 
																			प्रविधिको तीव्र विकाससँगै मानिसहरूमा दिनप्रतिदिन कृत्रिम बुद्धिमत्ता अर्थात् एआई आधारित प्रविधिको प्रयोग बढिरहेको छ । त्यसमध्ये विश्वभर सबैभन्दा लोकप्रिय च्याटबटको रुपमा रहेको च्याट जिपिटीले हाम्रो जीवनशैलीमा नयाँ ढंगले प्रभाव पार्न तथा अन्तरक्रिया गर्न थालेको छ । तर कहिलेकाहीँ यससँगको अन्तरक्रियाले हाम्रो व्यक्तिगत गोपनीयता जोखिममा पार्न सक्ने चेतावनी विज्ञहरूले दिँदै आएका छन्।
च्याट जिपिटी : एआई हो तर पूर्ण सुरक्षा छैन
ओपन एआईद्वारा विकास गरिएको च्याट जिपिटी एक प्रकारको जेनेरेटिभ भाषा मोडेल हो । यसले प्रयोगकर्ताको प्रश्नको उत्तर स्वतः तयार पार्छ। यसले सामान्य ज्ञान, लेख, कथा, गीत, योजना, कानुनी सुझाव, स्वास्थ्य टिप्स आदि अनेक विषयमा सटिक जवाफ दिन सक्छ। तर, यो कुनै विवेकी मानिस होइन, न कुनै प्रमाणित डाक्टर वा वकिल। त्यसैले यससँगको अन्तरक्रियामा सधै सजगता अपनाउनु आवश्यक छ।
च्याट जिपिटीसँग कस्ता जानकारी शेयर गर्नु हुँदैन ?
१. व्यक्तिगत विवरणहरू : आफ्नो नाम, ठेगाना, मोबाइल नम्बर, पासपोर्ट नम्बर, नागरिकता, तथा अन्य परियचपत्रको विवरण, इमेल ठेगाना, जन्म मिति आदि गोप्य विवरण च्याट जिपिटीमा कहिल्यै पनि लेख्नु हुँदैन। च्याटबटमा शेयर गरिने यस्ता निजी जानकारीहरू अनधिकृत रुपमा गलत हातमा पुग्ने र व्यक्तिको पहिचान दुरुपयोग हुन सक्छ।
२. पासवर्ड वा लगइन विवरण : बैंक खाताको पासवर्ड, इमेल वा फेसबुक लगइन, टू फ्याक्टर अथेन्टिकेसन कोड जस्ता विवरणहरू एआई सिस्टममा राख्दा सर्भरमा स्टोर हुन सक्ने सम्भावना रहन्छ, जुन साइबर सुरक्षाको दृष्टिले घातक हुन सक्छ।
३. आधिकारिक वा व्यावसायिक गोप्य सूचना : यदि तपाईं कुनै निजी संस्था, बैंक वा सरकारी निकायमा कार्यरत हुनुहुन्छ भने कम्पनीको रणनीति, ग्राहकको तथ्यांक, गोप्य प्रतिवेदन तथा भविष्यको परियोजना योजना जस्ता दस्तावेजहरु एआई च्याटबटसँग शेयर गर्नु हुँदैन । यसो गर्दा कम्पनीको व्यापारिक जासुसी हुने वा सूचना चुहावटको खतरा रहन्छ ।
४. स्वास्थ्यसम्बन्धी संवेदनशील जानकारी : एआईले सामान्य स्वास्थ्य टिप्स दिन सक्छ तर मेडिकल रिपोर्ट, मनोवैज्ञानिक अवस्था, औषधि प्रयोगको इतिहास, मानसिक समस्याका विस्तृत विवरण जस्ता विषय च्याट जिपिटीमा शेयर गरेर त्यसले दिने सुझावमा भर पर्नु हुँदैन । यस्ता विषयहरूमा वास्तविक चिकित्सक वा मनोचिकित्सकको सल्लाह लिनु उपयुक्त हुन्छ।
५. कानुनी विवाद वा संवेदनशील मामिला : च्याट जिपिटीलेले कानुनी प्रक्रियाबारे सामान्य जानकारी दिन सक्छ, तर मुद्दा विवरण, अदालतको पत्र, कानुनी सल्लाह वा मिसिल जस्ता संवेदनशील जानकारी यससँग शेयर गर्दा तपाईंको कानुनी गोपनीयता तथा स्थितिमा समस्या उत्पन्न हुनसक्छ.
६. भविष्य योजनाहरू र रणनीति : व्यक्तिगत, पारिवारिक वा व्यावसायिक योजना (जस्तैः नयाँ कम्पनीको अवधारणा, नवप्रवर्तनशील परियोजना तथा लगानी रणनीति आदि) पनि गोप्य राख्नुपर्छ। सार्वजनिक प्लेटफर्ममा यस्ता विचार चुहिदा आफ्नो प्रतिस्पर्धात्मक लाभ गुम्न सक्छ।
इन्टरनेट प्रयोगमा विशेष ध्यान दिनुपर्ने कुरा
- स्मार्टवाच, फोन तथा ल्यापटप प्रयोग गर्दा सार्वजनिक वाइफाइमा च्याट जिपिटी प्रयोग नगर्नुहोस्
- सधैं दुई तहको प्रमाणीकरण ‘टु फ्याक्टर अथेन्टिकेसन’ राख्नुहोस्
- बालबालिकालाई एआई प्रयोग गराउँदा अभिभावकले आवश्यक निगरानी गर्नुहोस्
- च्याट जिपिटीबाट शंकास्पद जवाफ आएमा प्रमाणिक स्रोतबाट पुष्टि गर्नुहोस्
वास्तवमा कृत्रिम बुद्धिमत्ता अर्थात् एआई शक्तिशाली प्रविधि हो, तर यसको प्रयोग सीमित र जिम्मेवारीपूर्वक गर्नु पर्दछ । यसले लेख लेख्न सक्छ, गणना गर्न सक्छ र सुझाव दिन सक्छ। तर, आवश्यक निर्णय लिने कुरा प्रयोगकर्ताकै विवेकमा भर पर्छ। च्याट जिपिटी भनेको सहायक हो, सल्लाहकार होइन । त्यसैले गोप्य वा संवेदनशील कुरा यससँग कहिल्यै बाँड्नु हुँदैन ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                %20-%20Copy.jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4