+
+
Shares
विचार :

ब्रेन ड्रेनबाट ब्रेन गेनतर्फ : विदेशमा सिकेको ज्ञान नेपालले कसरी उपयोग गर्ने ?

विदेशिएका नेपालीका मूल्यवान् अनुभव न व्यवस्थित रूपमा सङ्कलन भएका छन्, न राष्ट्रिय विकासमा परिचालन भएका छन्। जुन देशले आफ्ना नागरिक विदेशमा कहाँ, के र कस्तो ज्ञान तथा सीप आर्जन गरिरहेका छन् भन्ने जानकारी नै राख्दैन, उसले त्यो ज्ञान उपयोग गर्ने योजना बनाउन सक्दैन।

राजेन्द्र पंगेनी राजेन्द्र पंगेनी
२०८३ मंसिर १० गते ८:०२

कयौँ वर्षदेखि नेपालबाट युवाहरू विदेशिने क्रम बढ्दो छ। सरकारले नै अन्य देशसँग सहमति गरेर नेपाली युवालाई औपचारिक रूपमा वैदेशिक रोजगारीमा पठाउँदै आएको छ। विदेश गएका नेपालीले अन्तर्राष्ट्रिय स्तरमा ज्ञान, सीप र महत्त्वपूर्ण अनुभव आर्जन गरेका छन्। उनीहरूमध्ये धेरैले आफ्नो करिअर र जीवनलाई नयाँ उचाइमा पुर्‍याएका छन् र कतिपयको मनमा एक दिन नेपाल फर्केर आफ्नै देशको विकासमा योगदान गर्ने अभिलाषा पनि छ। तर, त्यो चाहना पूरा गर्न आवश्यक नीतिगत र संस्थागत वातावरण नेपालमा अझै तयार भइसकेको छैन।

यस लेखमा विदेशिएका नेपालीको सीप, ज्ञान र अनुभव नेपालमै सदुपयोग गर्न सरकारले कस्तो नीति र रणनीति अपनाउन सक्छ भन्नेबारे चर्चा गरिएको छ।

विदेशमा कार्यरत नेपालीले बारम्बार सोच्ने कुरा के हो भने नेपाल फर्केपछि कुनै नेतालाई नरिझाई यहाँ राम्रो अवसर पाउन सकिन्छ कि सकिँदैन? आफ्नै बलबुतामा उद्यम सुरु गर्न चाहनेहरूका मनमा पनि यस्तै प्रश्न उठ्छ: कर्मचारीतन्त्रसँग अनावश्यक नजुधी आफ्नो काम अघि बढाउन सकिन्छ कि सकिँदैन?

कसैले जीवनको महत्त्वपूर्ण निर्णय लिनुअघि भरपर्दो, पारदर्शी र पूर्वानुमान गर्न सकिने वातावरण खोज्नु स्वाभाविक हो। ननेपालमा त्यस्तो वातावरण छ कि छैन भन्ने प्रश्नकै कारण धेरैले तुरुन्त फर्किहाल्ने निर्णय गर्न सकेका छैनन्।

केही वर्षयता केही युवा सांसदले विदेशिने युवाबारे प्रतिनिधि सभामा प्रश्न उठाएका छन्। यो राम्रो कुरा हो। तर युवालाई विदेशिनबाट रोक्न आवश्यक नीतिगत र संरचनात्मक व्यवस्था अहिलेसम्म भएको छैन। अझ विदेशबाट फर्कन चाहनेका लागि नेपालमै अवसर सिर्जना गर्ने नीति त राष्ट्रिय प्राथमिकतामै परेको छैन। झन् गम्भीर कुरा, विदेशिएका नेपालीका मूल्यवान् अनुभव न व्यवस्थित रूपमा सङ्कलन भएका छन्, न राष्ट्रिय विकासमा परिचालन भएका छन्। जुन देशले आफ्ना नागरिक विदेशमा कहाँ, के र कस्तो ज्ञान तथा सीप आर्जन गरिरहेका छन् भन्ने जानकारी नै राख्दैन, उसले त्यो ज्ञान उपयोग गर्ने योजना बनाउन सक्दैन। यसबाट देशले ठूलो सम्भावना गुमाइरहेको छ।

समन्वयको अभाव

केही वर्षअघि नेपाल फर्किन प्रतिबद्ध केही साथी मिलेर हामीले ‘नेपाल फर्कौं महाअभियान’ सुरु गर्‍यौँ। यसमार्फत विश्वभरिबाट नेपाल फर्किन चाहने वा फर्किसकेकाहरूको डेटाबेस तयार गरेका छौँ। सयौँ नेपाली आबद्ध भएको यस डेटाबेसमा उनीहरूको शैक्षिक योग्यता, उमेर समूह, फर्किने योजना र आबद्ध संस्थाको विवरण सङ्कलन गरिँदै छ। कुनै पनि समस्या बुझ्न पहिले तथ्याङ्क चाहिन्छ। कति जना फर्किन चाहन्छन्, कुन क्षेत्रका छन्, कस्तो सीप बोकेका छन् भन्ने थाहा भएपछि मात्र प्रमाणमा आधारित नीति बनाउन पनि सजिलो हुन्छ।

‘नेपाल फर्कौं महाअभियान’ सुरु भएपछि परराष्ट्र मन्त्रालयले पनि राष्ट्रिय ‘ब्रेन गेन’ सेन्टर स्थापना गरेर विदेशस्थित नेपालीको विज्ञता सूचीकृत गर्ने प्रयास गर्‍यो। गैरआवासीय नेपाली संघ अमेरिकाले पनि अमेरिकामा रहेका नेपाली विज्ञको डेटाबेस बनायो, जसको टोलीमा बसेर योगदान गर्ने अवसर मलाई पनि मिल्यो। यी प्रयास सराहनीय छन्। तर एउटै प्रकृतिका डेटाबेस अलग-अलग तहमा बन्न पुगे। यसले सरकारले अन्य संस्थासँग पर्याप्त सहकार्य र समन्वय गर्न नसकेको प्रस्ट हुन्छ। सोही कारण दोहोरो काम भयो।

विदेशका नीति परिवर्तन भइरहन्छन् र त्यहाँ बस्नेहरूको भविष्य अनिश्चित हुन सक्छ। विदेशमा दशकौँ बिताएका नेपालीको अनुभवले पनि आफ्नै देशमा जस्तो आत्मसन्तुष्टि अन्यत्र पाइँदैन भन्ने देखाउँछ। यही अनुभवले गर्दा हामीले ‘नेपाल फर्कौं महाअभियान’लाई भावनात्मकभन्दा वैज्ञानिक, वस्तुगत र संस्थागत बनाउन प्रयत्न गरिरहेका छौँ।

सरकारले सतही रूपमा गरेका केही साना कामबाहेक विदेशमा रहेका नेपालीलाई फर्काउने नीतिसँग तालमेल हुने ठोस कदम चालेको छैन। विदेशमा सिकेको सीप र अनुभवसहित कुनै नेपाली फर्कन चाहन्छ भने उसलाई यहाँ कसरी स्थापित गर्ने भन्ने स्पष्ट नीति अहिलेसम्म बनिसक्नुपर्ने थियो। सरकारले विदेशमा रहेका नेपालीको विज्ञताको ‘म्यापिङ’ गरी त्यसलाई देशको आवश्यकतासँग नजोडेसम्म ती डेटाबेस उपयोगी बन्न सक्दैनन्।

अरू देशले यो बाटो पहिल्यै पहिल्याइसकेका छन्। भारतको ‘रिभर्स ब्रेन ड्रेन’ अभियान, चीनको ‘थाउजेन्ड ट्यालेन्ट्स प्रोग्राम’, दक्षिण कोरियाको ‘ब्रेन पुल’ योजना र फिलिपिन्सको ‘बालिक साइन्टिस्ट प्रोग्राम’ यसका उदाहरण हुन्। यी देशले ‘ब्रेन गेन’ कार्यक्रमलाई राष्ट्रिय विकास रणनीतिको हिस्सा बनाएका छन्। यी अभ्यासले विदेशमा रहेका नागरिकलाई वैज्ञानिक तथा प्राविधिक क्षेत्रमा फर्काउने र उनीहरूको विज्ञतालाई देशको विकाससँग जोड्ने विभिन्न उपाय देखाउँछन्। साथै, राज्यले योजनाबद्ध तरिकाले डायस्पोराको बौद्धिक र वित्तीय पुँजी देशको हितमा कसरी उपयोग गर्न सक्छ भन्ने पनि सिकाउँछन्। यी मोडलबारे अर्को लेखमा छुट्टै चर्चा गर्नेछु। यहाँ भन्न खोजिएको मुख्य कुरा यति हो: नागरिकलाई फर्कन आह्वान गरेर मात्र हुँदैन, उनीहरूको ज्ञान, सीप र अनुभव उपयोग गर्न सक्ने उपयुक्त वातावरण पनि बनाउनुपर्छ। नेपालका लागि पनि यस्तै संस्थागत र औपचारिक कार्यक्रमहरू अपरिहार्य छन्।

सरकारले कहाँबाट सुरु गर्ने?

सुरुवातका लागि सरकारले ठूलो खर्च र भव्य संरचना बनाइराख्नु पर्दैन। कम्तीमा पनि विदेशमा उच्च अध्ययन गरेका वा कार्यरत युवालाई सरकारसँग जोड्न केही औपचारिक कार्यक्रम सुरु गर्नुपर्छ। उदाहरणका लागि उच्चस्तरीय फेलोसिप कार्यक्रम र राष्ट्रिय महत्त्वका विषयमा अनुसन्धान परियोजना सुरु गर्न सकिन्छ। त्यसैगरी महत्त्वपूर्ण विषयमा परामर्श सेवा तथा सरकारी र सार्वजनिक संस्थामा निश्चित अवधिका लागि अस्थायी जिम्मेवारीका विकल्प खुला गर्न सकिन्छ। यस्ता कार्यक्रमले विदेशमा आर्जन गरेको ज्ञान, सीप र अनुभवलाई सरकार तथा सार्वजनिक संस्थासँग जोड्ने पुलका रूपमा काम गर्न सक्छन्।

नेपालले आफ्ना नागरिकलाई विदेश जानबाट रोक्न सक्दैन र रोक्नु पनि हुँदैन। तर उनीहरूले संसारभरि आर्जन गरेको ज्ञान, सीप, पुँजी र अनुभवलाई नेपालको विकाससँग जोड्न अवश्य सक्छ।

यसैगरी, आफ्नै बलबुतामा देश फर्केर केही गर्न चाहनेलाई कम्तीमा पनि उद्यमशीलताका लागि आवश्यक परामर्श र वित्तीय स्रोतमा सहजता दिनु अनिवार्य छ। उद्यम दर्ता, लगानी स्वीकृति, कर प्रशासन र अन्य सरकारी प्रक्रियालाई सरल, पारदर्शी र समयबद्ध बनाउन सके विदेशमा अनुभव हासिल गरेका नेपालीले आफ्नै देशमा उद्यम गर्ने वातावरण पाउँछन्। सरकारले यति सहजता दिन सक्यो भने कर्मचारीतन्त्रसँग जुध्नुपर्ने डर धेरै हदसम्म कम हुन्छ।

त्यसैले विदेशमै रहेर पनि केही समयका लागि नेपालसँग प्रत्यक्ष काम गर्न वा डिजिटल माध्यमबाटै देशको नीति, अनुसन्धान वा नवप्रवर्तनमा जोडिन चाहनेहरूलाई जोड्ने व्यवस्था पनि सरकारले गर्न सक्छ। यसले तत्काल स्वदेश फर्कन नसक्ने नेपालीको विज्ञता र अनुभवलाई पनि राष्ट्रिय विकासमा उपयोग गर्ने अवसर दिन्छ। यस्ता औपचारिक र संस्थागत परियोजनामार्फत जोडिएका नेपालीमा विस्तारै नेपालमै फर्केर यहाँको सरकार र संरचनासँग मिलेर काम गर्ने आत्मविश्वास बढ्न सक्छ। साथै, फर्कन नसक्ने परिस्थितिमा रहेका नेपालीलाई पनि यस्ता कार्यक्रमले नेपालसँग जोडिइरहने आधार बनाउन सक्छन्।

व्यक्तिगत प्रयासबाट राष्ट्रिय अभियानतर्फ

सन् २००९ तिर ठूलो सङ्ख्यामा नेपाली अध्ययनका लागि बेलायत र अस्ट्रेलिया गए। केही वर्षपछि दुवै देशले अध्यागमन कानुन कठोर बनाए। अहिले अमेरिकामा पनि त्यही स्थिति छ। विदेशका नीति परिवर्तन भइरहन्छन् र त्यहाँ बस्नेहरूको भविष्य अनिश्चित हुन सक्छ। विदेशमा दशकौँ बिताएका नेपालीको अनुभवले पनि आफ्नै देशमा जस्तो आत्मसन्तुष्टि अन्यत्र पाइँदैन भन्ने देखाउँछ। यही अनुभवले गर्दा हामीले ‘नेपाल फर्कौं महाअभियान’लाई भावनात्मकभन्दा वैज्ञानिक, वस्तुगत र संस्थागत बनाउन प्रयत्न गरिरहेका छौँ।

हाम्रो प्रयत्न विदेशमा रहेका नेपालीको सीप र ज्ञानलाई संस्थागत रूपमा नेपालमै प्रयोग गर्न चाहनेहरूका लागि बलियो सञ्जालका रूपमा विकास गर्ने हो। यही उद्देश्यलाई आत्मसात् गरेर नै हामीले नाफा नबाँड्ने संस्थाका रूपमा नेक्सस इन्स्टिच्युट अफ रिसर्च एन्ड इनोभेसन (निरी) नेपाल नामक संस्थाको स्थापना गरेका छौँ। यस संस्थामार्फत अनुसन्धान र अन्य गतिविधिद्वारा विदेशमा सिकेको सीप र ज्ञानलाई नेपालमा हस्तान्तरण गर्दै आएका छौँ।

अब यो प्रयासलाई राष्ट्रिय अभियानमा रूपान्तरण गर्ने जिम्मेवारी राज्यको पनि हो। सरकारले विदेशमा रहेका नेपालीको सीप, ज्ञान र अनुभवको एकीकृत राष्ट्रिय डेटाबेस तयार गरी त्यसलाई देशको विकास प्राथमिकतासँग जोड्नुपर्छ। उनीहरूलाई स्वदेश फर्केर काम गर्ने, आफ्नै उद्यम सुरु गर्ने वा विदेशमै रहेर नेपालको अनुसन्धान, नीति निर्माण र नवप्रवर्तनमा योगदान गर्ने स्पष्ट अवसर दिनुपर्छ। यसका लागि राजनीतिक पहुँच होइन, योग्यता र क्षमताका आधारमा अवसर सुनिश्चित गर्ने पारदर्शी प्रणाली आवश्यक छ। फर्किन चाहनेलाई प्रोत्साहन, लगानी गर्न चाहनेलाई सहजता र आफ्नो विज्ञता बाँड्न चाहनेलाई उपयुक्त मञ्च उपलब्ध गराउनु सरकारको प्राथमिकता बन्नुपर्छ।

नेपालले आफ्ना नागरिकलाई विदेश जानबाट रोक्न सक्दैन र रोक्नु पनि हुँदैन। तर उनीहरूले संसारभरि आर्जन गरेको ज्ञान, सीप, पुँजी र अनुभवलाई नेपालको विकाससँग जोड्न अवश्य सक्छ। जसरी विदेशिएका नेपालीले फर्किने निर्णय गर्नुअघि तयारी गर्नुपर्छ, त्यसरी नै सरकारले पनि फर्किएकालाई सहज रूपमा कसरी स्थापित गर्ने र उनीहरूको क्षमता कसरी उपयोग गर्ने भन्नेमा संस्थागत तयारी गर्नुपर्छ। फर्किएकाहरूको ज्ञान, अनुभव र सीपको सही सदुपयोग गर्ने हो भने उनीहरूलाई काम गर्ने अवसर, निष्पक्ष प्रतिस्पर्धा, सहज सरकारी सेवा र आफ्नो क्षमताअनुसार योगदान गर्न सक्ने वातावरण सुनिश्चित गर्नु पनि उत्तिकै आवश्यक छ।

लेखक
राजेन्द्र पंगेनी

पंगेनी अमेरिकाको नोभा साउथइस्टर्न विश्वविद्यालय तथा नेपालस्थित नेक्सस इन्स्टिट्युट अफ रिसर्च एण्ड इनोभेसन (निरी) सँग आबद्ध छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?