९ मंसिर, काठमाडौं । १०औं राष्ट्रिय खेलकुद अन्तर्गत नेपालगन्जमा भइरहेको पौडी प्रतियोगिता तथा २३औं राष्ट्रिय पौडी च्याम्पियनसिपको दोस्रो दिन बुधबार चार नयाँ राष्ट्रिय कीर्तिमान बनेका छनु ।
नेपालगन्ज रंगशालास्थित पौडी पोखरीमा भएको प्रतियोगितामा तीन खेलाडीले राष्ट्रिय कीर्तिमान बनाउँदा नेपाल पुलिस क्लबले रिले इभेन्टमा कीर्तिमान बनायो । यस्तै दोस्रो दिन पनि बागमती प्रदेश र एनआरएनएका खेलाडीहरु नै हावी बने ।
१०० मिटर ब्रेस्ट स्ट्रोकमा बागमतीका अभिव प्रधान, पुरुष ४०० मिटरमा इन्डिभिजुअल मिड्लेमा सुदूरपश्चिमका अथर्व सिंह र महिला ८०० मिटर फ्रिस्टायलमा एनआरएनएकी लिली बोहराले नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् ।
दोस्रो दिन बागमती प्रदेशका अभिव प्रधानले एक नयाँ राष्ट्रिय कीर्तिमान सहित दुई स्वर्ण जिते भने रिले इभेन्टमा पनि बागमती टिमसँग स्वर्ण जिते ।
अभिवले पुरुष १०० मिटर ब्याकस्ट्रोकमा १ मिनेट ०१.५१ सेकेण्ड समय निकाल्दै नयाँ कीर्तिमान बनाए । उनले प्रारम्भ भण्डारीको नाममा रहेको १ मिनेट ०३.३९ सेकेण्डको कीर्तिमान तोडे ।
यस इभेन्टमा बागमतीकै रिभान्त बहादुर श्रेष्ठले १ मिनेट ०४.०० सेकेन्ड सहित रजत र आर्मीका जाडेन श्रेष्ठले १ मिनेट ०४.०३ सेकेन्ड सहित कांस्य जिते ।
अभिवले पुरुष ५० मिटर बटरफ्लाईमा पनि स्वर्ण जिते । उनले २६.०७ सेकेण्डमा दूरी पूरा गरे । नेपाल पुलिस क्लबका एर्भिन श्रेष्ठले २७.१४ सेकेण्डसहित रजत तथा आर्मीका सौरेन बहादुर सिंह र असिम भण्डारीले समान २७.३२ सेकेण्ड समयमा दूरी पूरा गर्दै कांस्य जिते ।

सुदूरपश्चिमका अथर्वले ४०० मिटर इन्डिभिडुअल मिड्लेमा आफ्नै नाममा रहेको ४ मिनेट ५८.३४ सेकेण्डको कीर्तिमान सुधार गर्दै ४ मिनेट ५६.७६ सेकेन्डको नयाँ कीर्तिमान कायम गरे । यस इभेन्टमा नेपाल पुलिस क्लबका मयोन श्रेष्ठले ५ मिनेट ०७.५७ सेकेन्डमा रजत र बागमतीका अरिक कर्माचार्यले ५ मिनेट २६.९९ सेकेन्डसहित कांस्य जिते ।
महिला ८०० मिटर फ्रिस्टायलमा लिलीले ९ मिनेट ३४.०६ सेकेन्डको नयाँ कीर्तिमान सहित स्वर्ण जितिन् । जारी प्रतियोगितामा उनको यो दोस्रो कीर्तिमान हो । यसअघि उक्त इभेन्टमा सन् २०२५ मा नेपाल आर्मी क्लबकी डुअना लामाको नाममा १० मिनेट ०६.९२ सेकेन्डको कीर्तिमान बनेको थियो । डुअनाले पनि आनो समयलाई सुधार गर्दै ९ मिनेट ५९.५४ सेकेन्डमा पुरा गर्दै रजत जितिन् । पुलिसकी देभान्सी जोशीले १० मिनेट ५८.५८ सेकेन्ड सहित कास्य जितिन् ।

नेपाल पुलिस क्लबको टिमले पुरुष ४ गुणा २०० मिटर फ्रिस्टायलमा ८ मिनेट ३२.१३ सेकेन्डको नयाँ राष्ट्रिय कीर्तिमान बनाएको छ । यसअघि सन् २०१६ मा मनिष चित्रकार, शुभम श्रेष्ठ, अनुभव सुब्बा र शिरिष गुरुङको नाममा रहेको ९ मिनेट १७.६८ सेकेन्डको कीर्तिमानलाई बुधबार पुलिस क्लबका इर्भिन श्रेष्ठ, आरुष अवाले, मयोन श्रेष्ठ र काल्किन श्रेष्ठले भंग गर्दै ८ मिनेट ३२. १३ सेकेन्डको नयाँ कीर्तिमान बनाए ।
एनआरएनएका लिलीले २०० मिटर महिला फ्रिस्टायलमा पनि २ मिनेट १४.०३ सेकेन्ड समयसहित स्वर्ण जितिन् । आर्मीकी डुअना रजत (२ मिनेट १४.४२ सेकेन्ड) र एनआरएनएकै मिखाले कास्य (२ मिनेट १९.६८ सेकेन्ड) पदक जितिन् । लिलीको यो तेस्रो स्वर्ण हो ।
यस्तै एनआरएनएका मिखा काया थापाले महिला ५० मिटर बटरफ्लाईमा स्वर्ण पदक जित्दै स्वर्ण संख्या ३ पुर्याइन् । उनले ३०.७८ सेकेन्डमा दूरी पूरा गरिन् । पुलिसकी देभान्सीले रजत (३२.८८ सेकेन्ड) र बागमतीकी इरा अमात्य र आर्मीकी शिसोम्बुन राईले ३३.५६ सेकेन्डमा पुरा गर्दै संयुक्त रुपमा कांस्य हात पारे ।

१०० मिटर महिला ब्याकस्ट्रोकमा बागमतीकी आर्या महर्जनले स्वर्ण (१ मिनेट ११.९५सेकेन्ड) जित्दा एनआरएनएकी मिखाले रजत (१ मिनेट १३.६२सेकेन्ड) जितिन् । बागमतीकै रोयल प्रजापतिले कास्य(१ मिनेट १४.४३सेकेन्ड) जितिन् ।
२०० मिटर पुरुष फ्रिस्टायलमा पुलिसका इर्भिनले (१ मिनेट ५९.४८ सेकेन्ड) स्वर्ण, पुलिसकै काल्किनले रजत (२मिनेट ००.८३ सेकेन्ड) र आर्मीका अल्भिनले कास्य (२ मिनेट ०५.००सेकेन्ड) पदक हासिल गरे ।
बागमतीले बुधबार रिले इभेन्टमा पनि दुई स्वर्ण जित्यो । ४ गुणा १०० मिटर महिला मिड्ले रिलेमा बागमतीले स्वर्ण (५ मिनेट ०५.६९सेकेन्ड), पुलिसले रजत(५ मिनेट ११.७१ सेकेन्ड) र आर्मीले कांस्य (५ मिनेट १५.८५ सेकेन्ड) पदक जिते ।
यस्तै बागमतीले मिक्स ४ गुणा ५० मिटर मिड्ले रिलेमा स्वर्ण (२ मिनेट ०२.४६ सेकेन्ड) आर्मीले रजत (२ मिनेट ०४.११ सेकेन्ड) र पुलिसले कांस्य (२ मिनेट ०७.०८ सेकेन्ड) हासिल गरेको छ ।
बागमती ९ स्वर्णका साथ शीर्ष स्थानमा
प्रतियोगिताको दोस्रो दिनको खेल समाप्त हुँदा बागमती प्रदेश ९ स्वर्ण, ४ रजत, ६ कास्य गरी कुल १९ पदक सहित शीर्ष स्थानमा छ । दोस्रो दिन ३ स्वर्ण नै थपेको एनआरएन टिम ६ स्वर्ण, १ रजत र २ कास्य गरी कुल ९ पदक सहित दोस्रो स्थानमा छ । पुलिस ३ स्वर्ण, ७ रजत, ८ कास्य गरी कुल १८ पदक सहित तेस्रो, आर्मी २ स्वर्ण, ८ रजत, ८ कास्य पदक सहित चौथो, सुदूरपश्चिम १ स्वर्ण, २ रजत गरी कुल ३ पदकसहित पाँचौ र कोशी प्रदेश १ स्वर्ण सहित छैटौं स्थानमा रहेको छ ।
प्रतियोगितामा अहिलेसम्म ६ वटा इभेन्टमा राष्ट्रिय कीर्तिमान बनेको छ । प्रतियोगिताको पहिलो दिन पुरुष तर्फको ५० मिटर ब्रेस्टस्ट्रोकमा कोशी प्रदेशका विकास कुमाल र महिला तर्फको ४०० मिटर (आइएम) एनआरएन लिली बोहराले नयाँ कीर्तिमान बनाएका थिए ।
बुधबार प्रतियोगितामा पदक जित्ने खेलाडीलाई ओलम्पियन सुरेन्द्र हमाल र पार्वती थापाले पुरस्कृत गरेका थिए ।
प्रतिक्रिया 4