१० मंसिर, चितवन । चितवनका मुख्य सहरी क्षेत्र नारायणगढ र भरतपुरमा ट्राफिक बत्ती सञ्चालनमा ल्याइएको छ । सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक सचेतना बढाउने उद्देश्यका साथ ती बत्ती सञ्चालनमा ल्याइएको हो ।
पुलचोक–गोन्द्राङको छ लेन सडक र बाइपास रोडका विभिन्न छ स्थानमा ‘ट्राफिक लाइट’ जडान गरिएको छ ।
भरतपुरको चौबिसकोठीमा भरतपुर महानगरपालिकाका कार्यवहाक प्रमुख चित्रसेन अधिकारी र प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले स्विच थिचेर संयुक्त रूपमा ट्राफिक बत्ती सञ्चालनमा आएको घोषणा गरे ।
नारायणगढको पुलचोक, सहिद चोक, चौबिसकोठी, हाकिम चोक, मालपोत चोक र केन्द्रीय बसपार्कमा ट्राफिक बत्ती जडान गरिएको छ ।
सो अवसरमा सडक डिभिजन कार्यालय चितवनका प्रमुख इञ्जिनियर अमितकुमार शर्मा र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाले ट्राफिक बत्ती र सडक सुरक्षाका बारेमा जानकारी दिए ।
सबैभन्दा धेरै ट्राफिक लाइट राखिएको भरतपुर–१० का अध्यक्ष परमेश्वर खनालले भरतपुर महानगरपालिकाको आग्रहमा सडक विभागमार्फत बत्ती जडान गरिएको जानकारी दिँदै यसको उपयोग गरी ट्राफिक व्यवस्थापनमा जुट्नुपर्ने बताए ।
विभागको सडक सुरक्षा तथा ट्राफिक शाखाले बत्ती जडान गरेको हो ।
भरतपुर महानगरपालिकाका छ चोकमा बत्ती राख्नका लागि विसं २०८२ साल साउन २० मा मूल्य अभिवृद्धि करसहित एक करोड २३ लाख १४ हजार २६० रुपैयाँ ठेक्का सम्झौता भएको थियो ।
सम्झौताअनुसार विसं २०८२ चैत २० गतेसम्म काम सम्पन्न गर्नुपर्ने हुन्थ्यो । निर्माण व्यवसायी कम्पनीले ढिला गरी लाईट जडान गरेको हो ।
प्रतिक्रिया 4