+
+

जेठको दोस्रो साता कक्षा १२ को परीक्षा गर्ने बोर्डको तयारी

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २० गते १८:२९

२० फागुन, काठमाडौं । कक्षा १२ को परीक्षा जेठको दोस्रो हप्तादेखि सञ्चालन गर्न राष्ट्रिय परीक्षा बोर्डले तयारी गरेको छ ।

आगामी शैक्षिक सत्र असर नपर्ने गरी परीक्षा सञ्चालन तथा नतिजा प्रकाशन गर्ने गरी तयारी भइरहेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । उनले भने,‘जेठको दोस्रो हप्तादेखि परीक्षा सञ्चालन गर्ने लाइनमा छौं । आगामी शैक्षिक सत्रलाई असर नपर्ने गरी तयारी भइरहेको छ ।’ बोर्डले छिट्टै परीक्षाको समय तालिका सार्वजनिक गर्ने जनाएको छ ।

बोर्डले यस वर्ष पनि कक्षा १२ को प्रश्नपत्र भने अनलाइनबाट नै पठाउने तयारी गरेको छ । कोभिड-१९ को कारण बोर्डले गत वर्षदेखि प्रश्नपत्र अनलाइनमार्फत् पठाउन थालेको हो । गत वर्ष अनलाइनबाट प्रश्नपत्र पठाउँदा भएको समस्या सुधार्दै प्रश्न पत्र पठाउने तयारी गरेको बोर्डले जनाएको छ ।

विगतका वर्षहरूमा जस्तै परीक्षा केन्द्र तोकेर परीक्षा सञ्चालन हुनेछ । बोर्डका अध्यक्ष शर्माले भने, ‘हामीले विगतका वर्षहरूमा जस्तै परीक्षा केन्द्र तोकेर परीक्षा सञ्चालन गर्छौं । परीक्षा केन्द्र तोक्दा सकेसम्म विद्यार्थी डेरामा बसेर दिनुपर्ने अवस्था आउन नदिने हाम्रो तयारी छ ।’

यस वर्षको कक्षा १२ को परीक्षामा करिब ४ लाख विद्यार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?