
राप्ती खोला किनारमा बितेको बाल्यकाल । मकवानपुरको बसामाडी गाउँको परिवेश । महेन्द्र राजमार्गले छोएको लेकपानी टोलको एक्लो दलित परिवार । क्षेत्री आमा र परियार बुबाका सन्तान ।
तामाङहरूको बाहुल्य र ‘उच्च’ जातको प्रभुत्वबीच दमाई केटीका रूपमा हुर्काइ । अन्तरजातीय विवाहबाट जन्मिएकी सरिता परियारको कथा ‘जात भनेको दलित मात्रै होइन रहेछ’ भन्ने तथ्यबाट शुरु हुन्छ ।
सरिताको जीवन आम दलितको जस्तै चुनौतीपूर्ण थियो । उनले ३–४ वर्षको छँदै माइतीबाट नस्वीकारिएकी आमा गुमाइन् । ‘दमाईसँग भागेको’ भन्दै ‘फालिएको सिनो’जस्तो व्यवहार गरेको देखिन् ।
समाजदेखि घरसम्मै विभेद र हिंसाका छिटा पनि भोगिन् । यस्तै भोगाइले प्रश्न गर्न सिकायो– समाजको ढाँचा किन यस्तो ? किन हामीलाई अमान्छे ठानिन्छ ? जवाफ खोज्दाखोज्दै सरितालाई लेखक र अभियन्तादेखि फुलब्राइट स्कलरसम्मको यात्रातिर डोर्यायो ।
सरिता चौध जनाको सगोल परिवारमा हुर्किइन् । आमालाई गुमाउँदा माया र स्नेहको महत्व सानैदेखि बुझिन् । टोल–गाउँमा एक्लो दलित परिवार भएकाले परायापन र एक्लोपनको तीतो अनुभूति गरायो । काखा–पाखा गर्ने समाज सुँघेरै थाहा पाइन् ।
सरिता सम्झिन्छिन्, एकाबिहानै पानी लिन जाँदा, ‘ए सरु, गाग्री अलि उता राख्, धेरै यता लिएर नआइज्’ भन्ने ‘उच्च’ जातको आदेशले मनै कुँडिन्थ्यो । इनारमा छोइछिटो गरेकाले आमा कहिलेकाहीं राति १२ बजे पानी लिन खोलासम्म पुग्नुहुन्थ्यो । घरपछाडिको राप्ती खोलाले कहिल्यै भेदभाव गरेन । पानीभित्र डुबुल्की मारेर, एकछिन रोकिएर, जसरी सास फेरे पनि हुन्थ्यो ।
जेठी भाउजूको पुरानो पेटीकोटलाई ट्युब जस्तै बनाएर खोलामा खेल्नु, थाक्दासम्म पौडी खेलेपछि तातो ढुंगामा सुत्नु, थाल थापेर माछा मार्नु, जंगलमा दाउरा र स्याउला लिन जानु, गाईबाख्रा चराउनु, लुकामारी खेल्नु, वनभोज खानु— यी उनको बाल्यकालका केही रमाइला अनुभव हुन् ।
इनार र खोलाको पानी बीचको फरकले सरितालाई सानैबाट विभेदको रेखा कति गहिरो रहेछ भन्ने बुझायो । सानै उमेरमा झेलेका जीवन्त भोगाइले उठाएका आत्मसम्मान र समताबारे नयाँ प्रश्नलाई उनले कागजमा उतार्न थालिन् । मकवानपुर बहुमुखी क्याम्पसमा पढ्दा ‘हेटौंडा सन्देश’ दैनिकमा ‘दलित दर्पण’ स्तम्भ लेख्न थालिन् ।
‘लेख्दै जाँदा आँत विस्तारै दह्रो हुँदै गयो, मन हल्का । दलित महिलाको विशिष्ट भोगाइ, संघर्ष, खुशी, आत्मसम्मान र प्रश्न छ । तिनलाई केन्द्रमा राखेर ज्ञान निर्माण गर्ने हुटहुटी अङ्कुराउँदै गयो’, उनले भनिन् ।
उनले कक्षा १० मा गाउँको उपभोक्ता समितिमा सचिव, ‘प्लस टु’ पढ्दा स्तम्भ लेखन, छोटो समयको लागि न्याशनल एफएममा रेडियो कार्यक्रम र दलित महिला संघमा अभियन्ताको जिम्मेवारी पनि सम्हालिन् ।
आफ्नै लयमा बगिरहेकी सरिताको जीवनमा अनेक मोड आयो । १९ वर्षको उमेरमा उनको विवाह सुभाषकुमार दर्नालसँग भयो । दर्नाल सामाजिक न्यायका अभियन्ता र स्वप्नदर्शी थिए । सन् २०११ मा अमेरिकामा गाडी दुर्घटनामा उनको निधन भयो । सरिता २३ वर्षमै विधवा भइन् । छोरी सामना १८ महिनाकी थिइन् ।
दुर्घटनाको दिन त्रिभुवन विश्वविद्यालयको समाजशास्त्र–मानवशास्त्र संकायको कक्षामा उनी हाजिर भएको तेह्रौं दिन थियो । उनले सन् २०१५ सम्ममा समाजशास्त्र–मानवशास्त्रमा स्नातकोत्तर पूरा गरिन् ।
हिन्दू वर्णव्यवस्थामा युवा दलित विधवा भएर कक्षामा बस्दा जात, लैङ्गिकता, यौनिकता, वर्ग जस्ता तहगत संरचना र संस्थागत असमानताको जटिलता बुझ्न थप सहयोग भयो । उनले आफ्नो पीडालाई व्यक्तिगत दुःखमा सीमित राखिनन् । सार्वजनिक अभियान र लेखनमा सक्रिय भइन्, जुन आत्मसम्मान र समताको आन्दोलनका लागि प्रेरणा बन्यो ।
सरिता हतारमा थिइनन्, किनभने गुमाउनु केही थिएन । एक हातमा कपाल खुइल्याइएकी अठार महिनाको छोरी सहित पारिवारिक जिम्मेवारी, अर्को हातमा दलित महिलाको ज्ञानप्रतिको भोक । त्यसैले दलित महिलालाई केन्द्रमा राखेर ज्ञान निर्माण गर्ने यात्रामा उनी आफ्नै गतिमा अघि लम्किइरहिन् ।
जन्मकै आधारमा भोगिएको असमताबारे सामाजिक विमर्श र ज्ञान निर्माणको यात्रालाई ध्यानमा राख्दै उनले ‘सरिता परियार ट्रष्ट फण्ड’ बनाइन् र श्रीमान्को सम्झनामा ‘सामाजिक न्यायका लागि अन्तर्राष्ट्रिय दर्नाल पुरस्कार’ स्थापना गरिन् । उनका अनुसार, यो पुरस्कारले जातको मुद्दालाई ध्यान दिंदै समता र सामाजिक न्यायका लागि योगदान पुर्याएका ४० वर्षमुनिका युवा, संस्था र सामाजिक आन्दोलनलाई सम्मान गर्छ । यसले आफैं पढेको त्रिविवि, समाजशास्त्र र मानवशास्त्र विभागसँगको सहकार्यमा जात व्यवस्थालाई केन्द्रमा राखी प्राज्ञिक विमर्श गर्दै आएको छ ।
दलित महिलालाई केन्द्रमा राखी ज्ञान निर्माण र सामाजिक विमर्शलाई निरन्तरता दिंदै सरिता सन् २०१२ देखि समता फाउन्डेसनका सञ्चालकको रूपमा सक्रिय छिन् । यो फाउन्डेसन स्वप्नदर्शी सुभाषको नेतृत्वमा दलित आन्दोलनलाई प्राज्ञिक आन्दोलनसँग जोड्ने उद्देश्यले स्थापना भएको हो । सुभाषको सोचमा जात कहिल्यै दलित मात्र थिएन; जातको तहगत श्रेणीमा दलित पिंधमा पर्छन् । दलित समुदायलाई अन्य समुदायसँगको सम्बन्धमा बुझ्नुपर्ने भएकाले उनले अन्य जातसँग पनि हातेमालो गर्ने उद्देश्यले दलित र गैरदलित सहितको समावेशी बोर्ड र टीम बनाएका थिए । सुभाषलाई प्रेरणा मान्ने सरिता सबै जात, जाति, लिंग र क्षेत्रका प्राज्ञ र अभियन्तासँग सहकार्य गर्दैछिन् ।
सरिताले दलित महिलाको ज्ञान, क्षमता, माया, खुशी, आकाङ्क्षा र सपनाका कारण बलियो साथ–सहयोग पाए पनि चुनौती पनि उत्तिकै भोग्दैछिन् । उनको अनुभूति छ, ‘दलित महिलालाई मकैको घुन जस्तो ठानिंदासम्म सबै कुरो मिल्ने रहेछ, होइन हामी मकैको घुन होइनौं, हाम्रो विचार छ, आवाज छ, संघर्षको कथा छ, संसार बुझ्ने र बदल्ने दृष्टिकोण छ भन्दा बढ्ता आइमाई हुने रहेछौं ।’
उनी संश्लेषण गर्दै भन्छिन्, ‘कथित उपल्लो जातबाट यस्तो ब्राह्मणवादी पितृसत्ता भोग्दै आएको हजारौं वर्ष भयो । यो त दलित लोग्नेमानिस पनि उत्तिकै जब्बर रहेछ; संस्था, सत्ता–शक्ति, स्रोत हडप्ने गरी ढसमस्स बस्ने रहेछ । त्यसैले हाम्रो ज्ञान निर्माणको मुद्दाको अगुवाइ हामी आफैं गर्छौं भन्दै ‘जस्ट फ्युचर्स पहल’ (जेएफपी) स्थापना गर्यौं । जातको प्रिज्मबाट आत्मसम्मान, समता, समावेशी लोकतन्त्र र दिगोपनबारे अध्ययन, अनुसन्धान र विश्लेषण गर्दै नयाँ भाष्य निर्माण गर्ने उद्देश्य लिएका छौं । दलित महिलाहरूको सामूहिक नेतृत्वमा, दलित लैङ्गिक तथा यौनिक अल्पसंख्यक, दलित पुरुषहरू तथा अन्य सीमान्तकृत समुदायसँगै प्रभुत्वशाली जातभित्रका प्रगतिशील तप्कासँग सहकार्य गर्न चाहन्छौं ।’
यस पहलबारे सरिता थप्छिन्, ‘हामी दलित महिलाका अनुभव, संघर्ष, खुशी, माया, आकांक्षा र ज्ञानलाई केन्द्रमा राख्छौं । मधेश प्रदेशका असाध्य पिंधमा परेका दलित महिलाको भोगाइ र सिकाइका आधारमा समाजलाई बुझ्ने कोशिश थालेका थियौं । यही क्रमलाई बागमती प्रदेशमा विस्तार गर्दै जात व्यवस्थाको बुझाइलाई फराकिलो बनाउँदैछौं ।’
सरिताका अनुसार कुनै समुदायमा जन्मँदैमा विषयविज्ञ भइँदैन, त्यस समुदायबारे गहन अध्ययन जरूरी हुने रहेछ । अनुभव, अध्ययन, अनुसन्धान र विमर्शको कठिन संघर्षले आफ्नो प्रज्ञालाई मिहिन, गहन र व्यापक बनाउँछ भन्ने गहिरो अनुभूति हुँदैछ । साधारण दलित महिला, जेएफपीका साथीहरू र मेन्टर्सबाट निरन्तर काम गर्न प्रेरणा मिलिरहेको छ ।
यही सिलसिलामा उनको नेतृत्वमा जेएफपीले यसै वर्ष नेपाल प्रज्ञा प्रतिष्ठान र त्रिविवि मानवशास्त्र विभागसँगको सहकार्यमा जात, लैङ्गिकता र सामाजिक न्यायमा गहकिलो विमर्श चलाएको छ । यी विमर्शलाई व्यापक बनाएर दलित महिलाको दृष्टिकोणबाट नेपालभित्र मात्र होइन, विश्वस्तरमा जातबारे पुनर्कल्पना गर्ने प्रयास हुँदैछ । यसरी सरिताले जात, लैंगिकता, यौनिकता र वर्गका विषयमा विश्वव्यापी बहसमा समेत आफूलाई उपस्थित गराएकी छन् ।
‘फुलब्राइट स्कलरसिप’मा एशियन स्टिडिस डिपार्टमेटमा अमेरिकाको कोर्नेल विश्वविद्यालयमा स्नातकोत्तर गरेपछि सरिताले एशियन लिटरेचर, रिलिजन एण्ड कल्चर डिपार्टमेन्टमा पीएचडी थाल्दैछिन् । अफ्रिकाना स्टडिज, ब्ल्याक फेमिनिजम, क्वीर स्टडिज, एन्थ्रोपोलोजीका विभिन्न कोर्स, प्यालेस्टिनी क्रान्तिकारी महिलाका साहित्य लगायत अन्य सीमान्त समुदायबारे अध्ययन गर्दा आफ्नै मुद्दालाई पनि तुलनात्मक ढंगले बुझ्न सिकाएको उनको अनुभव छ ।
पछिल्लो समय परियार आफ्नै अनुभवलाई लेखन मार्फत सार्वजनिक गरिरहेकी छन् । गाउँमा अछूत केटी भएर भोगेका अपमान र काठमाडौंमा बसेर लेख्दै गरेको अनुभव– दुवैलाई जोडेर उनी जात, लिंग र यौनिकताको अन्तरसम्बन्धमाथि गहिरो विश्लेषण गर्ने गर्छिन् । अनुभव र अनुसन्धानमा आधारित उनका लेख नेपाली र अंग्रेजीमा प्रकाशित छन्, जुन विख्यात विश्वविद्यालय र न्यायका लागि क्रियाशील संस्थामा पढाइन्छन् पनि । सन् २०२२ मा उनले ‘उत्सुकता’ नामक बालबालिकाको पुस्तक पनि लेखिन्, जसमा जातीय विषयलाई चित्रमार्फत सरल ढंगले प्रस्तुत गरिएको छ ।
सरिताले त्रिविविबाट समाजशास्त्रमा स्नातकोत्तर, पत्रकारिता र अंग्रेजी साहित्यमा स्नातक गरेकी छन् । उनले स्ट्यानफोर्ड, कोलम्बिया, ड्रेक्सेल र द न्यू स्कूलबाट तालिम र कोर्स लिएकी छन् । त्यस्तै, उनी ‘नेपाल मधेश फाउन्डेसन’, ‘अकाउन्टेबिलिटी ल्याब नेपाल’को बोर्ड सदस्यका रूपमा क्रियाशील पनि छिन् । जातीय, लिंगीय र सामाजिक न्यायका सवालमा गहिरो बुझाइका साथ लेख्दै आएकी सरिता परियार प्रतिबद्ध विद्रोहीबाट आलोचनात्मक चिन्तन गर्ने लेखकका रूपमा देखिएकी छिन् । जात व्यवस्थाका वर्गीय, लैंगिक र यौनिक आयामबारे दलित महिलाको नजरबाट पुनर्कल्पना, पुनर्विचार र पुनर्लेखन, पुनर्भाष्यकरण गर्नु उनको रुचि र अभीष्ट भएको छ ।