विद्रोहबाट उदाएका विद्यार्थी नेता
‘जहाँ अत्याचार, त्यहाँ विद्रोह हुन्छ !’ यो भनाइलाई परिभाषित गर्दै दुई जना युवा विद्यार्थीले राजधानीका दुई ठूला क्याम्पसमा दलीय सिन्डिकेट विरुद्ध विद्रोह गरे, अनि नेतृत्व आफ्नो हातमा लिन सफल भए ।
ठूल्ठूला राजनीतिक दलको आशीर्वाद पाएका विद्यार्थी संगठनलाई परास्त गर्दै स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) अध्यक्ष बन्न सफल युवा हुन्, पद्मकन्या क्याम्पसकी २३ वर्षीया भूपेश्वरी ऐर ‘भूपी’ र पुल्चोक इन्जिनियरिङ क्याम्पसका २१ वर्षीय स्वयं श्रेष्ठ ।
उनीहरूले २०८१ चैतमा भएको स्ववियु चुनावमा विद्यार्थी संगठनको सिन्डिकेट तोडेर नयाँ इतिहासको मानक मात्र बनाएनन्, दलीय थिचोमिचो सधैं चल्दैन भन्ने मान्यता पनि स्थापित गरे ।
स्वयंले स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भए भने भूपी नेपाल विद्यार्थी संघ (नेविसंघ)बाट टिकट नपाएपछि स्वतन्त्र समूह बनाएर निर्वाचित भइन् । उनीहरूले स्ववियुमा विद्यार्थीको मन जिते । संगठनगत सिमाना र पूर्वाग्रह तोडेर विद्यार्थीको तहबाट नेतृत्वमा पुगेका नयाँ पुस्ता पनि हुन् भूपी र स्वयं ।
भूपी र स्वयंको भूगोल फरक । क्याम्पस फरक । पृष्ठभूमि फरक । तर विचार साझा छन् । ‘क्याम्पसमा विद्यार्थीको प्रतिनिधित्व विद्यार्थीबाट नै हुनुपर्छ’, स्वयं र भूपीको निष्कर्ष छ ।
गायिका र वकिल बन्न आएकी भूपी
भूपी ग्रामीण चेतना, आत्मबल र संघर्षको प्रेरणादायी दस्तावेज हुन् । भूपीको जीवनयात्रा बैतडीको पाटन नगरपालिका–२, सिलङ्गास्थित जलकुडाबाट शुरु भयो । शिक्षण पेशामा आवद्ध बुवाको प्रेरणाले उनले पढ्ने अवसर पाइन् । सानैदेखि उनी समाजप्रति जिम्मेवारी बोध गर्थिन् ।
बाल क्लब, रेडक्रस, स्थानीय चुनाव लगायत अभियानमा उनी होमिन्थिन् । साहित्यमा रुचि भएकी उनलाई धेरैले साहित्यक नाम भूपी भनेर चिन्छन् । खेलकुदमा पनि उनको रुचि थियो । राम्रो भलिबल खेलाडी समेत हुन् भूपी । १२ कक्षासम्मको पढाइ बैतडीमै सकेकी भूपी २०७६ मा गायिका र वकिल बन्ने सपना बोकेर काठमाडौं आइन् ।

काठमाडौं छिरेपछि उनले सुरुमा पब्लिक युथ क्याम्पस रोजिन् । तर त्यहाँ वातावरण राम्रो नलागेपछि पद्मकन्या क्याम्पसतर्फ लागिन् । ‘पद्मकन्याले जीवनलाई नयाँ मोड दियो’, उनी भन्छिन् । बैतडीको लवज र भाषा बोल्ने भूपीलाई काठमाडौंसँग घुलमिल हुन पनि संघर्ष गर्नुपर्यो ।
‘काठमाडौंको भाषा, व्यवहार र अनुभव सबै अनौठो लाग्थ्यो । भाषा बुझ्न समेत समय लाग्यो । तर संघर्ष गर्दै गएँ । हरेक गतिविधिमा सहभागी हुँदै गर्दा आत्मबल बढ्दै गयो’, भूपी ती दिन सम्झिन्छिन् । वकिल र गायिका बन्ने सपना बोकेर आएकी भूपीको पद्मकन्या छिरेपछि बाटोहरू बदलिए ।
२०७९ मा स्ववियु सचिव, २०८१ मा अध्यक्ष
पद्मकन्या क्याम्पसमा उनको उठबस राजनीतिमा लागेका दिदीहरूसँग हुन थाल्यो । स्नातक तहको अध्ययन गर्दै उनले विद्यार्थी राजनीतिमा पनि पाइला अगाडि बढाइन् । र, उनको झुकाव नेपाल विद्यार्थी संघ (नेविसंघ) तिर रह्यो । २०७९ सालको स्ववियु चुनावमा भूपीले नेविसंघबाट स्ववियु सचिवको टिकट पाइन् ।
‘विद्यार्थी साथीहरूको मायाले सचिवमा विजयी भएँ’, उनी भन्छिन् । सचिव हुँदा उनले विद्यार्थीको माझमा चिनिने अवसर पाइन् । ‘आफूले सकेजतिको विद्यार्थीको माझमा रहेर काम गरें । तर धेरै काम गर्न बाँकी नै थियो’, भूपीले सचिव हुँदाको अनुभव सुनाइन् ।
सचिवको दुईवर्षे कार्यकाल सफल रूपमा अवतरण भएपछि उनले २०८१ को स्ववियुमा अध्यक्षको उडान भर्ने योजना बनाइन् । गत ५ चैतमा स्ववियु चुनाव थियो । तर नेविसंघले उनलाई टिकट दिन जालझेल गर्यो ।
नेविसंघभित्रको विवादले पद्मकन्याको स्ववियु चुनाव ७ चैतलाई सर्यो । नेविसंघको आधिकारिक टिकट नपाएपछि भूपीले स्वतन्त्र समूह गठन गरेर उम्मेदवारी दिइन् । अर्थात्, आफ्नै संगठन विरुद्ध विद्रोह गरिन् ।
स्वतन्त्र समूह बनाएर चुनावी मैदानमा उत्रिएपछि कतिपयले उनलाई ‘गँवार’ भनेर समेत आलोचना गरे । तर आत्मबल दरिलो बनाएर आफ्नो समूहको नेतृत्व गरिन् । अन्ततः संगठनका उम्मेदवारलाई पराजित गर्दै भूपीको प्यानलैले जित हात पार्यो । उनी ७३० मत ल्याएर अध्यक्षमा विजयी भइन् ।

संगठनले नपत्याएकी भूपीलाई विद्यार्थी मतदाताले पत्याए । ‘मलाई भोट हाल्न नपाएर बहिनीहरू रुनुभयो । कसैको कार्ड थिएन । कसैको रोल नम्बर नखुलेर भोट हाल्न पाउनुभएन । उहाँहरूको आँखाबाट आँसु झरेको थियो’ उनी भन्छिन्, ‘मेरा विद्यार्थी साथीहरूले आफैंभित्र मलाई देखेका थिए । त्यसैले आँसु थाम्न सकेनन् ।’
अब कुनै पनि संगठनमा नलागी उनले विद्यार्थीको लागि काम गर्ने घोषणा गरेकी छिन् । ‘म लोकतान्त्रिक विचारकी हुँ’ उनी भन्छिन्, ‘तर अहिले कुनै संगठनको प्रतिनिधि होइन, सम्पूर्ण विद्यार्थीको प्रतिनिधि हुँ ।’
विद्यार्थी नेतृभन्दा पनि उनी दिदीको रूपमा आफूलाई चिनाउन चाहन्छिन् । ‘म विद्यार्थी नेतृ होइन, दिदी हुँ, साथी हुँ, कहिलेकाहीं अभिभावक पनि’, भूपी भन्छिन् ।
स्ववियु चुनाव जितेको तीन महिनामा सुधारका केही संकेतहरू देखाएकी छिन् भूपीले । साइबर सुरक्षा, स्वास्थ्य सचेतना, रोजगारमुखी तालिमहरू सञ्चालन गरेकी छिन् । ‘छात्रावास, पुस्तकालय, शौचालय र डिजिटल पहुँच सुनिश्चित गर्ने योजना छ’, उनी भन्छिन् ।
गीत गाएर स्टेजमा चम्किने सपना बोकेर राजधानी आएकी भूपी आज पद्मकन्याका विद्यार्थीको आवाज बनेकी छिन् । संघर्ष र सफलताको यात्राले विद्यार्थीको प्रेरणा बनेकी छिन् ।
यतिबेला पद्मकन्या नै उनका लागि सबथोक बनेको छ । उनी भन्छिन्, ‘बैतडी मेरो जन्मथलो हो, पद्मकन्या मेरो कर्मथलो । यहाँ म घरकी छोरी झैं छु । विद्यार्थी बहिनीहरूको माझमा छु ।’
स्वयंको यात्रा : २०७९ मा सदस्य, २०८१ मा अध्यक्ष
पुल्चोक इन्जिनियरिङ क्याम्पसको स्ववियु अध्यक्षमा निर्वाचित भएका स्वयं श्रेष्ठको परिवेश भने भूपीको भन्दा फरक छ । नवलपरासीका स्वयंको हुर्काइ–पढाइ भने काठमाडौं उपत्यकामा भयो ।
उनले भक्तपुरमा होस्टल बसेर माध्यमिक शिक्षा पूरा गरे । १२ कक्षा पास गरेर पुल्चोक प्रवेश गर्दा उनको ध्यान सिभिल इन्जिनियर बन्नुमा थियो । क्याम्पसमा विभिन्न क्लबहरूमा संलग्न हुँदै जाँदा उनले महसुस गरे– विद्यार्थी र स्ववियु बीचको दूरी धेरै फराकिलो रहेछ । स्वयं भन्छन्, ‘स्ववियु विद्यार्थीसँग हुनुपर्ने हो । तर संगठनबाट जितेका पार्टी नेतासँग व्यस्त हुन्छन् । विद्यार्थीको आवाज सुन्ने कोही हुँदैन ।’
स्ववियु विद्यार्थीको साझा अभिभावक हुनुपर्ने हो तर उनले त्यो देखेनन् । आफैं नेतृत्वमा जानुपर्छ भन्ने सोचेर उनी २०७९ को स्ववियु चुनावमा सदस्य उठे, कुनै संगठनबाट होइन, स्वतन्त्र । उनी क्षितिज थापा र भुवनसिंह कार्कीसँग मिलेर उठेका थिए । तर स्वयं अप्रत्यासित रूपमा विजयी भए ।
सदस्यमा निर्वाचित भएका स्वयंले स्ववियु भित्रको यथार्थलाई नजिकबाट बुझ्ने अवसर पाए । ‘हामी जित्छौं भन्ने थिएन । प्रश्न उठाउन र विकल्प दिन उठेका थियौं । मैले मात्र जितें’, स्वयं सम्झन्छन् ।
सदस्यमा जितेपछि स्ववियुको बैठक बस्यो । अनि उनले थाहा पाए, संगठनहरूको सिन्डिकेट । ‘संगठनहरूको एकअर्कामा अविश्वास, गुटबन्दी धेरै हुनेरहेछ’, उनी भन्छन् ।

यसलाई चिर्न उनले २०८१ को स्ववियु चुनावमा अध्यक्ष उठ्ने निर्णय लिए । तर यो निर्णय उनी एक्लैले लिएका होइनन् । अध्यक्षको उम्मेदवार बन्ने निर्णय उनको लागि सहज थिएन । एकातिर पारिवारिक अपेक्षा थियो । अर्कोतिर विद्यार्थीको हकहितको कुरा उठाउनु थियो । ‘परिवारको अपेक्षा छोराले लोकसेवाको तयारी गरोस् भन्ने थियो’, स्वयं भन्छन् ।
तर, उनी स्वतन्त्रबाट सदस्य भएकाले यो अभियानलाई रोक्न पनि चाहँदैनथे । ‘यदि मैले छोडें भने, यो आन्दोलन मर्न सक्छ भन्ने लाग्यो, त्यसैले अघि बढ्ने निर्णय लिएँ’, उनी भन्छन् ।
निर्णय गर्नुअघि उनले क्याम्पसका ५० जनाभन्दा बढी विद्यार्थीसँग संवाद गरे । ‘सबैबाट फरक–फरक राय सुझाव आएको थियो । तर धेरैले समर्थन गरेकाले आत्मविश्वास बलियो भयो’, उनी भन्छन् ।
पार्टीका विद्यार्थी संगठनको झण्डा विनै आफ्नो अडान र विचार लिएर ५ चैतको स्ववियु चुनावमा उम्मेदवारी दिए उनले । अन्ततः विजय पनि भए ।
स्वयंले कांग्रेस, एमाले, माओवादी, नेकपा एस जस्ता शक्तिशाली दलनिकट उम्मेदवारहरूलाई पछि पार्दै भ्रातृ संस्थाको दशकौं लामो सिन्डिकेट तोडेर नयाँ इतिहास रचे । ‘विद्यार्थीको प्रतिनिधि विद्यार्थी नै हुनुपर्छ भन्ने सोचले उठेको हुँ, यो विजय त्यो सोचको जित हो’, उनी भन्छन् ।
स्वयंको विजयले पुल्चोक मात्र होइन, स्वतन्त्र राजनीतिका लागि सम्भावनाको ढोका खोलेको छ । दलको राजनीतिभन्दा माथि उठेर, विद्यार्थीका मुद्दामा केन्द्रित नेतृत्व अब विकल्प मात्र होइन, वास्तविकता बन्दै गएको प्रतीत हुन्छ ।
निर्वाचित भएको तीन महिनाको अवधिमा स्वयंले पनि सुधारको खाका देखाएका छन् । तर कामको गति सोचे जस्तो नभएको उनी स्वीकार गर्छन् ।
२१ सदस्यीय मूल समिति बाहेक ग्राफिक्स, साहित्य, फोटोग्राफी, प्राविधिक जस्ता विधामा विद्यार्थी सहभागी भएको सहायक समूह बनाएर उनले काम गरिरहेका छन् । पूर्वविद्यार्थीसँग सहकार्य गरेका छन् । विद्यार्थी संवाद कार्यक्रमको थालनी उनको टीमले शुरु गरेको छ । ‘विभिन्न विषयमा अन्तरक्रियाको शृंखला शुरु गरेका छौं । जसले विद्यार्थी र विज्ञबीच पुलको काम गर्छ’, स्वयं भन्छन् ।

प्रशासनिक समस्या समाधानमा पनि उनले पहल गरिरहेका छन् । ‘नतिजा प्रकाशन ढिलाइ, छात्रवृत्तिमा हुने अपारदर्शिता हटाउने प्रयास भइरहेको छ’, उनी भन्छन् ।
यसरी स्वयं र भूपीको विजयले पार्टीको आड होइन, विश्वासको मतले पनि नेतृत्व गर्न सक्ने आधार तय गरेको छ । स्ववियु हाँकिरहेका स्वयं र भूपी अब युवाले नेतृत्व लिनुपर्ने मत राख्छन् । ‘देशमा केही छैन भनेर बस्ने होइन, आफूबाट शुरु गर्नुपर्छ, आशाको लहर फैलाउनुपर्छ’, दुवैको मत एउटै छ ।
तस्वीरहरू : शंकर गिरी/अनलाइनखबर
ट्रेन्डिङ
सम्बन्धित
५० प्रभावशाली महिला २०८१
सञ्जिता नेपालचार्टर्ड एकाउन्टटेन्ट
सीता पोखरेलसमाजसेवी
मित्रकुमारी परियारवडाध्यक्ष
पूर्णिमा श्रेष्ठपर्वतारोही
मनिषा द्वाखगोलविद्
भावना पुलामीमगरउद्यमी
अलिसा श्रेष्ठउद्यमी
पूजा महतोक्रिकेटर
बिन्दवासिनी कंसाकारप्रतिनिधिसभा सदस्य
सुभासिनी श्रेष्ठसमाजसेवी
डा. निर्मला फुयालअनुसन्धाता
गोमा खनालउद्यमी
डोल्मामाया गोलेउपाध्यक्ष, महाङ्काल गाउँपालिका
मीना अर्यालप्रशासक
पलेशा गोबर्धनखेलाडी
५० प्रभावशाली महिला - २०८०
सञ्जिता नेपालचार्टर्ड एकाउन्टटेन्ट
सीता पोखरेलसमाजसेवी
मित्रकुमारी परियारवडाध्यक्ष
पूर्णिमा श्रेष्ठपर्वतारोही
मनिषा द्वाखगोलविद्
भावना पुलामीमगरउद्यमी
अलिसा श्रेष्ठउद्यमी
पूजा महतोक्रिकेटर
बिन्दवासिनी कंसाकारप्रतिनिधिसभा सदस्य
सुभासिनी श्रेष्ठसमाजसेवी
डा. निर्मला फुयालअनुसन्धाता
गोमा खनालउद्यमी
डोल्मामाया गोलेउपाध्यक्ष, महाङ्काल गाउँपालिका
मीना अर्यालप्रशासक
पलेशा गोबर्धनखेलाडी