९ मंसिर, काठमाडौँ । सन् २०२६ को विश्वव्यापी अङ्ग्रेजी भाषा दक्षता सूचकाङ्क अर्थात् ईएफ ईपीआई २०२६ मा नेपाल एसियाली मुलुकहरूमध्ये चौथो र दक्षिण एसियामा पहिलो स्थानमा परेको छ।
अन्तर्राष्ट्रिय शिक्षा संस्था ईएफ एजुकेसन फर्स्टले हालै सार्वजनिक गरेको प्रतिवेदनका आधारमा सी-एसिया स्ट्याट्सले प्रकाशन गरेको एसियाली सूचीअनुसार नेपालले ५१८ अङ्क प्राप्त गरेको हो।
विश्वका ११७ देश तथा क्षेत्र समेटिएको यस सूचकाङ्कमा नेपाल समग्र विश्व वरीयतामा ४७ औँ स्थानमा उक्लिएको छ। अघिल्लो वर्ष ५१४ अङ्कसहित ५८ औँ स्थानमा रहेको नेपालले यसपटक ४ अङ्क सुधार गर्दै विश्व वरीयतामा ११ स्थान फड्को मारेको हो। नेपालको प्राप्ताङ्क विश्वको औसत अङ्क (४८५) भन्दा ३३ अङ्कले माथि छ।
ईएफको मापदण्डअनुसार ५०० देखि ५४९ अङ्क ल्याउने मुलुकलाई मध्यम दक्षताको श्रेणीमा राखिन्छ, जसमा नेपाल परेको छ।
एसिया र दक्षिण एसियाको अवस्था
सी–एसिया स्ट्याट्सले सार्वजनिक गरेको ईएफ ईपीआई २०२६ को तथ्याङ्कअनुसार एसियामा मलेसिया ५७४ अङ्क (विश्व वरीयतामा २३ औँ) सहित शीर्ष स्थानमा छ। त्यसपछि दोस्रोमा फिलिपिन्स (५६५) र तेस्रोमा चीनको हङकङ (५३६) छन्। चौथो स्थानमा रहेको नेपाल (५१८) ले दक्षिण कोरिया (५१५) लाई समेत पछि पारेको छ।
सूचकाङ्कमा समेटिएका दक्षिण एसियाली मुलुकहरूमध्ये नेपाल सबैभन्दा अगाडि छ । भुटान र माल्दिभ्स यस वर्षको सूचीमा समावेश छैनन्। एसियाली सूचीमा बङ्गलादेश ५०३ अङ्कसहित छैटौँ (विश्वको ५४ औँ), पाकिस्तान ४९६ अङ्कसहित सातौँ (विश्वको ५८ औँ) र श्रीलङ्का ४८९ अङ्कसहित भियतनामसँग आठौँ (विश्वको ६२ औँ) स्थानमा छन्। भारत ४७९ अङ्कसहित एसियाको दसौँ (विश्वको ६९ औँ) र चीन ४६६ अङ्कसहित तेह्रौँ स्थानमा छन्।
ईएफले सिङ्गापुरलाई अङ्ग्रेजी मूलभाषा भएको मुलुकको श्रेणीमा वर्गीकरण गरेकाले यस वरीयतामा समावेश गरेको छैन। त्यस्तै, मध्यपूर्वका मुलुकहरूलाई छुट्टै क्षेत्रीय श्रेणीमा मूल्याङ्कन गरिएको छ।
सहरमा ललितपुर अगाडि, पढाइमा बलियो र सुनाइमा कमजोर
ईएफ ईपीआई २०२६ को देशगत विवरणअनुसार नेपालका सहरहरूमध्ये ललितपुर ५४९ अङ्कसहित सबैभन्दा अगाडि देखिएको छ। त्यसपछि भक्तपुरले ५४४ र काठमाडौँले ५२८ अङ्क प्राप्त गरेका छन्।
नेपालमा सबैभन्दा राम्रो अङ्ग्रेजी दक्षता २१–२५ वर्ष उमेर समूह (औसत अङ्क ५३६) मा देखिएको छ।
भाषाका चार मुख्य सीपअन्तर्गत नेपाली वयस्कहरूको प्रदर्शन पढाइ र लेखाइमा बलियो तर बोलाइ र सुनाइमा तुलनात्मक रूपमा कमजोर देखिएको छ :
पढाइ (रिडिङ) : ५५५ अङ्क
लेखाइ (राइटिङ) : ५३८ अङ्क
बोलाइ (स्पिकिङ) : ४९६ अङ्क
सुनाइ (लिसनिङ) : ४८१ अङ्क
ईएफको कार्यविधिअनुसार चारै सीपको औसत अङ्क र समग्र राष्ट्रिय अङ्क ठ्याक्कै बराबर नहुन सक्छ ।
विश्वव्यापी अवस्था के छ ?
यो सूचकाङ्क सन् २०२५ मा ईएफ स्ट्यान्डर्ड इङ्लिस टेस्ट (ईएफ सेट) दिएका विश्वका ११७ देश तथा क्षेत्रका २३ लाख वयस्कहरूको नतिजामा आधारित छ। विश्वव्यापी रूपमा लगातार पाँचौँ वर्ष औसत अङ्ग्रेजी दक्षता घटेको प्रतिवेदनमा उल्लेख छ।
यस वर्ष ६१५ अङ्कसहित स्विडेन विश्वकै पहिलो स्थानमा उक्लिएको छ। त्यसपछि क्रमशः अस्ट्रिया (६१३), डेनमार्क (६१२), जर्मनी (६११) र नेदरल्यान्ड्स (६०९) शीर्ष पाँचमा छन्। यद्यपि, यो सूचकाङ्क अनलाइनमार्फत स्वैच्छिक रूपमा परीक्षा दिने वयस्कहरूको तथ्याङ्कमा आधारित भएकाले यसले कुनै पनि देशको सम्पूर्ण जनसङ्ख्याको समानुपातिक प्रतिनिधित्व भने नगर्ने ईएफले स्पष्ट पारेको छ।

प्रतिक्रिया 4