+
+

कलाकर्मीको अनुभव : ‘बाल्यकालकै दशैं अविस्मरणीय’

सुशील नेपाल सुशील नेपाल
२०७८ असोज २७ गते १०:२१

२७ असोज, काठमाडौं । दशैंको माहोलले प्रायलाई छोइसकेको छ । सर्वसाधारणदेखि कलाकारसम्म दशैंको माहोलमा छन् ।

कोरोनाका कारण पछिल्लो दुईवर्ष स्टेज कार्यक्रम, चलचित्रका गतिविधिहरू शून्यजस्तै भए । माहोल सामान्य बन्दै गएसँगै फाट्टफुट्ट दशैं लक्षित स्टेज कार्यक्रमहरु भएका छन् भने चलचित्रका गतिविधि फाट्टफुट्ट हुँदैछन् ।

यही छेकोमा परेको दशैं कलाकारहरूले कसरी मनाउँदैछन् ? केही कलाकारले आफ्नो दशैं योजना र अनुभव अनलाइनखबरसँग साटेका छन् ।

प्रमोद खरेल

गायक प्रमोद खरेलले गृहजिल्ला झापास्थित घरमै दशैं मनाउँदैछन् । कैलाली, चितवनमा दशैं विशेष सांगीतिक कार्यक्रममा प्रस्तुति दिएर उनी सोमबार झापा पुगिसकेका छन् ।

‘गतसाल दशैं मनाउन पाइएन । खासै रमाइलो भएन’ प्रमोदले अनलाइनखबरसँग भने – ‘यसपालि दशैं परिवारका साथ राम्रै तरिकाले मनाउने मुडमा छु ।’ यसवर्ष परिवारसँग दशैं मनाउने इच्छाले देश बाहिरबाट कार्यक्रमका लागि आएको अफर अस्वीकार गरेको उनले बताए ।

आमाबुबा, मान्यजनको हातबाट टीका लगाएर आशीर्वाद लिने, आफन्तसँग भेटघाट गरेर दशैं मनाउने प्रमोदले जानकारी दिए । मान्यजनबाट आशीर्वाद लिन पाइने, लामो समयपछि आफन्त, छिमेकीसँग भेटघाट हुन पाइने हुँदा रमाइलो हुने प्रमोद बताउँछन् ।

उनलाई रमाइलो लाग्ने दशैं भने बाल्यकालकै हो । उनले सुनाए, –‘सानोबेलाको दशैं नै अविस्मरणीय लाग्छ । दशैंमा लिङ्गे पिङ खेल्ने हुन्थ्यो, दशैंलाई भनेर लुगा किन्न बजार जाने भन्ने हुन्थ्यो । अहिले पिङ नै देखिँदैन । मेरो मामाघर आसाम हो । टे«न चढेर मामाघर जाँदाको रमाइलो छुट्टै हुन्थ्यो । आसाममा नेपालको भन्दा फरक वातावरण हुन्छ, यहाँभन्दा अझ बढी धुमधामले दशैं मनाउँछन् । दशैंमा मामाघरको माहोलमा छुट्टै रमाइलो हुन्थ्यो ।’

प्रमोदले बाल्यकालमा हुँदाको दशैंको अर्को किस्सा सुनाए ‘दशैंमा मामाघर जाँदा ओहो कत्रो भएछ फलानो, कति ठूलो भएछ भन्ने हुन्थ्यो । अहिले रातदिन इन्टरनेटमा देखिएको हुन्छ, त्यो उत्सुकता नै हुँदैन ।’

दशैंलाई खसी किन्ने, जंगल गएर रातो माटो ल्याएर लिप्ने, वा चुना ल्याएर लगाउने, लिङ्गे पिङका लागि जुट बाट्ने, ढिकीमा चिउरा कुट्दाको आवाज लगायत बाल्यकालको दशैंका धेरै यादहरु अहिले मिस हुने प्रमोदले बताए ।  ‘सानो उमेरमा दशैं मनाउँदाको त्यो रमाइलो अहिले धेरै मिस हुन्छ’ – उनले भने ।

दयाहाङ राई

अभिनेता दयाहाङ राई दशैं मनाउँदैनन् । आफूहरूकोमा दशैंमा परिवार, आफन्त भेला भएर टीका लगाउने, आशीर्वाद लिने–दिने नहुने दयाहाङले बताए । यद्यपि, दशैंको उमंगले भने छुने गरेको उनले बताए ।

अन्य समयमा काममा व्यस्त हुने उनलाई पारिवारिक भेटघाट, भलाकुसारी गर्ने मेलोमेसो यही समयमा मिल्छ । ‘अरूबेला कामले गर्दा बाहिर–बाहिर भइन्छ । दशैंमा अलिकति लामो छुट्टि हुने भएकाले परिवारसँग रमाउन पाइन्छ’ दयाहाङले सुनाए ।

दशैं दयाहाङका लागि साथीभाइसँग भेटघाट हुने समय पनि हो । दशैंमा लामो बिदा हुने हुँदा धेरै समयदेखि भेट हुन नपाएका साथीभाइसँग दशैंको समयमा भेटघाट हुने उनले बताए ।

दशैंमा अन्य योजनाहरु भने नभएको बताउँदै उनले भने ‘परिवारसँगै दशैंको समय बिताउँछु । केही साथीभाइसँग पनि भेटघाट हुन्छ ।’

स्वस्तिमा खड्का

यसवर्ष अभिनेत्री स्वस्तिमा खड्काले दशैं मनाउँदिनन् । आफन्त बितेका कारण आफ्नो परिवारले दशैं नमनाउने स्वस्तिमाले बताइन् । टीका नभएका कारण यसवर्ष धेरै उत्साह नरहेको पनि उनले बताइन् ।

‘यसवर्ष त्यस्तो केही योजना छैन । घर परिवारसँगै बसेर दशैं बिताउँछु’ स्वस्तिमाले भनिन् ।

स्वस्तिमालाई बाल्यकालको दशैं अविस्मरणीय लाग्छ । उनले भनिन् ‘दशैंमा स्कुल लामो बिदा हुने, नयाँ लुगा किन्ने, टीका लगाउन जाने, ठूलाबडाबाट पाउने दक्षिणा अहिले सम्झिँदा रमाइलो लाग्छ ।’

स्वस्तिमाको पुख्यौली घर रामेछाप हो । तर, उनी सानै उमेरदेखि काठमाडौंमा रहिन् । ‘कक्षा ७ मा पढ्दा दशैंमा परिवारले गाउँ लैजाउनुभएको थियो । सधैं काठमाडौंमा दशैं मनाइरहेको, पहिलोपटक गाउँ जाँदा निकै रमाइलो भएको थियो । त्यो दशैंको रमाइलो मलाई निकै याद आउँछ’ स्वस्तिमा भन्छिन् ।

कुलेन्द्र विश्वकर्मा

लोकदोहोरी गायक तथा मोडल कुलेन्द्र विश्वकर्मा परिवारसहित सोमबार नै गृहजिल्ला पर्वत पुगिसकेका छन् । आबाबुबा, आफन्तहरूसँग टीका लगाउने, गाउँमा साथीभाइसँग भेटघाट गरेर दशैं मनाउने उनले बताए ।

कुलेन्द्रलाई पनि यादगार रहने दशैं बाल्यकालकै हो । ‘बाल्यकालमा हुँदाको जस्तो दशैं अहिले त छैन । स्कुल लामो समय बिदा हुने, नयाँ लुगा लगाउन पाइने, मीठोमीठो खान पाइने, पिङ लेख्न पाइने भएकोले छुट्टै उत्साह हुन्थ्यो’ उनी भन्छन् ।

पहिले र अहिलेमा दशैंको रौनक नै घटेको उनको अनुभव छ । ‘बाल्यकालमा हुँदा दशैं आउनु एक–दुई महिना अगाडिदेखि उत्साह हुन्थ्यो । अहिलेको बच्चाहरूमा त्यो छैन ।’

अस्मिता अधिकारी

गायिका अस्मिता अधिकारीले यसवर्षको दशैं झापा र काठमााडौं दुवै ठाउँमा मनाउने बताउँछिन् । दशैंको टीकाअगाडि केही स्टेज कार्यक्रमहरुमा समेत उनले प्रस्तुति दिएकी छन् । आइतबार उदयपुरको गाईघाटमा सांगीतिक प्रस्तुति दिएकी अस्मिता मंगलबार सिमरा पुगेर स्रोता–दर्शकसँग रमाउनेछिन् ।

कार्यक्रमपछि उनी झापा र काठमाडौंमा टीका लगाएर दशैं मनाउने बताउँछिन् ।

‘झापामा पनि आफन्तहरु हुनुहुन्छ । काठमाडौंमा बुबाआमा, आफन्तहरु हुनुहुन्छ । त्यसैले दुवैतिर टीका लगाउँछु’ उनले भनिन् । दशैं आउनु केही समय अगाडिदेखि नै आफूमा छुट्टै हर्ष र उल्लास हुने अस्मिता बताउँछिन् । उनी पनि आफूलाई बाल्यकालको दशैं अझ बढी स्मरणमा आउने बताउँछिन् ।

सम्झना भण्डारी

लोकदोहोरी गायिका सम्झना भण्डारी गृहजिल्ला लमजुङस्थित घरमै दशैँ मनाउँदैछिन् । घरपरिवार, आफन्तको हातबाट टीका थाप्ने, आशीर्वाद लिनेर दशैं मनाउने योजनामा छिन् उनी । लमजुङमा परिवार, आफन्तकहाँ टीका लगाएपछि उनी स्याङ्जा जानेछिन् । ‘स्याङ्जामा बनाएको आमाबुबा हुनुहुन्छ । उहाँहरुसँग पनि दशैंको टीका थाप्नेछु’ सम्झनाले भनिन् ।

बाल्यकालमा हुँदा र अहिलेको दशैंमा धेरै फरक रहेको सम्झना बताउँछिन् । उनले भनिन्, ‘बाल्यकालको दशैमा धेरै रमाइलो हुन्थ्यो । दशैँ आयो भनेपछि छुट्टै खालको खुसी लाग्थ्यो । नयाँ कपडा लगाउन पाइन्छ । मामाघर जान पाइन्छ । टीका लगाएर धेरै दक्षिण कमाउन पाइन्छ भन्ने हुन्थ्यो ।’

अहिले भने परिवार, आफन्तहरु भेट्न पाइन्छ, मान्यजनबाट आशीर्वाद पाइन्छ भन्ने कुरालाई प्राथमिकतामा राखिने तर बाल्यकालको दशैंको रमाइलो स्मरणमा आइरहने उनको भनाइ छ । दशैंको टीकापछि भने केही स्टेज कार्यक्रमहरु रहेको उनले बताइन् ।

लेखकको बारेमा
सुशील नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?