+
+
Shares

सेन्सर बोर्डका कर्मचारीले काजु किनेर ल्याउन भनेपछि हरिवंशको गुनासो

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २१ गते १७:१५

काठमाडौं । तपाईं फिल्म निर्माता तथा वितरक हुनुहुन्छ भने नेपालको फिल्म सेन्सर बोर्डले दिने हैरानीको कुरा नौलो होइन । फिल्म काँटछाँट, अभिव्यक्ति स्वतन्त्रताको मुद्दा मात्र होइन, नेपालको केन्द्रीय चलचित्र जाँच समिति कर्मचारीको व्यवस्थापन र आनीबानीको कुराले पनि विवादमा पर्दै आएको छ ।

केही वर्षअघि सेन्सर बोर्डका कर्मचारीले निर्मातालाई ‘चिकेन रोस्ट’ मगाएको कुराले चर्चा पाएको थियो । खाजाको कुरालाई लिएर समेत सेन्सर बोर्ड विवादमा आउने गरेको छ । निर्माताले पटक पटक बोर्डसमक्ष यो कुराको गुनासो गर्दै आएका छन् ।

यतिबेला भने अभिनेता हरिवंश आचार्यले यस्तै भोग्नुपरेको छ । एक युट्युब अन्तर्वार्तामा आचार्यले आफू अभिनित फिल्मको जाँच गर्दाको हैरानीको किस्सा सुनाए । सेन्सर गर्ने क्रममा एक महिला कर्मचारीले आफूलाई काजु किनेर ल्याउन भनेको कुरा हरिवंशले बताएका छन् ।

‘एकपटक मैले खाजा लिएर गएँ । एकजना महिला हुनुहुन्थ्यो त्यतिबेला । उहाँले मेरो व्रत छ मलाई काजु किनेर ल्याइदिनुस भन्नुभयो मलाई’ हरिवंशले सम्झिए ।

उनले अघि भने, ‘मलाई कस्तो चित्त दुख्यो कि है, म त फिल्म बनाउने मान्छे हो । म त आर्टिस्ट हो । मैले के भनेँ भने- म तपाईंको काजु किन्न आएको मान्छे हैन । तपाईंलाई पैसा दिन्छु, तपाईं आफै काजु किन्नुस भनेर भनेको थिएँ ।’

उनले खाजाको नाममा निर्मातालाई झन्झट दिने आर्थिक बोझ थोपर्ने प्रवृत्तिप्रति असन्तुष्टि जनाए । ‘खाजा किनेर ल्याऊ, यस्तो गर्देऊ भन्ने भएन कि । हामी रेस्टुरेन्टमा गएर, बियर खाएर सेन्सर गरौं कि । तर, त्यो ठाउँमा खाजा किनेर ल्याऊ भन्नु चाहिँ हुँदैन ।’

‘त्यसपछि त्यहाँ खाजा खाने प्रथा बन्द भएको थियो । अहिले फेरि सुरु भएछ’ उनले भने । उनले सरकार र बोर्डसँग निर्मातालाई खाजा किनेर ल्याऊ भनेर अह्राउने कार्य बन्द गर्न आग्रह गरे ।

‘सरकार र बोर्डलाई आग्रह- खाजा किनेर ल्याऊ, यस्तो गर्देऊ भन्न भएन । हामी रेस्टुरेन्टमा गएर सेन्सर गरौं कि, बियर खाएर गरौं कि । त्यो ठाउँमा खाजा किनेर ल्याऊ भन्न भएन । अफिसमै १ देखि २ बजेसम्म खाजा खाने समय हुन्छ’ उनले भने । उनले आगामी फिल्म ‘हरिबहादुरको जुत्ता’को सेन्सर गर्ने क्रममा दुःख पाउने हो कि भनेर चिन्ता समेत व्यक्त गरेका छन् । सेन्सर बोर्डका सदस्यले फिल्म हेरेबापत भत्ता समेत पाउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?