१० मंसिर, काठमाडौं । बिहीबारदेखि धनगढीमा सुरु भएको नरेश श्रेष्ठ स्मृति राष्ट्रिय यू-१९ क्रिकेटमा लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेको छ ।
बिहीबार फाप्ला क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेशलाई ४१ रनले पराजित गरेको हो । लुम्बिनीले दिएको १७८ रनको लक्ष्य पछ्याएको सुदूर ४१ ओभरमा १३६ रनमा अलआउट भयो ।
सुदूरका लागि आर्यन बिकले सर्वाधिक ३६ रन बनाए । कप्तान निराजन गौतमले २३, निश्चल क्षेत्रीले २२ रन बनाए । भाष्कर जोशीले १७ तथा राहुल जोशीले १५ रन बनाए ।
लुम्बिनीका रौनक श्रीवास्तवले ३ विकेट लिए भने प्रिन्स पाल, दिनेश बोहरा र शुभम खनालले २-२ तथा करण जीएमले १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले ४४.३ ओभरमा सबै विकेट गुमाएर १७७ रन बनाएको थियो । आरिफ खानले सर्वाधिक ६१ रन बनाए, रौनक श्रीवास्तवले ३३ रन बनाए । क्षितिज थापामगरले २५ रन बनाए ।
सुदूरका लागि कप्तान निराजन गौतम र सुशील रावलले ३-३ विकेट लिँदा अमर चन्दले २ तथा सचिन भट्टले १ विकेट लिए ।
प्रतिक्रिया 4