+

मुखको क्यान्सरको कारण र उपचार

२०८० असोज  २ गते १७:१७ २०८० असोज २ गते १७:१७
मुखको क्यान्सरको कारण र उपचार

मुखको क्यान्सर हुनुमा सुर्तीजन्य पदार्थ मुख्य कारणमा पर्छ । चुरोट, बिंडी, हुक्का, तम्बाकु, गुट्खा, पानको धेरै सेवन गर्ने मानिसमा मुखको क्यान्सर हुने जोखिम धेरै हुन्छ ।

सुर्तीजन्य पदार्थमा निकोटिन, चुनालगायत तीन हजारभन्दा बढी हानिकारक रसायन मिसाइएको हुने विभिन्न अनुसन्धानले देखाएका छन् । सुतीजन्य पदार्थको सेवनले मुख, घाँटी र फोक्सोको क्यान्सर हुने सम्भावना हुन्छ भने यसले मुटु, कलेजो, मिर्गौला, आन्द्रा र मस्तिष्कमा पनि असर गर्छ ।

गुट्खा र पानले पनि मुखमा प्रत्यक्ष असर गर्छ । यसमा पनि निकोटिन, चुना, कठ्ठा, पोलिहाइड्रो कार्बन जस्ता थुप्रै हानिकारक तत्व मिसाएको हुन्छ । जुन घुलनशील हुन्छन् यो रगतमा मिसिएर शरीरमा फैलिन गर्छ ।

जुन लगातार सेवन गर्दा मुखभित्र हुने म्युकस मेम्बे्रन (पातलो झिल्ली) घाउ हुने वा फाट्ने हुन्छ । यसैलाई शरीरले निको बनाउने काम गर्छ । यही प्रक्रिया हुँदा अनियन्त्रित रुपमा कोषहरु वृद्धि हुन्छन् । त्यसैलाई क्यान्सर भनिन्छ ।

लक्षण

निको नहुने घाउ आउने, मुखमा सेतो वा रातो दागहरु आउने, मुख खोल्न असहज हुने, खाना खान र निल्न गाह्रो हुने, जिब्रोले स्वाद थाहा नपाउने, निद्रा नलाग्ने, चिडचिडापन हुने जस्ता समस्या मुखको क्यान्सरका लक्षण हुन् ।

क्यान्सर हुनुभन्दा पहिला अर्थात् मेडिकल भाषामा एरिथ्रोप्लाकियालाई मुखको पूर्वक्यान्सर अवस्था मानिन्छ । यसबेला बिरामीले सुर्तीजन्य पदार्थ छोडेमा सामान्य अवस्थामा आउन सक्छ । तर वर्षौंसम्म खाइराखेमा म्युकस मेम्ब्रेन पूर्ण रुपमा क्षति हुन्छ । यसलाई मेडिकल भाषामा ल्युकोप्लाकिया भनिन्छ । यो अवस्थामा जिब्रो, गिजा वा गालाको भित्री भागमा सेतो दाग आउने गर्छ । जुन कोट्याएर निकाल्न मिल्दैन । पछि गएर त्यही क्यान्सरको रुपमा परिणत हुने गर्छ । यदि मुखमा सेतो दाग देखेमा चिकित्सकलाई जँचाइहाल्नुपर्छ ।

केके जाँच गर्ने ?

लामो समय निको नभएको घाउले क्यान्सर गराइसकेको छ कि छैन भनेर थाहा पाउन बायोप्सी गरेर हेरिन्छ । त्यसपछि शल्यक्रिया गरिन्छ । त्यसपछि फेरि आउन नदिन रेडियोथेरापी अर्थात् विकिरणको सेकाइ गरिन्छ । रोगको अवस्था हेरेर आवश्यकताअनुसार एक्सरे, सिटिस्क्यान र एमआरआई गरिन्छ ।

उपचार

रोगको अवस्था, बिरामीको स्थिति र चरणको आधारमा उपचारका विभिन्न विधि प्रयोग गरिन्छ । पहिलो चरणको क्यान्सरको निदान हुने सम्भावना धेरै हुन्छ । जसको उपचार शल्यक्रिया वा रेडियोथेरापीबाट गरिन्छ । धेरै फैलिएको अवस्थामा क्यान्सरको शल्यक्रियापछि रेडियोथेरापी वा किमोथेरापी छनोट गर्नुपर्छ ।

रोकथाम

मुखमा घाउ, खटिरा, दाग आएमा हेलचेक्र्याइँ नगरी उपचार गर्ने, सुर्तीजन्य पदार्थ र मद्यपान नगर्ने, संक्रमण भएको अवस्थामा समयमा उपचार गर्नुपर्छ । त्यस्तै बेलाबेलामा मुख कुल्ला गर्ने, सकेसम्म मुखको सफाइ गर्न सकिन्छ । सकेसम्म वर्षको एकचोटि स्वास्थ्य जाँच गरिराख्नुपर्छ । त्यस्तै यसलाई छुट्याउन चुइगमको पनि प्रयोग गर्न सकिन्छ । यसका लागि भक्तपुर क्यान्सर अस्पतालमा सम्पर्क गर्न सकिन्छ । जुन अहिले भक्तपुर क्यान्सर अस्पतालमा उपलब्ध छ ।

बढी जोखिम ?

यो महिलाको तुलनामा पुरुषमा बढी देखिन्छ । अस्पतालमा देखिने करिब ८० प्रतिशत मुखको क्यान्सरको कारण सुर्तीजन्य पदार्थ पाइएको छ । यो यति नै उमेरसमूहलाई लक्षित गर्न मिल्दैन । तर धेरैजसो ४० देखि ५० वर्षको उमेरसमूहमा बढी देखिन्छ ।

(क्यान्सररोग विशेषज्ञ डा. चालिसे भक्तपुर क्यान्सर अस्पतालमा कार्यरत छन् । उनीसँग अनलाइनखबरकर्मी रेणु त्वानाबासुले गरेको कुराकानीमा आधारित)

तस्वीर, भिडियो : विकास श्रेष्ठ/अनलाइनखबर

डा. उज्ज्वल चालिसे
लेखक
डा. उज्ज्वल चालिसे
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय