
१२ पुस, काठमाडौं । जापानमा भीषण हिमपात भएको छ । हिमपातपछि कैयौं सडक र रेलमार्ग अवरुद्ध भएका छन् ।
सोमबार मध्य जापानमा भएको हिमपातपछि सडकमा ट्राफिक जाम भएको छ भने कैयौं उडान रद्द भएका छन् । त्यस्तै, हिमपातबाट प्रभावित क्षेत्रमा विद्युत अवरुद्ध हुँदा ३ हजार २ सयभन्दा बढी परिवार प्रभावित भएका छन् ।
अधिकारीहरूले सोमबार राति समेत थप हिमपात हुने चेतावनी दिएका छन् । तर चिसोका कारण हालसम्म कसैको मृत्यु नभएको जापान सरकारका प्रवक्ता हिरोकाजु मातसुनोले बताए ।
‘शक्तिशाली हिउँदै चापका कारण भीषण हिमपात भइरहेको छु’, मातसुनोले भने, ‘भोलि समेत हिमपात हुन सक्ने हुँदा सावधानी एवं सजगता अपनाउन आवश्यक छ ।’
विशेष गरी पूर्वी तथा पश्चिमी क्षेत्रमा हिमपात भएको र कुनै-कुनै स्थानमा हालसम्मकै धेरै हिमपात रेकर्ड गरिएको उनको भनाइ छ ।
अलपत्र परेका सवारी साधनका कारण शिगा क्षेत्रको प्रमुख सडकमार्ग बन्द गरिएको पनि मातसुनोले बताए । हिमपातका कारण सडक तथा रेलमार्ग हिउँले ढाकिँदा यात्रुहरू अलपत्र परेका छन् ।
हिमपातका कारण आइतबार झण्डै १३० वटा आन्तरिक उडान रद्द गरिएको थियो । सोमबार पनि ५० वटा उडान रद्द हुन सक्ने जापानको एनएचके समाचार माध्यमले जनाएको छ ।
प्रतिक्रिया 4