
एक समय थियो- उनी बिहान खेत जान्थे। दिउँसो मान्द्रो बोकेर स्कूल पुग्थे। साँझ डोको बुन्थे। जातीय भेदभावको गहिरो छायाले गाउँको साझा चउरमा बस्न समेत नदिने समाजमा उनका लागि स्कूल जान पाउनु चमत्कार जस्तै थियो।
कलाकार बन्ने सपना त त्यतिबेला अपराध जस्तै लाग्थ्यो। तर जीवनले उनलाई त्यो सपना मेट्न दिएन। बरु, कठोर संघर्षले हिम्मत र मनोबललाई थप मजबुत बनायो। बागलुङ नारायणस्थानको दलित बस्तीबाट शुरू भएको उनको यात्रा कहिल्यै सामान्य थिएन।
त्यो यात्रा आज लन्डनका गल्ली, भियनाका ग्यालरी, दिल्लीका संग्रहालय, कोपनहेगनका प्रदर्शनी, द हेगका कला केन्द्र, शेफिल्डका विश्वविद्यालय हुँदै न्यूयोर्कको विश्वव्यापी कला मञ्चसम्म पुगेको छ।
यी संघर्ष र संवेदनशीलताबाट जन्मिएका कलाकार हुन् मनिष हरिजन, जसले जातीय भेदभाव र सामाजिक अन्यायलाई आफ्नो कलामा उजागर गर्दै विश्वसामु नेपाली दलित आवाजका रूपमा स्थापित गरेका छन्।
बागलुङ नगरपालिका-१४, नारायणस्थानमा जन्मिएका थिए मनिष- दलित समुदायको सार्की परिवारमा। परिवारको जीविका बुबाको हली काम र डोको-नाम्लो बुनेर चल्थ्यो। त्यही जीवनशैली उनका लागि नियति जस्तै ठानिएको थियो। स्कूल जानु सपना मात्रै थियो, अनि कलाको कुरा दूरदराजको आवाज झैं।
‘बुबा आफैंले स्कूल देख्नुभएको थिएन, मलाई पनि त्यही बाटोमा अघि बढाउन खोजिन्थ्यो’ उनी सम्झन्छन्, ‘तर गाउँकै साथीले कर गरेर मलाई स्कूल पुर्यायो।’
मनिषले ८ वर्षको उमेरमा औपचारिक शिक्षा शुरु गरे, त्यो पनि दलित लक्षित समाजसेवीले खोलिदिएको स्थानीय विद्यालयबाट। पाँच कक्षा पढेपछि उनले जनता धन माध्यमिक विद्यालयमा भर्ना लिए- जहाँ दलित विद्यार्थीहरू गन्न सकिने थिए। ‘मान्द्रो बोकेर स्कूल जान्थ्यौं’ उनी भन्छन्, ‘साझा चउरमा बस्न पनि छुट्टै मान्छेको थलो चाहिन्थ्यो।’
पढाइसँगै बाल्यकालदेखि नै उनी कालीमाटीको मूर्ति बनाउने र चित्र कोर्थे। सात कक्षा पढ्दा एकदिन आमासँग रोएर रङ किनाए, र पहिलोपटक चित्र रंग्याए। स्कूलको प्रदर्शनीमा जाने रहर अधुरै रह्यो- किनकि स्कूलले ठूला कक्षाका केही विद्यार्थीलाई मात्रै लग्यो। त्यहाँ जान नपाउँदाको पीडाले भित्रैबाट पोल्यो, र चित्रकला उनको जीवनमा गहिरिंदै गयो।
पारिवारिक बाध्यता पनि उस्तै थियो। मनिष १३ वर्षकै उमेरमा अरूको घरमा हली बसे। पढाइ र खेत सँगै चलाउनुपर्थ्यो। दाजुभाइ कतार र साउदीमा रोजगारीका लागि गइसकेका थिए। १३ वर्षमै बुबा गुमाए, ३ वर्षपछि आमा पनि गुमाए। जिम्मेवारी झनै ठूलो भयो, पढाइ ओझेल पर्यो।
एसएलसी : तीन पटक आँसु, चौथो पटक गर्व
तीन पटक एसएलसी परीक्षा असफल भएपछि मनिषको आत्मबल निकै कमजोर भयो। मनभित्र गहिरो निराशा थियो। ‘अब मबाट पढाइ हुँदैन’ भन्ने सोचले थकाएको थियो। त्यो अवस्थामा उनी कामको खोजीमा पोखरा लागे, मनमा सानो आशाको त्यान्द्रो बोकेर।
मनिषले पोखराको आर्ट ग्यालरी, स्टुडियो र लेकसाइडका रंगीन सडकहरूमा एक महिना बिताए। तर जहाँ गए, एउटै जवाफ पाए– ‘भोलि आऊ।’ जस-जससँग आशा राखे, सबैले ढोका बन्द गरे। न पढाइको बाटो खुलेको थियो, न रोजगारीको। निराशाले भित्रभित्रै जरा गाडेको थियो।
लेकसाइडको रमाइलो वातावरणमा उनी घण्टौंसम्म मुहारचित्र हेरेर उभिन्थे। अनि, आफैंसँग सोध्थे, ‘कहिले म यस्ता चित्र बनाउन सक्छु ?’ अवसरले उनको ढोका ढक्ढकाएको थिएन। निराश हुँदै आत्मसमीक्षा गरे, ‘जीवन बदल्न पढ्नैपर्छ।’
त्यही अडानले उनलाई फेरि गाउँ फर्कायो। त्यो बेला मनिष करिब १८-२० वर्षका थिए। पुराना गुरुहरूसामु पुगेर भने, ‘म फेरि पढ्न चाहन्छु।’ तर उही निराश बनाउने जवाफ पाए, ‘तिम्रो उमेरका साथीहरू स्नातक पढ्दैछन्, तिमी अब कसरी शुरु गर्छौ ?’ मनिषले दृढ स्वरमा जवाफ दिए, ‘पढ्छु, ढिलो भए पनि, अब रोकिन्नँ।’
अन्ततः चौथो प्रयासमा, २०६१ सालमा, उनले एसएलसी परीक्षा प्रथम श्रेणीमा पास गरे। ‘तीन पटक असफल भएपछि प्रथम श्रेणी ल्याउनु सजिलो थिएन’ उनी गर्वका साथ भन्छन्, ‘त्यो मेरो जीवनको टर्निङ प्वाइन्ट थियो।’
त्यो वर्ष विद्यालयबाट प्रथम श्रेणीमा पास हुने विद्यार्थी जम्मा ६-७ जना थिए। तीमध्ये एक थिए, मनिष। त्यो क्षणलाई जीवनको सबैभन्दा महत्वपूर्ण सफलता सम्झन्छन् उनी।
राजधानी छिरे, छुवाछूत झनै गहिरियो
एसएलसी पास गरेपछि मनिषले काठमाडौं जाने निधो गरे। सपना थियो- कला पढ्ने। २०६१ सालको भदौ महिनातिर राजधानी छिरे, जहाँ उनले शिक्षित भनिने समाजको अर्को अनुहार देखे।
‘कोठा खोज्न हिंड्दा सबैभन्दा पहिले थर सोधिन्थ्यो’ उनी सम्झिन्छन्, ‘म इमानदार भएर भन्थें, ‘सार्की हुँ। अनि जवाफ आउँथ्यो- कोठा छैन बाबु।’
त्यतिबेला उनले छुवाछूतको तिखो अनुभव गरे। गाउँमा जातीय भेदभावलाई सामान्य रूपमा आत्मसात् गरिएको हुन्थ्यो। आफ्नो जात सबैलाई थाहा थियो, त्यसैले अपमान पनि पहिल्यै निर्धारित जस्तै लाग्थे। तर राजधानीमा त्यो अपमान बुझेर टार्नुपर्ने, लुकाएर बाँच्नुपर्ने बाध्यता बन्यो।
जात लुकाएर कोठा लिनुपर्ने, पढ्नुपर्ने बाध्यता उनले भोगे। समाजमा जात भन्ने चाबी नखुलेसम्म ढोका पनि नखुल्ने रहेछ भन्ने तीतो यथार्थ राजधानीमै बुझे। ‘मलाई लाग्यो, राजधानी त गहिरो विभेदको जालो पो रहेछ’, उनी भन्छन्।
मनिष अर्को एउटा कटु अनुभव पनि सम्झिन्छन्, ‘सुनपानी छर्किनुपर्ने, आफूले खाएको भाँडा आफैं माझ्नुपर्ने त मैले गाउँमै भोगिसकेको थिएँ। राजधानी त त्योभन्दा पनि कठोर रहेछ। शिक्षितको नाममा जातको पर्खाल झनै अग्लो रहेछ।’
ललितकला पढ्ने हुटहुटी, फेरि अर्को संघर्ष
‘म ललितकलामा अध्ययन गर्न चाहन्थें। दोस्रो प्रयासमा प्रवेश परीक्षा पास भएँ। पहिलो र दोस्रो वर्ष मैले आधारभूत, विषयगत, यथार्थ र समाजसँग सम्बन्धित चित्रकला के हो बुझ्न पाएँ। अझ धेरै सिक्न बाँकी थियो। त्यसैबीच प्रमाणपत्र तह पास गरें।
त्यसपछि चाहना पलायो- थप फरक शैली, गहिरो अध्ययनको। काठमाडौं युनिभर्सिटीतर्फ मोडिएँ। त्यहाँ २५ प्रतिशत छात्रवृत्ति पाएर पढ्ने मौका मिल्यो। त्यो मेरो लागि ठूलो उपलब्धि थियो। त्यही विश्वविद्यालयबाट स्नातक गरें। पढाइसँगै दरबारमार्गको एक ग्यालरीमा पार्टटाइम काम गर्न थालें। कलेज बाहेकको सम्पूर्ण समय त्यहीं बित्थ्यो- आर्ट हेर्ने, बुझ्ने, सिक्ने।
त्यतिबेला म भक्तपुर इँटाभट्टाका कामदारदेखि न्युरोडका मजदुरसम्मको अनुहार चित्रित गर्थें। ती श्रमिकका दुःख, थकान, संघर्षलाई क्यानभासमा उतार्न खोज्थें। एकदिन, एक जना स्विस कलेक्टर आए। उनले मेरो १२ वटा पोर्ट्रेट एकैपटक किने। एउटा चित्रको मूल्य थियो २५ हजार रुपैयाँ। त्यो मेरो जीवनको पहिलो ठूलो कमाइ थियो- कलाबाट आर्जित कमाइ।
तर, त्यो पैसा पूर्ण रूपमा मसम्म आएन। मेरो आफ्नै कलेजको शिक्षकले कलेक्टरबाट र मबाट पनि कमिसन लिएका रहेछन्। त्यो पनि एउटा सिकाइ नै रह्यो- कलासँगै कला बजार पनि त्यत्तिकै जटिल रहेछ।
कतिपय चित्रमा मैले ‘मेडिकली डिसेबल’ देखिने अनुहारहरू- रोगले थलिएका, तनावले थकित वा गहिरो मानसिक प्रभाव परेका अभिव्यक्तिहरू उतारेको थिएँ। ती चित्रहरू एक किसिमले विकृत र मनोदशासँग गाँसिएका अनुहार थिए।
जब ती चित्रहरू एकसाथ बिक्री हुन थाले, त्यसपछि पहिलोचोटि सिद्धार्थ आर्ट ग्यालरीकी निर्देशक संगीता थापाले मेरो कामप्रति चासो देखाउनुभयो। र, प्रदर्शनीको प्रस्ताव गर्नुभयो, जसबाट मेरो कलाकार जीवनले नयाँ मोड लियो।’
कला जब धर्मसँग ठोक्किन्छ
सन् २०१२ को अगस्ट अन्त्यतिर बबरमहल रिभिजिटेडमा आयोजित मनिषको पहिलो एकल चित्रकला प्रदर्शनीको नाम थियो- ‘द राइज अफ कोलेटरल’। प्रदर्शनीमा करिब एक दर्जन चित्र थिए, जसले पौराणिक पात्र र आधुनिक पप-संस्कृति बीचको अन्तरक्रियालाई प्रस्तुत गर्थे। सामाजिक समालोचनाको गहिरो मिश्रण थियो त्यो प्रदर्शनीमा। तर प्रदर्शनी शुरू भएको लगभग तीन साता नबित्दै अप्रत्यासित ढंगले विवाद चुलियो।
मनिष आफैं ग्यालरीमा थिए, केही आक्रोशित व्यक्तिहरूले उनका चित्रहरू धार्मिक भावना विरुद्ध भएको भन्दै विरोध जनाए। विशेषतः कालीमाताको चित्रलाई लिएर हिन्दू धार्मिक संघ–संस्थाले तीव्र आपत्ति जनाए। विरोध बढ्दै जाँदा सुरक्षाकर्मी खटिनुपर्यो, प्रदर्शनीस्थलमा तनावपूर्ण स्थिति सिर्जना भयो। ‘प्रदर्शनीले उठाउन खोजेको बहस त छायाँमै पर्यो’ उनी सम्झिन्छन्, ‘सबै कुरा विवादमै सीमित रह्यो।’
काठमाडौंमा चित्रकला विवादमा तानिएपछि मनिषका लागि नेपालमा टिकिरहन सजिलो भएन। सामाजिक, सांस्कृतिक र मानसिक दबाबहरू दिनदिनै बढ्दै गए।
उनले सिर्जना गरेका चित्रहरूमा हिन्दू देवता, पौराणिक पात्र र पश्चिमी कमिक्स पात्रहरू मिसिएका थिए। एक किसिमको प्रतीकात्मक शैलीमार्फत सामाजिक यथार्थमाथि प्रश्न उठाइएको थियो।
‘त्यो घटनाले मलाई गहिरो गरी सोच्न बाध्य बनायो- कला, आस्था र अभिव्यक्तिको स्वतन्त्रता कुन ठाउँमा आएर ठोक्किन्छ ?’ उनी भन्छन्, ‘म चित्र बनाउँछु, तर दर्शकले त्यसलाई एउटै नजरले हेर्दैनन् भन्ने कुरा पहिलो पटक महसुस भयो।’
विरोध यत्तिमै रोकिएन। सामाजिक सञ्जालमा गालीगलौज र शारीरिक क्षतिको धम्की समेत आयो। ‘त्यो बेला त अवस्था यस्तो थियो, जसले जहाँ लगेर जे पनि गर्न सक्छ’ उनी भन्छन्, ‘कतिपयले त मलाई विदेशीको पैसा खाएर धर्म भड्काउने कलाकारसम्म भने।’
त्यसपछि उनी डिप्रेसनमा पुगे। केही समय साथीको कोठामा थुनिएर बसे। ‘एक हप्ताजति कतै निस्किइनँ’, उनी सुनाउँछन्। त्यो विवादले कलाकार समाजमै दुई धार बनायो। कसैले समर्थन गरे, कसैले आलोचना। मनिष भन्छन्, ‘कसैले मेरो दृष्टिकोण बुझ्ने प्रयास गरेन। म के भन्न खोज्दैथिएँ, किन त्यो शैली रोजें, यसको गहिराइ कसैले हेरेन।’
त्यसपछि मनिषले अन्य प्रदर्शनी गर्ने प्रयास गरे, तर धेरै ग्यालरी डराएर टाढा भए। ‘धेरैले मलाई विवादास्पद कलाकार भनेर चिने’ उनी भन्छन्, ‘कसैले भने- यसको प्रदर्शनी गरे त आफैं विवादमा फस्छु। मलाई त बहिष्कार जस्तै गरियो। मिडिया, ग्यालरी, संस्था, जहाँतहाँबाट प्रत्यक्ष-परोक्ष दबाब आयो। आफ्ना कला र दृष्टिकोण स्पष्ट पार्न मन थियो, तर त्यस्तो मञ्च नै रहेन। ‘कलाले प्रश्न उठाउँछ, समाजलाई झस्काउँछ भन्ने बुझाइ हाम्रो समाजमा अझै छैन’, उनी भन्छन्।
अन्तर्राष्ट्रिय कला यात्रा
काठमाडौंमा चित्रकला विवादमा तानिएपछि मनिषका लागि नेपालमा टिकिरहन सजिलो भएन। सामाजिक, सांस्कृतिक र मानसिक दबाबहरू दिनदिनै बढ्दै गए। त्यस्तो वातावरणमा उनले आफ्ना सिर्जनालाई व्यापक मञ्चमा लैजानु आवश्यक ठाने। यही सोचका साथ उनी सन् २०१७ मा बेलायत उडे, चित्रकलामा स्नातकोत्तर अध्ययन गर्न।
शेफिल्ड हम विश्वविद्यालयमा स्नातकोत्तर पढ्न थालेपछि उनको कलाले नयाँ उचाइ लियो। सन् २०१९ मा स्नातकोत्तर अध्ययन पूरा गर्दा उनले ‘डायन विलकक्स लाइफलङ लर्निङ अवार्ड’ समेत जिते।
मनिष ती कलाकारमध्ये हुन्, जसका चित्रहरू बेलायतको सरकारी कला सङ्ग्रहमा सन् २०२०/२१ मा चयन भई अधिग्रहण भइसकेका छन्। उनका केही चित्रहरू शेफिल्डको ग्रेभ्स ग्यालरीमा स्थायी रूपमा राखिएका छन्।
त्यस बाहेक, उनका चित्रहरू लन्डनको १० डाउनिङ स्ट्रिट, डिपार्टमेन्ट अफ ट्रान्सपोर्ट, ग्रेट मिन्स्टर हाउस, मेजेनाइन ग्यालरी नटिङ्घाम, भियनास्थित वेल्ट म्युजियम, हेगस्थित म्युजियम अफ कम्युनिकेसन, शेफिल्डको यॉर्कशायर आर्ट स्पेस, कोपनहेगनको सीकेयू, नयाँदिल्लीको इन्डिया आर्ट फेयर, लन्डनको अक्टोबर ग्यालरी र रोसल ग्यालरी जस्ता विश्वका प्रतिष्ठित कलामञ्चहरूमा प्रदर्शित भइसकेका छन्। सन् २०२३ मा यूकेको प्रतिष्ठित न्यू आर्ट एक्सचेन्जमा आफ्नो कला प्रदर्शन गर्दै उनले अन्तर्राष्ट्रिय कला मञ्चमा सशक्त उपस्थिति जनाए।
‘थाङ-सु-फ्ल्याट’ शैली
आफू जापानी सुपरफ्ल्याट प्रविधितर्फ झुकाव राख्ने भए पनि त्यसमा नेपाली थाङ्का र पौवा कला परम्पराबाट प्रेरणा लिएको मनिष बताउँछन्। साथै, उनी मंगा र सुपरहिरो ग्राफिक नोभेलहरूबाट प्रभावित छन्। यी सबैलाई मिलाएर विकास गरेको शैलीलाई उनले ‘थाङ-सु-फ्ल्याट’ नाम दिएका छन्, जुन परम्परा र आधुनिकताको साहसी संयोजन हो।
मनिषका चित्रहरू पूर्व र पश्चिमको सांस्कृतिक प्रतीकका संयोजन हुन्, जहाँ धार्मिक मूर्तिहरूदेखि पप-कल्चर आइकनहरू एउटै क्यानभासमा देखा पर्छन्। यी चित्रहरू साहसी, सुन्दर र गहिरा सन्देश दिने खालका हुन्छन्।
मनिषका कृतिमा झाडु, भाँडा जस्ता सामान्य जीवनका वस्तुहरू प्रतीकात्मक रूपमा प्रयोग भएका हुन्छन्। उनी भन्छन्, ‘म झाडुको कुरा गर्छु, भाँडाहरू मेटाफरको रूपमा प्रयोग गर्छु। देख्दा सामान्य लाग्न सक्छ, तर त्यसले मान्छेलाई छोइहाल्छ।’
मनिषको सिर्जनामा प्रमुख विषयवस्तुहरू जातीय भेदभाव, वर्गीय अन्याय, वर्चस्ववादी विचार, धर्मको नाममा हुने शोषण र यथास्थितिप्रतिको प्रश्न हुन्छन्। उनले समाजका अल्पसंख्यक र आवाजविहीन वर्गका अनुभवहरूलाई क्यानभासमार्फत उजागर गर्छन्।
उनी भन्छन्, ‘बेलायत र अमेरिकामा पनि जातीयताका थुप्रै विषय छन्। गोष्ठी-सम्मेलन त हुन्छन् तर अझै पनि धेरै कुरा इनभिजिबल छन्, देखिए पनि देखिएको जस्तो हुँदैन। म त्यस्ता विषयलाई ग्लोबल रूपमा उठाउँदै आएको छु।’
दलित बस्तीको झुपडीबाट न्युयोर्कसम्म
सन् २०२५ देखि मनिष बेलायतबाट अमेरिकाको न्युयोर्क सरेका छन्। त्यहींबाट आफ्नो कलालाई अन्तर्राष्ट्रिय रूपमा विस्तार गर्ने प्रयासमा छन्। बाल्यकालको दलित बस्तीको झुपडीबाट शुरु भएको उनको यात्रा आज विश्वका प्रतिष्ठित ग्यालरीहरूमा पुगेको छ। ‘कला मेरो लागि केवल सिर्जना होइन, आवाज पनि हो’, उनी भन्छन्।
मनिषको यात्राले देखाउँछ- जब सपना र अडान सँगसँगै अघि बढ्छन्, तब कुनै पनि सीमाले छेक्न सक्दैन। उनको युवाप्रति सन्देश छ, ‘समाजका घेरा तोड्ने हिम्मत राख्नुहोस्, तपाईंलाई कसैले रोक्न सक्दैन।’