
१३ असार, काठमाडौं । केही दिनयता राति–राति वर्षा भइरहेको छ । दिनभर चर्को घाम लाग्ने अनि रातिमा मात्र पानी पर्ने कारण के होला ?
मौसमविद गोविन्द झा भन्छन्, ‘मनसुनको विशेषता नै यस्तो हो । मनसुनको बेला दिउँसोको तुलनामा रातिमा बढी पानी पर्छ । त्यसैले यसलाई सामान्य रुपमा लिनुपर्छ ।’
नेपालमा मनसुन गत जेठ १५ गते भित्रिएको थियो । कोशी प्रदेशबाट भित्रिएको मनसुन २३ औं दिनमा सुदूरपश्चिमसम्मै फैलिएको थियो । तर मनसुन अहिले धेरै सक्रिय भने छैन । यद्यपि एक–दुई स्थानमा राम्रै पानी परिरहेको छ ।
गएराति पनि कास्कीको लुम्ले र लमजुङको खुदीबजार लगायत स्थानमा भारी वर्षा भएको थियो । काठमाडौंमा पनि राम्रै पानी पर्दा बागमती, विष्णुमती र धोबी खोलामा बाढी आएपछि सतर्क रहन अनुरोध गर्दै मौसम विज्ञान विभागले एसएमएस पठाएको थियो ।
मौसमविद झाका अनुसार तराई मधेश बाहेक अन्य प्रदेशमा भने बेला–बेला राम्रै पानी परिरहेको छ ।
विकास हुँदैछ न्यूनचापीय रेखा
अहिले बङ्गालको खाडी र दक्षिण भारतमा बलियो न्यूनचापीय प्रणाली बनिनसकेकाले पनि मनसुन केही कमजोर देखिएको हो । तर अबका केही दिनभित्रै मनसुन सक्रिय हुने सम्भावना रहेकाले तराई मधेशका जिल्लामा पनि राम्रै पानी पर्ने मौसमविद झा बताउँछन् ।
‘मनसुन वेल अर्गनाइज्ड हुँदैछ । मनसुनको न्यूनचापीय रेखा पनि विस्तारै डेभलप हुँदै गएको देखिएको छ, त्यसको पोजिसन अनुसार कता धेरै पानी पर्ने भन्ने थाहा हुन्छ,’ मौसमविद झाले भने, ‘अहिलेसम्मको अवस्था हेर्दा सबैतिर छिट्टै राम्रै खालको वर्षा हुने दिन आउँदैछ ।’
मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । आज दिउँसो देशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि साधारणतया बदली रहने छ ।
दिउँसो गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा र बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
त्यस्तै गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेशलगायत कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । राति कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
राति भने कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।
प्रतिक्रिया 4