
News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंको टोखामा विष्णुमति खोलाको बाढीले बगेको कारबाट एक महिलालाई प्रहरी र स्थानीयले सुरक्षित उद्धार गरे।
- उद्धार गरिएकी महिला भावना ओली हुन् ।
- अंकुश सिंहले चलाएको कार खोलामा खसेको थियो ।
१२ असार, काठमाडौं । काठमाडौंको टोखामा विष्णुमति खोलाको बाढीमा कारसहित बगेकी एक महिलाको सकुशल उद्धार भएको छ ।
ग्राण्डी हस्पिटल नजिकबाट खोलाले बगाएको कारभित्र रहेकी दाङ तुलसीपुर घर भई हाल टोखा बस्ने ३४ वर्षीया भावना ओलीलाई बानियाटार पुल नजिकबाट नेपाल प्रहरी र स्थानीयले सकुशल उद्धार गरेका हुन् ।
बाग्मती प्रदेश ०३१ च ६१४१ नम्बरको उक्त ईभी कार गएराति करिब १० बजे खोलामा बसेर बाढीमा बगेको थियो ।
उक्त कार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर–१ घर भई हाल काठमाडौंको धुम्बाराही बस्ने ३५ वर्षीय अंकुश सिंहले चलाएका थिए । उनी तत्काल गाडीबाट खोला किनारामा हाम फालेका थिए ।
तर गाडी भित्र रहेकी ओली गाडीसहित बगिरहेको देखेपछि प्रहरीले पछ्याएको थियो । सो कार बग्दै बानियाटार पुलमा आएर अड्किएपछि ३ प्रहरी र २ स्थानीय गरी जम्मा पाँच जनाले उद्धार गरेका काठमाडौं प्रहरी परिसरका प्रवक्ता अपिलराज बोहराले जानकारी दिए ।
उद्धार गरिएकी महिला र उद्धारको क्रममा घाइते भएका व्यक्तिहरुको बसुन्धरास्थित ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य छ ।
उद्धार कार्यमा प्रहरी हबल्दार उमेश कुमार लोहनी, प्रहरी सहायक हबल्दार समिर विक, प्रहरी जवान सुमन थापा, लम्जुङ घर भई टोखा बस्ने १९ वर्षीय अर्जुन गुरुङ र २९ वर्षीय राजु तामाङ संलग्न थिए । अर्जुनको खुट्टामा र राजुको हातमा सामान्य चोट लागेको छ ।
उद्धार कार्यमा प्रहरी नायव उपरीक्षक निरन्जन थापाको कमाण्डमा २० जना र विपद व्यवस्थापन प्रहरी कार्यालयबाट २५ जनाको टोली पनि परिचालित भएको थियो ।
खोलामा बगेको कारलाई राति पौने १२ बजेतिर क्रेनको सहायताले बाहिर निकालिएको थियो । सो कारलाई प्रहरी प्रभाग नयाँ बसपार्कमा राखिएको छ ।
प्रतिक्रिया 4