७, कात्तिक, काठमाडौं । भारतीय कांग्रेसकी नेतृ प्रियंका गान्धी भद्राले जनतालाई दु:ख दिने काममा मोदी सरकारले कीर्तिमान रचेको टिप्पणी गरेकी छन् ।
केन्द्र सरकारले पेट्रोल र डिजेलको भाउ निरन्तर बढाएपछि प्रियंकाले मोदी सरकारको आलोचना गरेकी हुन् । आइतबार एक ट्विट गर्दै उनले जनतालाई दु:ख दिने काममा मोदी सरकारले कीर्तिमान रचेको उल्लेख गरेकी हुन् ।
‘सर्वसाधारणलाई दु:ख दिने काममा मोदीजीको सरकारले ठूलो कीर्तिमान बनाएको छ’, प्रियंकाले ट्विटरमा भनेकी छन्, ‘मोदी सरकारका पालामा बेरोजगारी सबैभन्दा धेरै छ, सरकारी सम्पत्ति बिक्री भइरहेको छ र पेट्रोलको भाउ एक वर्षमा हालसम्मकै धेरै दरले बढेको छ ।’
यो वर्ष अहिलेसम्मकै धेरै अर्थात् २३. ५३ रुपैयाँले पेट्रोलको भाउ बढेको समाचारलाई ट्याग गर्दै प्रियंकाले उक्त ट्विट गरेकी हुन् । कांग्रेसका मुख्य प्रवक्ता रणदीप सुर्जेवालाले समेत सोही समाचार ट्याग गर्दै मोदी सरकारप्रति व्यङ्ग्य गरेका छन् । उनले आफ्नो ट्विटमा ‘राम्रा दिन’ भन्दै मोदी सरकारमाथि कटाक्ष गरेका हुन् ।
भारतमा पछिल्ला चार दिनयता लगातार पेट्रोल र डिजेलको भाउ बढिरहेको छ । शनिबार प्रतिलिटर ३५ पैसा भाउ बढेको थियो । गत मे महिनायता पेट्रोलको समग्र मूल्यमा प्रतिलिटर ३६ भारु र डिजेलको मूल्य प्रतिलिटर २६. ५८ भारुले बढेको भारतीय समाचार माध्यमले जनाएका छन् । दुबै इन्धनमाथिको कर अहिलेसम्मकै उच्च विन्दुमा पुगेपछि भाउ आकाशिएको हो ।
राज्यको स्वामित्वमा रहेका बिक्रेताले जारी गरेको पछिल्लो सूचना अनुसार राजधानी नयाँ दिल्लीमा हाल पेट्रोलको भाउ प्रतिलिटर १०७.२४ र डिजेलको भाउ प्रतिलिटर ९५. ९७ भारु कायम गरिएको छ ।
प्रतिक्रिया 4