११ मंसिर, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट सेवाग्राहीलाई दु:ख तथा हैरानी दिएको आरोपमा प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार सेवाग्राहीलाई दु:ख हैरानी दिने गरेको भन्ने जनगुनासोका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई जिल्ला प्रशासन कार्यालय परिसरबाट नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा सिन्धुलीको सुनकोशी गाउँपालिका–२ घर भई भक्तपुरको सूर्यविनायक बस्ने ४२ वर्षीय कमल खड्का, झापाको गौरादह नगरपालिका–६ का ५० वर्षीय गोपालबहादुर बिष्ट र स्याङ्जाको भिरकोट नगरपालिका–५ घर भई काठमाडौंको सानो भर्याङ बस्ने ४६ वर्षीय देवप्रसाद अर्याल रहेका छन् ।
त्यस्तै, काठमाडौं महानगरपालिका–२९ अनामनगरका ५६ वर्षीय नरेन्द्रप्रसाद भण्डारी, ललितपुरको इमाडोलका ५७ वर्षीय ओमशरण राना मगर, काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–३ का ४८ वर्षीय रमेशप्रसाद पुडासैनी र तेह्रथुमको म्याङलुङ नगरपालिका–६ घर भई काठमाडौंको शंखमूल बस्ने ५७ वर्षीय स्वयमकृष्ण निरौला पनि पक्राउ परेका छन् ।
उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
प्रतिक्रिया 4