+
+

क्यानडाको भान्कुभरमा आँधी, हजारौंले घर छोडे

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १ गते ११:३८

१ मंसिर, काठमाडौं । क्यानडाको भान्कुभरमा भीषण आँधी आएको छ । अधिकारीहरूले सडक र रेलमार्ग विच्छेद गरेको उक्त आँधीलाई ‘शताब्दीमा एक पटक हुने मौसमी घटना’ भनेका छन् ।

आँधीपछिको बाढीबाट क्षति पुगेपछि पश्चिमी तटमा रहेको भान्कुभरसम्म जाने २ वटा सडकमार्ग बन्द गरिएको बीबीसीले जनाएको छ । सोमबार आएको आँधीका कारण हजारौं मानिस आफ्नो घर छोड्न बाध्य भएको समाचारमा उल्लेख छ ।

सोमबार भान्कुभरबाट १२० माइलमा अवस्थित मेरिटका ७ हजार बासिन्दालाई घर छोडेर अन्यत्र जान भनिएको थियो । वर्षा र हावाहुरी मंगलबार अपरान्हसम्म रोकिएको भए पनि कैयौं मानिसहरू अझै अलपत्र परिरहेका छन् ।

सडकमार्गमा आएको पहिरोमा परी एक महिलाको मृत्यु भएको र कम्तिमा २ जना हराइरहेको उद्दारकर्ताले बताएका छन् । क्यानाडाको प्रहरीले भान्कुभरबाट २५० किलोमिटर टाढा रहेको लिलोइटमा एक महिलाको शव भेटिएको बताएको छ ।

आँधीपछि भान्कुभरलाई बाँकी मुलुकसँग जोड्ने ट्रान्स क्यानाडा हाइवे जलमग्न भएको थियो । त्यस्तै, कोकिहाला हाइवेको एक खण्डमा बाढीले क्षति पुर्‍याएको छ ।

लिलोइटको दक्षिणी भागमा रोकिइरहेका सवारी साधनमाथि पहिरो खसेको चालक क्याथी रेन्नीले सीबीसी समाचार माध्यमसँग बताइन् । ‘हामीहरू आफ्नो साधनमा चढ्नेबित्तिकै हाम्रा अगाडि रहेका मानिसहरू चिच्याउँदै भागिरहेका थिए’, उनले भनिन् । पहिरोमा परी के-कति सवारी साधन पुरिए भनेर उद्दारकर्ताले अझैसम्म यकीन गर्न सकेका छैनन् ।

यसैबीच, प्रधानमन्त्री जस्टिन ट्रुडोले ओटावामा पत्रकारसँग बोल्दै अवस्थालाई निगरानी गरिरहेको बताएका छन् । ‘कुनै पनि तरिका, स्वरुप वा माध्यमबाट सहयोग गर्ने छौं’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?