
डोल्पाका ३३ वर्षीय डा. अखण्ड उपाध्यायलाई शहरका आकर्षक अवसरहरूले नपछ्याएको होइन । तर उनको मन डोल्पाभन्दा बाहिर जानै मानेन । विगत ४ वर्षदेखि डोल्पा जिल्ला अस्पतालमा कार्यरत डा. अखण्ड उपचारसँगै असहायको सेवामा सक्रिय छन् । उनी भन्छन्, ‘आफ्नो माटोभन्दा माथि अवसरहरू नहुँदा रहेछन् ।’
डोल्पाली बिरामीको समस्या लिएर सहयोग माग्न आउने अखण्डको फोनले शहरिया डाक्टरहरूलाई समेत आजित बनाउँछ । ‘डाक्टर सा’ब, मेरोमा यस्तो यस्तो बिरामी आउनुभएको छ । सहयोग गर्दिनुपर्ला है त भन्दै फोन गर्नुहुन्छ’ सुर्खेतमा कार्यरत बालरोग विशेषज्ञ डा. नवराज केसी भन्छन्, ‘डा. अखण्डको दिनमा दुई तीन वटा फोन त आएकै हुन्छ । हामीले पनि सक्ने जति सहयोग गर्छौं ।’
मनकारी डा. अखण्डले थुप्रै डोल्पाली बिरामीको ज्यान जोगाउन सहयोग गरेका छन् । उनका लागि डोल्पा जिल्ला अस्पतालमा कुनै निश्चित ड्युटी समय छैन । किनकि उनी राति १–२ बजे उठेर पनि बिरामी जाँच्न तत्पर रहन्छन् ।
डा. अखण्ड डोल्पालीको उपचारमा मात्र सीमित छैनन् । अलिकति खाली समय मिल्नासाथ बालविवाह, पर्यावरण र फोहोरमैला व्यवस्थापन जस्ता विषयमा विभिन्न विद्यालयमा गएर विद्यार्थीलाई क्लास दिन्छन् । कहिले झोलाभरि औषधि बोकेर उपल्लो डोल्पा उक्लिन्छन् । विभिन्न ग्रामीण गाउँहरूमा गएर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन समेत गर्दै आएका छन् ।
बालबालिकालाई कापी, कलम र नयाँ ड्रेस लिएर दूरदराजका विद्यालयहरूमा वितरण गर्छन् । पीडितका समस्या लिएर कहिले प्रहरी चौकी धाउँछन् त कहिले जिल्ला अस्पतालमा थप स्वास्थ्य उपकरण र जनशक्ति माग्दै मन्त्रालयहरूमा समेत पुग्छन् ।
‘डोल्पालीका स्वास्थ्य समस्या हिमालभन्दा अग्ला छन्, हिमाली पाटनभन्दा चौडा छन्’ डा. अखण्ड भन्छन्, ‘डोल्पालीलाई भूगोलले मात्र होइन, राज्यले पनि ठगेको छ ।’ उनका अनुसार टिबीको औषधि लिन हप्तौं हिंडेर सदरमुकाम दुनै पुग्नुपर्ने बाध्यता छ ।
डा. अखण्डले क्लिनिकल सेवा मात्रै नभई सञ्चार, समन्वय र सहजीकरण मार्फत बिरामीको लागि उत्कृष्ट, छिटो–छरितो सेवामा टेवा पुर्याएका छन् । अस्पतालको दायरा सीमित कर्तव्यलाई फराकिलो पारेका छन् । सञ्चारमाध्यम मार्फत डोल्पालीका समस्या राज्य तहसम्म पुर्याउने प्रयास गर्छन् ।
उपचारसँगै समाजसेवा
ठूली भेरी नगरपालिका–३ मेल्सेराकी कविता बुढा (६) बोल्न सक्दिनथिइन् । जलनले ओठ र तालु फाटेको थियो । बाटो छेउमा बसेर बटुवासँग हात फैलाउनु उनको दैनिकी थियो । बुवा–आमा अरूको घरमा काम गरेर जीविका चलाउँथे । दम्पती नै कान नसुन्ने भएकाले छोरीको उपचार उनीहरूको कल्पना बाहिर थियो ।
त्यो समस्या थाहा पाएपछि डा. अखण्डले कविताबारे आफ्ना साथीहरूलाई सुनाए । अनि निःशुल्क उपचारबारे सोधखोज गर्न थाले । यही क्रममा जलन उपचारमा सहयोग गरिरहेका उज्ज्वल विक्रम थापासँग उनको सम्पर्क भयो । कीर्तिपुरस्थित ‘फेक्ट नेपाल’ नामको संस्थाले कविताको निःशुल्क उपचार गरिदिने भयो । तर नेपालगञ्ज जाने भाडाको बन्दोबस्त बिरामीले नै मिलाउनुपर्ने थियो ।
अखण्डले यातायात खर्चको लागि थप पहल थाले । नेपालगञ्ज जान र आउन नै करिब ५० हजार रुपैयाँ लाग्थ्यो । उनले सहयोग मागेर १ लाख ५० हजार रुपैयाँभन्दा बढी जम्मा पारे । कविताको उपचार सफल भयो । कान नसुन्ने बुवाआमाको खुशीको सीमा रहेन । ‘त्यो देख्दा मलाई पनि धेरै खुशी लाग्छ । प्रस्ट बोल्न त सक्दिनन्, तर अनुहार हाम्रो भएको छ । उनको पढाइ पनि राम्रो छ । नियमित स्कूल जान्छिन्’, उनले भने ।
१ पुस २०८० मा ठूली भेरी–८, जुफालकी साजना शाही सडकमा खेलिरहेकी थिइन् । सडकमै लत्रिएका तारले उनलाई करेन्ट लाग्यो । शरीर जल्यो । उनको परिवारको आर्थिक अवस्था निकै कमजोर थियो ।
डा. अखण्डले साजनाको उपचार खर्च विद्युत् प्राधिकरणले बेहोर्नुपर्ने अडान लिए । ‘त्यो बच्चाको दोष थिएन । प्राधिकरणले तारहरूको व्यवस्थापन गर्नुपर्यो नि !’ त्यो घटना सम्झिंदै डा. अखण्डले भने, ‘प्राधिकरण उपचार खर्च बेहोर्न मानिरहेको थिएन । पछि मुद्दा हाल्छु भनेपछि खर्च बेहोर्यो ।’
ठूली भेरीका मेयर र आफ्ना साथीहरूको सहयोगमा अखण्डले साजनालाई उपचारका लागि काठमाडौं पठाए । काठमाडौंमा तीन महिना उपचार गरेपछि छोरी लिएर परिवार डोल्पा फर्कियो । साजनाको दायाँ हात चलेको छैन तर अरू उपचार सफल भएको उनी बताउँछन् ।
डोल्पाकै रूपेश डाँगीकी १० महिनाकी छोरीलाई जलन समस्या थियो । गत भदौमा नेपालगञ्ज पठाएर उनको पनि उपचार गरियो । ज्याला मजदूरी गरेर जीविका चलाउने रूपेशको परिवारसँग भाडा समेत थिएन । ‘पछि साथीहरूसँग सहयोग जुटाएरै भाडाको व्यवस्था गर्यौं’ उनी भन्छन्, ‘निःशुल्क उपचार गरिदिने संघसंस्था र साथीहरू छन् । तर बिरामीलाई त्यहाँसम्म पुर्याउनै मुश्किल छ । प्लेन मार्फत पठाउँदा महँगो पर्छ ।’
पछिल्लो समय कर्णालीका अन्य जिल्लाबाट समेत सहयोग माग्नेहरूको फोन उनलाई आइरहेको हुन्छ । जाजरकोट, रुकुमपश्चिम र जुम्लाबाट समेत सहयोग गरिदिन भन्दै उनलाई फोन आउने गरेको छ । औषधि र उपकरणले भ्याएसम्म अखण्ड आफैं उपचार गर्छन् । नभए विभिन्न संघ–संस्था र व्यक्तिसँग समन्वय गरेर सहयोग जुटाउँछन् । उनैको नेतृत्वमा जिल्ला अस्पताल दुनैमा कोष स्थापना भएको छ । यो कोषबाट गरिब तथा विपन्न परिवारलाई सहयोग गर्ने गरेको अखण्ड बताउँछन् ।
डा. अखण्डको संयोजकत्वमा जिल्ला अस्पतालमा हिमालयन ‘फ्यामिली हेल्थ केयर प्रोजेक्ट’ र ‘पुअर पिपल फन्ड’ जस्ता योजना लागू गरिएको छ । कोषबाट जिल्ला बाहिर जानुपर्ने र आर्थिक अवस्था कमजोर भएका परिवारका बालबालिकालाई सहयोग गरिन्छ । ‘पछिल्लो समय हामीले डोल्पा अस्पतालमा जे काम गरिरहेका छौं त्यो मैले मात्र चाहेर भएको होइन । यसमा सबै डाक्टर साथीहरूको सहयोग छ’, डा. अखण्ड भन्छन् ।
अमेरिकामा बस्ने एक नेपाली महिलाले सहयोग गरेको ५ लाखले ५० जना बिरामीलाई यातायात खर्च दिइएको उनले बताए । ‘एक जना नेपाली दिदी अमेरिकामा बस्नुहुन्छ । उहाँले पनि हामीलाई बेलाबखत सहयोग गर्नुहुन्छ । उहाँले आफ्नो परिचय चाहिं खुलाउन चाहनुहुन्न’, उनले भने ।
‘पुअर पिपल फन्ड’ मार्फत पछिल्लो ५ महिनादेखि गर्भवती महिलाहरूका लागि निःशुल्क क्याल्सियम वितरण गर्दै आइएको छ । नेपाल सरकारले आइरन मात्र दिने भएकाले गर्भवतीहरूले क्याल्सियम किनेर अनिवार्य खानुपर्छ । ‘तर पैसा नहुँदा उहाँहरूले क्याल्सियम नखाने गरेको पाइएपछि अहिले निःशुल्क नै वितरण गर्दै आएका छौं’ डा. अखण्डले भने, ‘पछिल्लो ५ महिनामा १७६ जनाले सेवा लिनुभएको छ ।’
डा. अखण्ड अहिले पनि समय मिल्नासाथ गाउँ–गाउँका स्कुल पुग्छन् । स्कूले विद्यार्थीलाई ‘कुलत’ बाट टाढा रहन कक्षामै गएर सिकाउँछन् । स्कूले केटाकेटीलाई उनी बालविवाह गर्दा अप्ठेरोमा परेका दिदीबहिनीका कथा सुनाउँछन् । र, उमेर पुगेपछि मात्रै विवाह गर्न आग्रह गर्छन् ।
विद्यार्थीलाई कुलतका ‘घात’ बारे सम्झाउँछन् । प्लास्टिकको बढ्दो प्रयोग, यसले पृथ्वीमा पारेको असर, जलवायु परिवर्तनले हिमाली जिल्लामा पार्न सक्ने असर, स्वच्छता र सरसफाइ जस्ता कुराहरू बुझाउँछन् । उपल्लो डोल्पा लगायत दुर्गम गाउँमा गएर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्छन् । ‘वर्षमा दुई तीन वटा स्वास्थ्य शिविर गरेकै हुन्छौं’ अखण्ड भन्छन्, ‘दुर्गमका दिदीबहिनीहरू स्वास्थ्य शिविरकै लागि भनेर वर्षौंदेखि रोग पालेर बसेका हुन्छन् । अरू विकल्प पनि त हुँदैन ।’
न्यायको लागि बोल्दा मार्ने धम्की
कुरा हो, २२ असोज २०८१ को । डा. अखण्ड डोल्पा जिल्लाको ओपीडीमा बिरामी जाँचिरहेका थिए । एक अधबैंसे महिला १२ वर्षीया छोरीको उपचार गराउन भन्दै आइन् ।
‘के समस्या हो नानीको ?’ डा.को प्रश्नमा बालिकाकी आमाले जवाफ दिइन्, ‘अस्तिबाट पेट दुख्यो भन्दैछ । खान पनि मान्दिनँ, पर पनि सरेकी छैन ।’ पर सरेकी छैन (महिनावारी भएको छैन) भन्ने सुन्नासाथ डा.अखण्डले पिसाब जाँच गर्न पठाए । जब पिसाबको रिपोर्ट आयो, उनी छाँगाबाट खसे झैं भए ।
विश्वास नलागेर पुनः परीक्षण गर्न लगाए । भिडिओ एक्स–रे पनि गरे । ‘दुवै रिपोर्ट हेर्दा म स्तब्ध भएँ’ उनले भने, ‘ती बालिका ८ हप्ता ५ दिनकी गर्भवती थिइन् ।’ बुझ्दै जाँदा ती बालिका बलात्कृत भएकी रहिछन् । बुबाले छाडेकाले आमाले दुनै बजारमा कोठा लिएर राखेकी रहिछन् ।
एक दिन आमा घर नभएको मौकामा कोठा नजिकै बस्ने एक युवक, जसलाई उनी ‘दाइ’ भन्थिन्, उनको कोठामा आए । रक्सीले मातेका ती युवकले एक्कासि उनका हात समाते र जबरजस्ती गरे । ‘कसैलाई भनिस् भने मार्दिन्छु भनेर उसले धम्की दिएछ’ बालिकाको भनाइ उद्धृत गर्दै अखण्ड भन्छन्, ‘त्यही डरले उनले कसैलाई भनिनन् ।’
डा.अखण्डले उनकी आमालाई प्रहरीमा उजुरी दिन आग्रह गरे । तर गाउँलेले मिल्न दबाब दिए । गाउँले विरुद्ध लड्ने हिम्मत आमाछोरीसँग थिएन । पछि युवकको परिवारले डा. अखण्डलाई समेत धम्की दिन थाल्यो । ‘आमा छोरीलाई मेरै संरक्षणमा राखें । पछि उजुरी पनि हाल्यौं’ उनले भने, ‘उजुरी पर्ने बित्तिकै प्रहरीले ती युवकलाई पक्राउ गरेर अनुसन्धान थाल्यो ।’
करिब १२ हप्ता पुगेपछि ती बालिका र उनकी आमालाई प्रदेश अस्पताल सुर्खेतको ओसीएमसीमा पठाए । त्यहाँ एक हप्तापछि गर्भपतन भयो । गर्भपतनपछि बालिका डोल्पा आइन् । तर उनको आमालाई मुद्दा फिर्ता लिन आउने दबाब रोकिएन । ‘उहाँलाई हामीले दरिलो साथ दियौं । अदालतले ती अपराधीलाई १२ वर्षको जेल सजाय सुनाएको छ’ अखण्ड भन्छन्, ‘ती नानी आजभोलि स्कूल जान थालेकी छिन् । हामीले उनको पढाइमा सहयोग गरिरहेका छौं ।’
यस्तै अबोध बालिका बलात्कृत भएका घटनाहरू वर्षमा ५–७ वटा आउने गरेको अखण्ड बताउँछन् । जस्तोसुकै दबाब खेपेर पनि यस्ता घटनाबाट पीडितको न्यायका लागि लडिरहेको उनी बताउँछन् । ‘अपराधीहरू विरुद्ध जीउज्यान दिएर लड्छौं । तर दिनहुँ आउने धम्की पनि कम हुँदैनन्’ उनी भन्छन्, ‘डोल्पाका धेरै ठाउँमा अहिले पनि कानून भन्दा माथि गुन्डाहरू छन् । ठूलै दबाब खेपेर पनि पीडितको न्यायका लागि लडिरहेका छौं ।’
टर्च बालेर उपचार
डोल्पा जिल्ला अस्पतालमा सेवा शुरु गरेको दुई वर्षसम्म ठूलो सास्ती खेप्नु परेको डा. अखण्ड सम्झिन्छन् । बिरामी हेर्ने स्वास्थ्य संस्था नै त्यो बेला बिरामी थियो । ‘त्यतिबेला डोल्पामा १६ घण्टासम्म लोडसेडिङ हुन्थ्यो’ उनले भने, ‘भएको जेनेरेटर बिग्रिएको थियो । कैयौं पटक त टर्च बालेरै सेवा दिएको छु ।’
अस्पतालसँग ४० केभीएको जेनेरेटर भए पनि त्यो चलाउने बजेट अस्पतालसँग थिएन । अस्पतालमा भर्ना भएर उपचार गर्ने अधिकांश बिरामी अक्सिजन लगायत अन्य विद्युत्बाट हुने काम गर्दा हैरानी व्यहोर्ने गरेका थिए । दैनिक आउने बिरामीहरूलाई रात्रिकालीन अवस्थामा टर्च बालेर उपचार गर्नुपर्ने बाध्यता रहेको उनी सम्झिन्छन् ।
हालसम्म करिब ११० जना गर्झवतीको शल्यक्रिया गरेका अखण्डले तीमध्ये ४०–५० वटा शल्यत्रिया त टर्च बालेरै गरेको बताउँछन् । आफूमा भएको ज्ञान कतिपय अवस्थामा भौतिक संरचना, टिम तथा व्यवस्थापनको कमीले गर्दा सेवा दिन नसकिएको उनको अनुभव छ । ‘आफूले जानेको कुरा लागू गर्न नसक्दा सीपलाई तिखार्न सकिंदैन’ अखण्ड भन्छन्, ‘उपकरण अभावका कारण गर्न सकिने उपचारका लागि टाढा रेफर गर्नुपर्ने बाध्यता पनि उत्तिकै छ ।’
जिल्ला अस्पताल आउने अधिकांश बिरामी गरिब, विपन्न हुन्छन् । उनीहरूका लागि जिल्ला अस्पताल अन्तिम भरोसा हो । सुर्खेत, नेपालगञ्ज जाने आर्थिक सामर्थ्य हुँदैन, निजी अस्पतालको खर्च बेहोर्न सक्दैनन् । ‘मरे पनि, बाँचे पनि यहीं उपचार गरिदिन भन्नुहुन्छ । कतिपय बिरामीको रिपोर्ट नहुँदा पनि अनुभवकै आधारमा उपचार गर्नुपर्ने बाध्यता छ’, अखण्डले भने ।
चिकित्सकले जति प्रयास गरे पनि उपकरण र पूर्वाधारको अभावले सीप सदुपयोग गर्न सक्दैनन् । ‘२१औं शताब्दीमा संसारभर चिकित्सा विज्ञानले नयाँ उचाइ छुँदै गर्दा हाम्रा ग्रामीण अस्पतालमा भने ‘टर्च बालेर’ बिरामीको शल्यक्रिया गर्नुपर्ने बाध्यता छ । योभन्दा दुर्भाग्य के होला ?’ उनी भन्छन् ।
डोल्पालीले झेलिरहेको स्वास्थ्य समस्या आजको भने होइन, वर्षौंदेखि यस्तै छ । ‘दुःख त त्यतिबेला लाग्छ, सामान्य रुघाखोकी लाग्दा पनि हाम्रा नेताहरू सुविधासम्पन्न अस्पतालबाट सेवा लिन्छन्’ उनी भन्छन्, ‘तर उहाँहरूलाई डोल्पालीको रगत बग्दा पनि केही फरक पर्दैन ।’
इको क्लब हुँदै डाक्टरीसम्म
बुवा लक्ष्मीकान्त र आमा उमालक्ष्मीका तेस्रो सन्तान हुन्, अखण्ड । ठूलीभेरी नगरपालिका–३ दुनैमा ३३ वर्षअघि जन्मिएका उनलाई बाल्यकालमा ‘तिमी के बन्ने ?’ भन्ने प्रश्न गर्दा ‘वार्डेन’ भन्थे । ‘मलाई विद्यालयमा कुनै शिक्षकले तिमी ठूलो भएपछि के बन्ने भन्दा म वार्डेन भन्थें’ उनी बाल्यकाल सम्झिन्छन्, ‘इको क्लब बनाउने, गीत, गजल र कविता भन्ने । कसैले जङ्गली जनावर काटेर खाए प्रहरीलाई भनिदिने गर्थें । त्यसैले होला त्यही जङ्गल हेर्ने वार्डेन बन्छु भन्थें ।’
उनका बुबा सरकारी जागिरे थिए । आमाले घरपरिवार सम्हाल्थिन् । उनले सानैदेखि आर्थिक अभाव झेल्नु परेन । परिवारले पढाइमै ध्यान दिन भन्थे, तर उनको रुचि भने पढाइझन्दा बढी अतिरिक्त त्रियाकलापमा थियो । पढाइ बाहेक अरू सबै गर्न रुचाउँथे उनी ।
ठूली भेरी नगरपालिका–३ दुनैस्थित सरस्वती माध्यमिक विद्यालयमा औपचारिक शिक्षा शुरु गरेका ऊनले त्यही विद्यालयबाट नै एसएलसीसम्म अध्ययन गरे । विद्यालयमा हुने हरेक अतिरिक्त क्रियाकलापमा उनी सहभागी हुन्थे । ‘सहभागी भएपछि कुनै न कुनै स्थानमा आइहाल्थें’, उनी भन्छन् । विद्यालयमा बाल समिति सदस्य, सचिवहुँदै अध्यक्षसम्म भए । ‘हामी विद्यालयबाटै सामाजिक कार्यमा संलग्न हुन्थ्यौं’, अहिले सम्झिंदा उनलाई रमाइलो लाग्छ ।
बाल क्लबमा हुँदा उनले आफ्ना साथीहरूसँग मिलेर वन्यजन्तुहरूको उद्धार र संरक्षणमा काम गर्थे । दुनै बजारको मध्य भागबाट बग्ने भेरी नदीमा थुप्रै जनावर बगेर आउँथे । त्यतिबेला उनको समूहले उद्धार गरेर शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जको जिम्मा लगाउँथ्यो ।
अखण्डकी आमा आँखाकी बिरामी थिइन् । बेला–बेला विद्यालयमा हुने विभिन्न स्वास्थ्य शिविरमा स्वयंसेवक भएर खटिन्थे । त्यति नै बेला उनलाई गाउँलेको सेवा गर्न त डाक्टर पो बन्नुपर्ने रहेछ भन्ने लाग्यो । ‘शिविरमा आएका डाक्टरहरूसँग चिनजान भयो । उहाँहरूको काम नजिकबाट देखे । अनि सेवा गर्न डाक्टर पो बन्नुपर्ने रहेछ भन्ने महसुस हुन थाल्यो’ डा.अखण्ड ती दिन सम्झिंदै भन्छन्, ‘पढाइमा राम्रो त थिइनँ । अनि डाक्टर बन्ने संकल्प गरें !’
एसएलसी सकिएपछि अध्ययनका लागि २०६६ सालतिर काठमाडौं गए । एसएलसीमा सेकेन्ड डिभिजनमा पास भएका उनले प्लस टु पढ्न विज्ञान विषय रोजे । डाक्टर बन्न विज्ञान अनिवार्य थियो । जेभियर्स इन्टरनेशनल कलेज काठमाडौंबाट कक्षा १२ उत्तीर्ण गरेपछि एमबीबीएसको तयारी गरे । करिब तीन–चार वर्षको निरन्तर तयारीपछि उनले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, ललितपुरमा आंशिक छात्रवृत्तिमा एमबीबीएस पढ्न नाम निकाले ।
काठमाडौंमा डोल्पाका नागरिकलाई हुने विभेद आफूले पनि खेपेको उनी बताउँछन् । ‘पढाउँदा पनि सरहरूले पिछडिएको भन्ने तरिकाले पढाउनुहुन्थ्यो । आफूले डोल्पा नै पढेको बताउँदा डोल्पाका मान्छेहरू यहाँसम्म आउन सक्दैनन् भन्थे’, उनी भन्छन् ।
एमबीबीएस सकिएपछि कार्यक्षेत्र गृह जिल्ला डोल्पालाई रोजे । ‘इन्टर्नसिप सिध्याएपछि काम गर्न डोल्पा फर्किएँ’, उनी भन्छन् । त्यसभन्दा पहिला उनले गुल्मी अस्पतालमा एमबीबीएस अन्तिम वर्षको २० हप्ते ग्रामीण पोस्टिङमा क्लिनिकल स्किल तथा सरकारको नीतिनियम, कार्यक्रम बारे अध्ययन गरेका थिए ।
२०७८ साउनतिरको घटना हो । उनले एमबीबीएसको पढाइ पूरा गरेका थिए । स्वास्थ्य विभागले दैलेखको दुल्लु पठाउन निर्देशन दियो । तर उनले डोल्पा पठाउन आग्रह गरे । विभागले निर्णय गरिसकेको फेर्न नमिल्ने त्यहाँका कर्मचारीले बताए ।
अखण्डले तत्कालीन स्वास्थ्य विभागका निर्देशक दीपेन्द्ररमण सिंहलाई भेटे । ‘प्लिज सर, मेरो घर पनि डोल्पा हो । म डोल्पाकै लागि डाक्टरी पढेको हुँ । त्यहाँ डाक्टर बस्न मान्दैनन् । मलाई डोल्पा नै पठाइदिनुहोस्’ उनले सिंहसँग आग्रह गरे । अनि उनी आफ्नै जिल्ला जान पाए ।
२०७८ भदौ १० गते डा. अखण्ड डोल्पा जिल्ला अस्पतालमा हाजिर भए । उनको सबैभन्दा खुशीको पल त्यही थियो । ‘मेरो एउटै प्रतिबद्धता थियो, आफ्नै जिल्लामा काम गर्छु । म डोल्पालीको स्वास्थ्य सेवक बन्छु’, उनी भन्छन् ।
चार वर्षअघि उनी जिल्ला फर्किएपछि डोल्पालीले ‘फुल टाइम’ डाक्टर पाएको छ । डाक्टर देख्न नपाउने डोल्पाले औषधि पनि देख्न थालेको छ । नत्र त बाहिरका डाक्टर केही महिना अनुहार मात्र देखाएर फर्किहाल्ने अवस्था थियो । उनी बस्न थालेयता पछिल्लो समय डोल्पामा डाक्टरहरू पनि जान थालेका छन् ।
उनी २०७८ सालमा दुई वर्षको छात्रवृत्ति करार सेवामा खटिएका थिए । प्रायः विद्यार्थीहरू छात्रवृत्ति सिध्याए पछि उच्च शिक्षा (एमडी/एमएस) को तयारी गर्छन् । उनी भने डोल्पाली आमा र बच्चा बचाउनको लागि एड्भान्स एमबीए (अपरेसन गरेर बच्चा डेलिभरी गर्ने सीप) तालिम लिएर सोही अस्पतालमा सेवा निरन्तरता दिएका छन् । पछिल्लो दुई वर्षयता अस्पतालमा करार डाक्टरको रूपमा कार्यरत छन् ।
एमडीजीपी पढेपछि डोल्पामा नियुक्त हुन नसके सरकारी जागिर नखाने र डोल्पामै क्लिनिक खोल्ने अठोट उनको छ । केही समयअघि उनले जुम्लाकी अनिता तिमल्सेनासँग विवाह गरे । अनिता जिल्ला अदालत जुम्लामा कार्यरत थिइन् । तर उनले ‘डोल्पामै सेवा गर्नुपर्छ’ भनेर यतै सरुवा गराए । अहिले अनिता जिल्ला अदालत डोल्पाको वैतनिक वकिल छिन् । ‘केही वर्ष एमडीजीपी गर्न बाहिर जान्छु । त्यसपछि कर्मथलो त डोल्पा नै हो’ डा.अखण्ड भन्छन्, ‘म डोल्पा भन्दा बाहिर जान सक्दिनँ, जान्नँ पनि होला ।’
अहिले पनि डोल्पा जस्ता दुर्गम ठाउँ जान डाक्टरहरू हिचकिचाउँछन् । त्यसैले यो जिल्लाले डाक्टरको अभाव झेलिरहन्छ । अखण्डले डाक्टरी पढ्नुको कारण एउटै थियो– डोल्पामा सेवा । ‘भौगोलिक रूपमा दुर्गम भएका कारण डोल्पामा डाक्टरहरू टिक्दैनन् । विशेषज्ञ डाक्टर नहुँदा अकालमा ज्यान गुमाउनेहरू मैले देखेको छु’, उनी भन्छन् ।
सानैदेखि समाजसेवामा सक्रिय डा.अखण्डलाई सन् २००७ मा विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ) नेपालले अब्राहम संरक्षण पुरस्कार समेत प्रदान गरेको थियो । त्यो बेला उनी स्थानीय इको क्लबका अध्यक्ष थिए । साथीहरूसँग मिलेर धेरै जीवजन्तुहरूको उद्धार गरेको भन्दै उनलाई उक्त पुरस्कार प्रदान गरिएको थियो ।