जाडो बढ्दै जाँदा घरमै बसेर फिल्म र सिरिज हेर्ने योजना छ भने यो वीकएन्डका लागि ओटीटीमा थुप्रै विकल्प छन् । नयाँ फिल्मदेखि चर्चित सिरिजसम्म विभिन्न विधाका सामग्री स्ट्रिमिङमा आएका छन् ।
सिनेमाघरमा राम्रो चर्चा र कमाइ गरेका ‘दृश्यम ३’ र ‘हनुमान अंश’ देखि नयाँ सिरिज ‘ढाई चाल’ र ‘ब्लेड रनर २०९९’सम्म ओटीटीमा उपलब्ध छन् ।
‘नोटबुक नाइन्टिज-कढल फ्ल्यासब्याक’

९० को दशकको प्रेमकथामा आधारित तमिल रोमान्टिक ड्रामा सिरिज ‘नोटबुक नाइन्टिज-कढल फ्ल्यासब्याक’ नोभेम्बर २३ देखि सोनी लिभमा स्ट्रिम भइरहेको छ ।
सामाजिक सञ्जाल र ह्वाट्सएपको युगभन्दा अघिको प्रेमलाई केन्द्रमा राखिएको सिरिजमा चिठीमार्फत जोडिएको सम्बन्ध देखाइएको छ। यसको कथा तमिलनाडुको तिरुचि सहरमा आधारित छ।
‘दिल्ली २०२१’

सर्भाइभल थ्रिलर फिल्म ‘दिल्ली २०२१’ नोभेम्बर २५ देखि जी५ मा उपलब्ध छ ।
ऋचा चड्ढा, सुमीत व्यास, सोनाली कुलकर्णी र गुलशन ग्रोभरको अभिनय रहेको फिल्मले कोरोना महामारीको दोस्रो लहरका बेला दिल्लीमा मानिसहरूले भोगेको संकट र स्वास्थ्यकर्मीको संघर्षलाई देखाउँछ।
‘ब्लेड रनर २०९९’
सा-फाइ रुचाउने दर्शकका लागि ‘ब्लेड रनर २०९९’ विकल्प बन्न सक्छ। आठ एपिसोडको यो सिरिज नोभेम्बर २५ देखि प्राइम भिडियोमा स्ट्रिम भइरहेको छ।
यो सन् १९८२ को ‘ब्लेड रनर’ र सन् २०१७ को ‘ब्लेड रनर २०४९’ पछिको कथा हो। मिशेल यो, हन्टर शेफर र टम बर्क मुख्य भूमिकामा छन् ।
‘हनुमान अंश’
सिनेमाघरमा राम्रो कमाइ गरेको ‘हनुमान अंश’ पनि अब ओटीटीमा आएको छ। नोभेम्बर २७ देखि सोनी लिभमा स्ट्रिम भइरहेको यो फिल्म नीम करौली बाबाको जीवनबाट प्रेरित आध्यात्मिक बायोपिक ड्रामा हो।
करिब दुई करोड रुपैयाँको बजेटमा बनेको फिल्मले भारतमा ३४२.७४ करोड रुपैयाँ नेट कलेक्सन गरेको दाबी गरिएको छ ।
‘दृश्यम ३’
अजय देवगन स्टारर चर्चित फ्रेन्चाइज ‘दृश्यम ३’ पनि नोभेम्बर २७ देखि नेटफ्लिक्समा उपलब्ध भएको छ ।
सिनेमाघरमा राम्रो व्यापार गरेको यो फिल्मले भारतमा ३०० करोडको क्लबमा प्रवेश गरेको थियो। विश्वव्यापी रूपमा यसको कमाइ ५०० करोड रुपैयाँभन्दा बढी रहेको बताइएको छ।
‘ढाई चाल’
विद्यार्थी राजनीति र त्यससँग जोडिएको कथामा बनेको ड्रामा सिरिज ‘ढाई चाल’ नोभेम्बर २७ देखि जियो हॉटस्टारमा स्ट्रिम भइरहेको छ।
गगन अरोरा र आदिल खान मुख्य भूमिकामा रहेको सिरिज लेखक नवीन चौधरीका ‘जनता स्टोर’ र ‘ढाई चाल’ उपन्यासमा आधारित छ ।
‘द हन्चब्याक, सोल अफ पेरिस’
नोभेम्बर २७ देखि नेटफ्लिक्समा आएको ‘द हन्चब्याक, सोल अफ पेरिस’ लाई पनि वीकएन्डमा हेर्न सकिन्छ । जीन-फ्रान्स्वा रिशेको निर्देशन रहेको फिल्ममा भिन्सेन्ट क्यासेल, करिम लेक्लु र डाफ्ने पाटाकिया मुख्य भूमिकामा छन् ।
‘द हन्टिङ वाइव्स’ सिजन २
क्राइम ड्रामा र थ्रिलर मन पराउनेका लागि ‘द हन्टिङ वाइव्स’को दोस्रो सिजन विकल्प हुन सक्छ । नोभेम्बर २६ देखि नेटफ्लिक्समा उपलब्ध यो सिजनमा ब्रिटनी स्नो र मालिन एकरम्यान आफ्ना भूमिकामा फर्किएका छन् ।
‘द सोशल रेकनिङ’
अक्टोबर ९ मा सिनेमाघरमा रिलिज भएको थ्रिलर फिल्म ‘द सोशल रेकनिङ’ नोभेम्बर २४ देखि प्राइम भिडियोमा उपलब्ध छ । फिल्म हिन्दी र अंग्रेजी भाषामा हेर्न सकिन्छ ।
तर अहिले यो रेन्टमा मात्र उपलब्ध छ ।
त्यसबाहेक रोमान्टिक ड्रामा ‘कर्पोरेट लभ स्टोरी’ र मिस्ट्री थ्रिलर ‘अक्टोपस’ पनि जी५ मा स्ट्रिम भइरहेका छन् ।
प्रतिक्रिया 4