News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंमा ‘नेपालको जैविक विविधता सम्बन्धी दृष्टिकोण : महत्त्वाकांक्षादेखि कार्यान्वयनसम्म’ कार्यक्रम आयोजना गरी २०३० सम्मका जैविक विविधता लक्ष्य हासिल गर्ने प्रतिबद्धता उजागर गरिएको छ ।
- कृषिमन्त्री गीता चौधरीले जैविक विविधता संरक्षण, खाद्य सुरक्षा र वातावरणीय उत्थानशीलतामा यसको भूमिका महत्त्वपूर्ण भएको बताउँदै सरकारले ठोस कार्यमा रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
- कार्यक्रममा वक्ताहरूले समावेशी सहभागिता, दिगो वित्तीय स्रोत, सामुदायिक वनको महत्त्व र राष्ट्रिय रणनीतिमा रहेका ३६ लक्ष्यको प्रभावकारी कार्यान्वयनमा जोड दिए ।
११ कात्तिक, काठमाडौं । नेपालको राष्ट्रिय जैविक विविधता रणनीति तथा कार्ययोजना (एनबीएसएपी) प्रभावकारी कार्यान्वयन र कुनमिङ–मोन्ट्रियल विश्वव्यापी जैविक विविधता प्रारूप (केएमजीबीएफ) अन्तर्गत सन् २०३० सम्मका लक्ष्य हासिल गर्ने प्रतिबद्धता उजागर गर्न ‘नेपालको जैविक विविधता सम्बन्धी दृष्टिकोण : महत्त्वाकांक्षादेखि कार्यान्वयनसम्म’ शीर्षक कार्यक्रम आयोजना गरिएको छ ।
कार्यक्रममा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) ले नेपालको राष्ट्रिय जैविक विविधता रणनीति तथा कार्ययोजना सम्बन्धी भिडियो प्रस्तुत गरेको थियो ।
भिडियो सन्देश मार्फत कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले पारिस्थितिकीय प्रणाली संरक्षण, जनजीविका आधार, खाद्य सुरक्षा र वातावरणीय उत्थानशीलता अभिवृद्धिमा जैविक विविधताको भूमिका महत्त्वपूर्ण हुने बताइन् ।
उनले जैविक विविधता सम्बन्धी राष्ट्रिय प्रतिबद्धतालाई ठोस कार्यमा रूपान्तरण गर्दै लक्ष्य हासिल गर्न नेपाल सरकार प्रतिबद्ध रहेको प्रष्ट पारिन् ।
कार्यक्रममा जैविक विविधता सम्बन्धी महासन्धि (सीबीडी) सचिवालयका प्रतिनिधि क्यू अपाज र यूएनडीपीको जैविक विविधता वित्त पहल (बायोफिन) का क्षेत्रीय प्रतिनिधिले मन्तव्य राखेका थिए । उनीहरूले जैविक विविधता संरक्षणका लागि सामूहिक प्रतिबद्धता, प्रभावकारी कार्यान्वयन र दिगो वित्तीय स्रोत परिचालनमा जोड दिए ।
कार्यक्रम अन्तर्गत आयोजित प्यानल छलफलमा विश्व युवा जैविक विविधता सञ्जाल (जीवाईबीएन) की प्रतिनिधि श्रेयाले नीति तथा निर्णय प्रक्रियामा युवाको अर्थपूर्ण सहभागिता हुनुपर्ने बताइन् ।
आदिवासी जनजाति तथा स्थानीय समुदायका प्रतिनिधि कमल राईले सन् २०३० सम्मका लक्ष्य हासिल गर्न तीव्र प्रयास आवश्यक रहेको भन्दै कार्ययोजना कार्यान्वयनमा सक्रिय योगदान गर्न आफ्नो समुदाय प्रतिबद्ध रहेको बताए ।
त्यस्तै अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) का प्रतिनिधिले रणनीति र कार्ययोजनाका प्राथमिकतालाई विश्वव्यापी वातावरण सुविधा (जीईएफ–९) र विश्वव्यापी जैविक विविधता प्रारूप कोष (जीबीएफएफ) सँग समन्वय गरी वित्तीय स्रोत परिचालन गर्ने अवसर औँल्याए ।
उनले जैविक विविधता संरक्षणमा सामुदायिक वनको महत्त्वमाथि प्रकाश पारे । यूएनडीपीकी एन्जेलिकले राष्ट्रिय रणनीतिलाई चुनौती सम्बोधन गर्ने दस्तावेज मात्र नभई दिगो विकास प्रवर्द्धन र साझेदारी सुदृढ गर्ने अवसरका रूपमा लिनुपर्ने बताइन् ।
कृषि मन्त्रालयका सहसचिव दीपक ज्ञवालीले जैविक विविधताका लक्ष्य हासिल गर्न सबै सरोकारवालाबीच समन्वय र सामूहिक प्रयास आवश्यक रहेको बताए ।
उनले राष्ट्रिय जैविक विविधता रणनीति तथा कार्ययोजनामा स्पष्ट सूचक सहित ३६ वटा लक्ष्य निर्धारण गरिएको र तिनको प्रभावकारी कार्यान्वयनका लागि साझा जिम्मेवारी आवश्यक रहेको बताए ।
कार्यक्रमले पर्याप्त स्रोतसाधन, समावेशी सहभागिता, सरकारका सबै तह र सम्पूर्ण समाजको सामूहिक प्रयासबाट मात्र नेपालको जैविक विविधता सम्बन्धी दृष्टिकोण व्यवहारमा रूपान्तरण गर्न सकिने साझा सन्देश प्रवाह गरेको छ ।
प्रतिक्रिया 4