
२४ साउन, काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद सोमप्रसाद पाण्डेले आफ्नो पार्टीले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन खेलेको भूमिकाको मूल्यांकन गरेर आगामी निर्वाचनको सिट बाँडफाँट हुनुपर्ने बताएका छन् ।
मंगलबार संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै उनले सिट बाँडफाँट गर्दा वर्तमान सरकार गठनका लागि आफूहरुले खेलेको भूमिकाको कदर गर्नुपर्ने बताएका हुन् ।
एकीकृत समाजवादीले सहयोग नगरेको भए देउवा प्रधानमन्त्री बन्न सक्ने स्थिति नै नरहेको पनि सांसद पाण्डेले बताए । ‘शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउँदा माधव नेपालको पार्टीले गरेको सहयोगको पनि मूल्यांकन हुनुपर्छ । गठबन्धनलाई यहाँसम्म पु¥याउने कुराको पनि मूल्यांकन गरेर सिट बाँडफाँट हुनुपर्छ’ उनले भने ।
सिट बाँडफाँटमा सुरुमा वादविवाद भए पनि सहमति जुट्ने पनि सांसद पाण्डेले बताए । ‘आफ्नो आफ्नो पार्टीको जोडबल त रहन्छ नै, जुन उद्देश्य र समयको आवश्यकतालाई पूरा गर्ने गरेर गठबन्धन गरेका थियौं, गठबन्धनभित्र रहेका दलमा आपसी समझदारी हुन्छ’ उनले भने, ‘सबैले आफ्नो अडान लिएर बस्ने खालको अवस्था पनि रहँदैन ।’
प्रतिक्रिया 4