हरर फिल्ममा दर्शकलाई तर्साउन प्रायः अचानक आउने आवाज र झस्काउने दृश्यको प्रयोग गरिन्छ । तर, ‘काली खेती’ का निर्देशक हरिस इम्तियाज खान भने केही फरक गर्न चाहन्थे ।
उनको चाहना फिल्मको डर पर्दामा मात्र सीमित नहोस्, कथा सकिएपछि पनि दर्शकको दिमागमा रहिरहोस् भन्ने थियो । किसान आन्दोलन र खेतीमा ठूला कम्पनीहरूको बढ्दो हस्तक्षेपजस्ता गम्भीर विषयबाट प्रेरित भएर उनले फिल्ममा डरको फरक शैली प्रस्तुत गरेका छन् ।
अन्तर्वार्तामा निर्देशकले फिल्मको अवधारणा, ज्याकी श्रफ र शरद केलकरसँग काम गर्दाको अनुभव, छायांकनका कठिनाइ र भिएफएक्ससँग सम्बन्धित विभिन्न रोचक कुरा खुलाएका छन् ।
‘काली खेती’ को अवधारणा तपाईंको दिमागमा कसरी आयो ?
फिल्मको अवधारणा पूर्ण रूपमा काल्पनिक हो । तर, यसमार्फत म वास्तविक समस्यालाई देखाउन चाहन्थेँ।
यसको प्रेरणा मलाई सन् २०२१ मा भएको किसान आन्दोलनबाट मिलेको हो । त्यसबेला किसानहरूले खेतीमा ठूला कम्पनीहरूको बढ्दो हस्तक्षेपको विरोध गरिरहेका थिए । यदि ठूला कम्पनीहरूले खेतीमा पूर्णरूपमा कब्जा जमाए भने के होला भन्ने सोचबाट फिल्मको कथा तयार भएको हो ।
मैले फिल्ममा यस्तो अवस्थालाई निकै गम्भीर रूपमा देखाउने प्रयास गरेको छु । खेती गर्ने तरिका नै परिवर्तन भयो र नयाँ प्रविधिको प्रयोग बढ्दै गयो भने वृद्ध किसानहरूलाई त्यसअनुसार आफूलाई बदल्न कति कठिन हुन्छ भन्ने कुरा फिल्ममा छ ।
उमेरका कारण नयाँ प्रविधि अपनाउन नसक्ने वा कम्पनीहरूको मागअनुसारको बाली उत्पादन गर्न नसक्ने किसानले त्यसको मूल्य चुकाउनुपर्ने अवस्था देखाइएको छ । फिल्मको मुख्य विषय यही हो ।
फिल्ममा देखाइएको अवधारणा मेरो आफ्नै र पूर्ण रूपमा मौलिक हो । म हरर फिल्ममा प्रयोग भइरहेका पुराना र सामान्य शैलीभन्दा फरक केही गर्न चाहन्थेँ ।
दैनिक जीवन र फिल्मको विषयवस्तुबाटै डर पैदा गर्न सकिन्छ भन्ने मेरो सोच थियो । फिल्मले उठाएको गम्भीर विषय नै डरको एउटा माध्यम बनोस् भन्ने चाह ।
ज्याकी श्रफ र शरद केलकरजस्ता दुई दमदार कलाकारलाई एकै फिल्ममा लिने सोच कसरी आयो ?
मैले पहिलोपटक यो कथा लेख्दा नै सबै पात्रको अनुहार र स्वभाव मेरो दिमागमा स्पष्ट थियो । किशनको भूमिकामा मैले आफ्ना हजुरबुबालाई देखेको थिएँ भने रोहितको भूमिकामा आफ्नै केही झल्को पाएको थिएँ ।
शरद केलकर सरको व्यक्तित्व निकै दमदार छ । उनको आवाजमा पनि छुट्टै प्रभाव छ। म उनको यही विशेषता पात्रमा उतार्न चाहन्थेँ । तर, बुवाका अगाडि भने उनको पात्र निकै शान्त र संयमित हुनुपर्ने थियो ।
मैले जानाजानी उनको पात्रको स्वभाव यस्तो बनाएको थिएँ । बुवाको अगाडि उनलाई दबिएको मानिसका रूपमा देखाइएको छ, ताकि उनीभित्र दबिएर रहेको रिस कथाको अन्त्यमा बाहिर आओस् । थप्पड हान्ने दृश्य पनि यही आक्रोशको एउटा हिस्सा थियो ।
त्यस्तै, किशनको पात्र मेरो सोचमा सधैँ बाहिरबाट निकै प्रभावशाली र रवाफिलो तर भित्रबाट असाध्यै मायालु स्वभावको मानिस थियो ।
फिल्मको भिएफएक्समा डेढदेखि दुई वर्ष लागेको बताइएको छ । कुनै दृश्य तयार पार्न अन्तर्राष्ट्रिय प्राविधिक वा प्रविधिको सहयोग लिनुपरेको थियो ?
हामीले अन्तर्राष्ट्रिय टोलीसँग काम गरेका थियौँ । ल्याब्रेन्टका मानिसहरूसँग अन्तर्राष्ट्रिय स्तरमा काम गरेको राम्रो अनुभव छ । उनीहरूले बलिउडका विभिन्न परियोजनामा पनि काम गरिसकेका छन्। फिल्मको भिएफएक्सको जिम्मेवारी यही कम्पनीले लिएको थियो ।
हामीले भिएफएक्सको कामलाई विभिन्न भागमा बाँडेर फरकफरक टोलीलाई दिनुको सट्टा एउटै टोलीबाट पूरा गरायौँ । यसो गर्नुको उद्देश्य फिल्मका हरेक दृश्य र विशेषगरी दृश्य श्रृंखलामा एउटै स्तरको दृश्य प्रभाव र गुणस्तर कायम राख्नु थियो ।
फिल्मका दुई दृश्य तयार पार्न सबैभन्दा बढी कठिनाइ भयो । पहिलो दृश्य राजन काकाको जलिरहेको फार्मसँग सम्बन्धित छ, जहाँ उनी आफ्ना पुराना साथीलाई भेट्न जान्छन् । दोस्रो दृश्यमा केही टाउका जमिनभित्र देखिन्छन् ।
यी दुवै दृश्यको भिएफएक्स तयार पार्नु निकै चुनौतीपूर्ण थियो । तिनलाई पूरा गर्न र अन्तिम रूप दिन महिनौँ लाग्यो । विशेषगरी क्यामेरा जमिनभित्र प्रवेश गर्ने अन्तिम दृश्यमा धेरै समय र मेहनत खर्च भएको थियो ।
फिल्म छायांकन क्रममामा के कस्ता कठिनाइ झेल्नुपरेको थियो ?
यस्तो अवस्थामा परिस्थितिअनुसार काम गर्ने तरिका खोज्नुपर्छ । उदाहरणका लागि, छायांकन सुरु भएको दोस्रो दिनमै यति ठूलो वर्षा र हामीले बनाएको घरको आधा भाग नै भत्कियो । फिल्मका लागि तयार पारेको खेत पनि पूरै पानीले भरियो। त्यो वास्तविक खेत थिएन, छायांकनका लागि हामीले त्यहाँ तयार पारेका थियौँ।
वर्षाका कारण त्यहाँ हिँड्नसमेत कठिन भयो । खुट्टा जमिनमा गाडिन्थ्यो । यस्तो अवस्थामा केही दृश्यको नजिकबाट खिचिने दृश्य लिन हामीले प्लाइउड बिछ्याउनुपर्यो । घरका दृश्यका लागि पनि त्यसका केही निश्चित भाग मात्र प्रयोग गर्नुपरेको थियो ।
वर्षा भइरहेको बेला हामीले त्यसलाई फिल्मकै दृश्यमा किन समावेश नगर्ने भनेर सोच्यौँ । यसरी परिस्थितिअनुसार परिवर्तन गर्दै र नयाँ उपाय निकाल्दै छायांकन पूरा गर्यौँ ।
ज्याकी श्रफसँग काम गर्दाको कुनै यस्तो अनुभव छ, जुन दर्शकलाई थाहा नहुन सक्छ ?
मलाई उनको काम गर्ने शैली निकै मन पर्यो । उनी पूरै टोलीलाई छिटो काम गर्न र अगाडि बढ्न प्रेरित गरिरहन्छन् । उनी बारम्बार ‘धन्दे पे ध्यान दे’ अर्थात् काममा ध्यान देऊ भनिरहन्छन् । उनको यही शैलीले सबैलाई निरन्तर काम गर्न प्रोत्साहित गर्छ ।
सबैभन्दा विशेष कुरा त उनी छायांकनका क्रममा सेट छाडेर जाँदैनन् । न त आफ्नो भ्यानिटी भ्यानमा गएर बस्छन् । उनी पूरै समय सेटमै रहन्छन् । अर्को दृश्यको तयारी भइरहेको छ भने पनि त्यहीँ बसेर के भइरहेको छ भनेर हेरिरहेका हुन्छन् ।
आफ्नो दृश्य दिने समय हुनासाथ उनी तुरुन्तै अभिनय गर्छन् र त्यसपछि अर्को कामतिर लाग्छन् । उनको यो अनुशासन र कामप्रतिको लगन साँच्चिकै प्रशंसनीय छ ।
जी न्यूजबाट
प्रतिक्रिया 4