका उद्योगहरूको उत्पादनमध्ये भटमासको तेल ४५.३ प्रतिशत, वनस्पति घिउ ३०.५, तोरीको तेल ११.९, चामल २८.१, पशुदाना १५, चिनी १३.६, चाउचाउ १२.६, प्लास्टिक सामान १४.५ र घरेलु धातुका सामान उत्पादन २८७.८ प्रतिशत बढेको छ ।
२०८३ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जा २०८२ असार मसान्तको तुलनामा कुल औद्योगिक कर्जा ८.२ प्रतिशत बढेको छ ।
गत आव बैंक तथा वित्तीय संस्थाले उद्योगहरूमा १ खर्ब ७३ अर्ब कायम भएको अध्ययन प्रतिवेदनमा उल्लेख छ । प्रवाहित कुल कर्जामध्ये औद्योगिक क्षेत्रमा प्रवाह भएको कर्जा अंश २७.२ प्रतिशत हो ।
गत आव कोशीको आर्थिक वृद्धि (उपभोक्ता मूल्यमा) ३.१३ प्रतिशत रहने प्रारम्भिक अनुमान छ । अघिल्लो आव २.७२ प्रतिशत थियो । २०८२/८३ मा कोशीको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमश: ३२.४७, १६.६७ र ४९.८५ प्रतिशत रहने प्रारम्भिक अनुमान छ ।
गत आव यो प्रदेशको समग्र कृषि बाली उत्पादन १.२ प्रतिशत घटेको छ । अघिल्लो आव यस्तो उत्पादन ६.७ प्रतिशत बढेको थियो । समग्र कृषि उत्पादनमध्ये खाद्य, नगदे तथा अन्य बालीको हिस्सा ७७.७, तरकारी तथा बागवानी बालीको हिस्सा १४.८, फलपूmलको हिस्सा ४.२, मसला बालीको हिस्सा २.८ र अन्य उत्पादनको हिस्सा ०.५ प्रतिशत छ ।
गत आव कृषि बालीले ढाकेको क्षेत्रफल ०.३ प्रतिशत घटेको छ । अघिल्लो आव ३.३ प्रतिशत घटेको थियो । गत आव कुल खेतीयोग्य जमिनमध्ये ३६.५ प्रतिशत क्षेत्रमा सिँचाइ सुविधा पुगेको छ । अघिल्लो वर्ष ३५.६ प्रतिशत थियो ।
गत आव कोशीमा दूध उत्पादन १३.२, मासु ०.२ र माछा उत्पादन १.६ प्रतिशत बढेकोमा अन्डा उत्पादन ३.२ प्रतिशत घटेको छ । २०८२/८३ मा काठ उत्पादन २ करोड ४८ लाख ४५ हजार १ सय ३ क्युबिक फिट छ, जुन अघिल्लो वर्ष सोही अवधिको तुलनामा ९.७ प्रतिशत कम हो ।
२०८३ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट कोशी प्रदेशको कृषि क्षेत्रमा प्रवाहित कर्जा १.१ प्रतिशत कम भई ५५ अर्ब ६८ करोड ६० लाख कायम छ । प्रवाहित कुल कर्जामध्ये कृषि क्षेत्रको कर्जा अंश ८.७ प्रतिशत छ ।
त्यस्तै कोशीका होटलहरूको औसत अकुपेन्सी दर ३२ प्रतिशत छ । यस्तो दर अघिल्लो वर्ष ३९.२ प्रतिशत थियो । यस प्रदेशका होटलमा वाह्य पर्यटक संख्या समीक्षा वर्षमा २१.८ प्रतिशत घटेको छ । अघिल्लो वर्ष २८.६ प्रतिशत बढेको थियो ।
कोशीमा गत आव वाणिज्य बैंकका शाखा ७ सय ५२, विकास बैंक १ सय ९३, वित्त कम्पनी ३५ तथा लघुवित्त वित्तीय संस्थाका ८ सय ५६ गरी बैंक तथा वित्तीय संस्थाका कुल १ हजार ८ सय ३६ शाखा पुगेका छन् ।
गत आवको तुलनामा २०८३ असार मसान्तमा कोशीमा अवस्थित बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप परिचालन १६.१ प्रतिशत वृद्धि भई ६ खर्ब ४१ अर्ब ९३ करोड पुगेको तथा कुल कर्जा प्रवाह ४.२ प्रतिशत वृद्धि भई ६ खर्ब ३९ अर्ब ३२ करोड पुगेको छ ।
२०८३ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले यस प्रदेशमा परिचालन गरेको कुल निक्षेपमा चल्ती निक्षेपको अंश ८ प्रतिशत, बचत निक्षेप ६२, मुद्दती निक्षेप २४.५ र अन्य निक्षेप अंश ५.५ प्रतिशत छ ।
२०८३ असार मसान्तसम्म यस प्रदेशमा बैंक तथा वित्तीय संस्थाले सेवा क्षेत्रमा प्रवाह गरेको कर्जा ३.४ प्रतिशत बढ्न गई ४ खर्ब ९ अर्ब ८१ करोड पुगेको छ । प्रवाहित कुल कर्जामध्ये सेवा क्षेत्रको कर्जा अंश ६४.१ प्रतिशत छ ।
कोशीमा सञ्चालित विद्युत् आयोजनाको कुल उत्पादन क्षमता ९७७.२ मेगावाट छ भने २०८२/८३ मा निर्माण सम्पन्न भएका ७ जलविद्युत् आयोजनाको विद्युत उत्पादन क्षमता २०६.२ मेगावाट छ ।
२०८१/८२ मा कुल उत्पादन क्षमता ७८७.७ मेगावाट थियो । यो प्रदेशमा सञ्चालित ६४ जलविद्युत् आयोजनामध्ये सोलुखुम्बु जिल्लामा सञ्चालित जलविद्युत् आयोजनाको सबैभन्दा बढी ३४९.८ मेगावाट विद्युत् उत्पादन क्षमता छ ।
यस प्रदेशका जिल्लामध्ये इलाममा १८, संखुवासभा १०, सोलुखुम्बु १०, ताप्लेजुङ ९, ओखलढुंगा ५, भोजपुर र पाँचथरमा ४–४, तेह्रथुम र खोटाङमा २–२ जलविद्युत् आयोजना छन् भने झापा र मोरङमा १/१ सोलार विद्युत् आयोजना छन् ।
कोशी प्रदेशले अलैँची, चिया, अदुवाजस्ता तुलनात्मक लाभका बाली उत्पादन र गुणस्तर बढाइ निर्यात प्रवर्द्धन गर्नुपर्ने तथा बसाइँसराइ र जंगली जनावरको समस्याबाट खेतीयोग्य जमिन जोगाउनुपर्ने चुनौती छ ।
आधुनिक प्रविधि, सिँचाइ र सामूहिक खेतीबाट तराईमा धान, गहुँ, मकै, उखु र पहाडमा चिया, अलैँची, कफी तथा फलफूल उत्पादन बढाउन सक्ने उच्च सम्भावना छ ।
सुनसरी–मोरङ औद्योगिक करिडोरमा उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गर्दा उत्पादन, रोजगारी, आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनमा ठूलो योगदान पुग्न सक्दछ ।
विराटनगर, धरान, इटहरी, दमक र बिर्तामोड जस्ता सहरमा पूर्वाधार, बैंकिङ, शिक्षा र स्वास्थ्यमा लगानी विस्तार गर्न सकिने र सीमावर्ती सहरमा स्वास्थ्य पर्यटनको सम्भावना पनि रहेको अध्ययनले औँल्याएको छ ।
प्रतिक्रिया 4