१० मंसिर, काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायकहरूलाई प्रतिबद्धताअनुसार गुणस्तरीय सेवा दिन निर्देशन दिँदै नराम्रो काम गर्नेलाई सजाय नदिइने युग समाप्त भइसकेको चेतावनी दिएका छन् ।
सेवाको गुणस्तरमा कुनै पनि बहानामा सम्झौता स्वीकार्य नहुने स्पष्ट पार्दै उनले कानुन उल्लङ्घन गर्ने सेवा प्रदायकमाथि नियामक निकायले कारबाही गर्ने बताए । अत्यावश्यक दूरसञ्चार सेवाको गुणस्तर सुधार्न सेवा प्रदायक र नियामक दुवै उत्तिकै जवाफदेही हुनुपर्नेमा जोड दिँदै मन्त्री तिमिल्सिनाले क्षेत्र सुधारका लागि आवश्यक नीतिगत तथा कानुनी सहजीकरण गर्न सरकार तयार रहेको स्पष्ट पारे ।
‘अब राम्रो काम गर्दा सजाय हुनुहुँदैन, तर नराम्रो काम गर्दा निश्चित रूपमा सजाय हुनुपर्छ,’ सेवा प्रदायकहरूसँगको छलफलमा मन्त्री तिमिल्सिनाले भने, ‘तपाईंले सही गरेकोमा सजाय भयो भने म प्रत्येकको साथमा उभिन्छु । तर गलत गर्नुभयो भने तपाईंहरूको विरुद्धमा, तपाईंहरूको पछाडि म पनि हुन्छु, नियामक र अरू निकाय पनि हुन्छन् ।’
एआईको विकाससँगै विश्व प्रविधि क्षेत्र फाइभ–जीबाट सिक्स–जीको बहसमा पुगिसक्दा पनि नेपालमा ‘फोन लाग्दैन’ र ‘इन्टरनेट छ तर टिप्दैन’ भन्ने स्थिति सिर्जना गर्ने अधिकार अब कसैलाई नभएको उनले स्पष्ट पारे ।
आजको अवस्था निर्माण हुनुमा कोही एकल जिम्मेवार नभए पनि सबैको सामूहिक जिम्मेवारी रहेको उल्लेख गर्दै उनले नियम पालना भए–नभएको आत्मसमीक्षा गर्न र कमजोरी भए तत्काल सच्याउन निर्देशन दिए ।
सेवा प्रदायकहरूलाई सरकारसँग सम्पर्कमा रहन आग्रह गर्दै उनले ‘म्यानेज’ गर्ने पुरानो प्रवृत्ति अब नचल्ने चेतावनी दिए । ‘राम्रो कामका लागि सम्पर्कमा रहनुहोस्, म्यानेज गर्नका लागि होइन,’ उनले भने, ‘म फेरि भन्छु- त्यो युग समाप्त भइसक्यो ।’
आफूले संसद्मा समेत यो वर्षलाई दूरसञ्चार क्षेत्रको रूपान्तरण वर्षका रूपमा घोषणा गरेको स्मरण गराउँदै मन्त्री तिमिल्सिनाले यो क्षेत्र स्वच्छ हुनुपर्नेमा जोड दिए । वर्तमान सरकार वा मन्त्रीको कुनै गलत नियत र अनुचित अपेक्षा नरहेको दाबी गर्दै उनले वैधानिक रूपमा सरकारले गर्नुपर्ने सहयोगका लागि जहिले पनि ढोका खुला रहेको बताए । यति हुँदाहुँदै पनि सेवा प्रदायकहरू सक्रिय नभए त्यो उनीहरूकै लागि गुमेको अवसर हुने उनको भनाइ छ ।
‘सरकारको नियत कुनै सेवा प्रदायकलाई जरिवाना गर्नु वा जेल हाल्नु होइन, सरकारले चाहेको सेवाको गुणस्तर हो,’ उनले भने, ‘तपाईंहरू सही विकल्प दिनुस्, त्यसमा काम गर्न र सहयोग गर्न सरकार तयार छ । तर तपाईंहरूले गरेको गलत काम अब सरकार सहेर बस्न तयार छैन, किनभने त्यसले जनतामाथि अन्याय गरिरहेको छ ।’
सेवा प्रदायकका धारणा नेपाल दूरसञ्चार प्राधिकरणले गम्भीरतापूर्वक टिप्ने र त्यसको ब्रिफिङ आफूले पनि लिने बताउँदै उनले नियम पालना गरी सही काम गर्नेहरूप्रति आफ्नो कुनै गुनासो नरहेको स्पष्ट पारे । तर गलत खेल खेलिरहेकाहरूले त्यसैलाई निरन्तरता दिने सोचे गलत बाटोमा पुग्ने उनको चेतावनी थियो ।
नकारात्मक सञ्जाल र सहकार्यमा विश्वास नगरी ‘सही काम गरेरै पैसा कमाउन सकिन्छ’ भन्ने उदाहरण दूरसञ्चार क्षेत्रबाट स्थापित गर्न उनले आह्वान गरे ।
के भनेका थिए मन्त्री तिमिल्सिनाले ?
एआईले प्रविधिलाई कहाँ पुर्याइसक्यो, फाइभ–जीबाट सिक्स–जीका कुरा सुरु भइसके । यस्तो बेला ‘फोन लाग्दैन’ भनेर बस्नुपर्ने र ‘इन्टरनेट छ तर टिप्दैन’ भन्ने स्थिति सिर्जना गर्ने अधिकार अब कसैलाई पनि छैन ।
आजको यो अवस्था निर्माणका लागि कोही पनि एकल जिम्मेवार छैन, तर हामी सबैको सामूहिक जिम्मेवारी छ । आफैँलाई हेर्नुहोस्, तपाईंहरूले के गरिरहनुभएको छ समीक्षा गर्नुहोस्, तपाईंहरूबाट के अपेक्षा गरिएको छ सोच्नुहोस् र नियम पालना गरिरहनुभएको छ कि छैन गम्भीरतापूर्वक विचार गर्नुहोस् । यदि पालना भएको छैन भने आफैँलाई सच्याउनुहोस् ।
आज तपाईंहरूको छलफल होस्, आफ्ना धारणा राख्नुहोस् । मैले नेपाल दूरसञ्चार प्राधिकरणलाई भनेको छु- उहाँहरूले तपाईंहरूका कुरा गम्भीरतापूर्वक टिप्नुहुन्छ र त्यसको ब्रिफिङ मैले पनि लिउँला । सम्पर्कमा रहनुहोस्, तर राम्रो कामका लागि सम्पर्कमा रहनुहोस्, ‘म्यानेज’ गर्नका लागि होइन । म फेरि दोहोर्याउँछु- मैले पहिले नै भनिसकेको छु कि त्यो युग समाप्त भइसक्यो । अब राम्रो काम गर्दा सजाय हुनुहुँदैन, तर नराम्रो काम गर्दा निश्चित रूपमा सजाय हुनुपर्छ ।
तपाईंले सही काम गर्दा तपाईंलाई सजाय भयो भने म तपाईंहरू प्रत्येकको साथमा उभिन्छु । तर तपाईंहरूले गलत गर्नुभयो भने तपाईंहरूको विरुद्धमा, तपाईंहरूको पछाडि म पनि हुन्छु, नियामक र अरू निकाय पनि हुन्छन् । त्यही हिसाबले मैले पटक–पटक संसद्मा यो वर्ष दूरसञ्चार क्षेत्रको रूपान्तरण वर्ष (ट्रान्सफर्मेसन इयर) हुनुपर्छ भनेर घोषणा गरेको छु । टेलिकम क्षेत्र सफा हुनुपर्छ ।
मलाई भन्नुस्— कुन सरकारले आएर ‘यो सरकार वा मन्त्री कसैको पनि कुनै गलत नियत र अनुचित अपेक्षा छैन, तपाईंहरू राम्रो गर्नुस्, यो क्षेत्रलाई उचाल्नुस्’ भनेर तपाईंहरूलाई भनेको थियो र यसरी सहयोग कसले गरेको थियो ? यति गर्दा पनि तपाईंहरू सक्रिय भएर आउनुभएन भने यो तपाईंका लागि गुमेको अवसर हुनेछ र त्यसो गर्ने अधिकार तपाईंलाई छैन ।
आफैँ सोच्नुहोस्, छलफल गर्नुहोस्, कम्पनीभित्र आन्तरिक छलफल गर्नुहोस्, समय लिनुहोस् । सरकारले वैधानिक रूपमा के सहयोग गर्नुपर्छ- भोलि आउनुस्, पर्सि आउनुस्, निकोपर्सि आउनुस् । तर यो वा त्यो बहानामा अब हामीलाई गुणस्तरमा सम्झौता स्वीकार्य छैन ।
यो मैले बोलेको तपाईंको जति जिम्मेवारी छ, त्यतिमा मात्रै हो । तपाईंले कुनै आकाश ढाकेर बस्नुभएको छैन । जसको जे काम हो, त्यसमा त्यति गुणस्तर कायम भएको छ कि छैन ? यदि तपाईं नियम पालना गरिरहनुभएको छ, सही गरिरहनुभएको छ र जति गर्नुपर्ने हो त्यति गरिरहनुभएको छ भने धेरै धन्यवाद— यो मेरो गुनासो र असन्तुष्टि तपाईंप्रति होइन । तर, जसले साँच्चै यो क्षेत्रमा गलत खेल खेलिरहेको छ र गलत गरिरहेको छ, यो असन्तुष्टि त्यसको विरुद्धमा हो ।
जे भइसक्यो, भइसक्यो । यदि त्यसैलाई निरन्तरता दिने सोच राख्नुहुन्छ भने तपाईं गलत बाटोमा हुनुहुन्छ र कतै पुग्नुहुने छैन- कृपया यो कुरा मनमा राख्नुहोस् ।
म आशा गर्छु आजको छलफलबाट तपाईंहरूले राम्रो निष्कर्ष र एउटा दिशा निकाल्नुहुनेछ । एकअर्कालाई सहयोग गर्नुहोस् । फेरि एकपटक भन्छु— सरकारको प्रतिनिधिको हैसियतले मेरो नियत तपाईंहरूलाई सजाय दिनु होइन । कुनै पनि सेवा प्रदायकलाई सजाय गर्नु, जरिवाना गर्नु वा जेल हाल्नु सरकारले चाहेको होइन । सरकारले चाहेको त सेवाको गुणस्तर (क्वालिटी अफ सर्भिस) हो । तपाईंहरू विकल्प दिनुस् न ! तपाईंले दिएको सही विकल्पमा काम गर्न र सहयोग गर्न सरकार तयार छ । तर तपाईंहरूले गरेको गलत काम अब सरकार सहेर बस्न तयार छैन, किनभने त्यसले जनतामाथि अन्याय गरिरहेको छ ।
मेरो भनाइ यति हो- रचनात्मक रूपमा संलग्न हुनुहोस्, समाधान खोज्ने प्रयास गर्नुहोस् र एकअर्काबाट सकारात्मक सहयोग लिनुहोस् । नकारात्मक सञ्जाल र सहकार्यमा विश्वास नगर्नुहोस् । एकअर्कालाई कसरी सहयोग गर्ने र स्वच्छ दूरसञ्चार उद्योग निर्माणमा कसरी योगदान पुर्याउने भन्नेमा केन्द्रित हुनुहोस् । यो एउटा उदाहरणीय क्षेत्र हो- सही काम गरेरै पनि पैसा कमाउन सकिन्छ भन्ने कुरा कृपया स्थापित गरिदिनुहोस् ।
प्रतिक्रिया 4