
६ भदौ, काठमाडौं । कोरिया अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (कोइका) ले नेपालमा आफ्नो विकास साझेदारीको ३० वर्ष पूरा गरेको अवसरमा काठमाडौंमा विशेष समारोह आयोजना गर्दै २९ मिलियन अमेरिकी डलर बराबरका तीन परियोजनामा सम्झौता गरेको छ ।
‘सँगैका ३० वर्ष : विश्वास र सहकार्यको यात्रा’ शीर्षकमा आयोजित कार्यक्रममा गण्डकी प्राविधिक शिक्षालय, फलफूल तथा तरकारी मूल्य श्रृंखला विकास परियोजना (दोस्रो चरण) र सुदूरपश्चिम पोलिटेक्निक संस्थान स्थापना सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।
गण्डकी प्राविधिक शिक्षालय स्थापना सम्बन्धी सम्झौतामा अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय र नेपालस्थित दक्षिण कोरियाली राजदूत पार्क ते–यङ्गले हस्ताक्षर गरेका छन् । ९ मिलियन डलर बजेटको यो परियोजना सन् २०२५ देखि सन् २०३० सम्म सञ्चालन हुनेछ ।
त्यसैगरी, १०–१० मिलियन डलरका दुई रेकर्ड अफ डिस्कसन (आरओडी)मा पनि हस्ताक्षर भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. हरि बहादुर के.सी. र कोइका नेपालका देशीय निर्देशक मूहन कोङबीच ‘फलफूल तथा तरकारी मूल्य श्रृंखला विकास परियोजना (दोस्रो चरण)’मा सम्झौता भएको हो । यो परियोजना सन् २०२५ देखि सन् २०३१ सम्म सञ्चालन हुने छ ।
यसैगरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव शिवकुमार सापकोटा र कोङबीच नै ‘सुदूरपश्चिम पोलिटेक्निक संस्थान स्थापना परियोजना’मा सम्झौता भएको छ । यो सन् २०२५ देखि सन् २०३० सम्म सन्चालन हुने छ ।
कार्यक्रमका प्रमुख अतिथि एवम् पोखरा महानगरपालिका मेयर धनराज आचार्यले कोइकालाई यस ऐतिहासिक अवसरमा बधाई दिँदै नेपालका विविध क्षेत्रमा पुर्याएको महत्वपूर्ण योगदानको प्रशंसा गरे । उनले नेपाल सरकार कोइकासँग मिलेर आगामी कार्यक्रमहरूको पहुँच र दिगोपनलाई अझ विस्तार गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।
कोइका नेपालका देशीय निर्देशक मूहन कंगले कोइका र नेपाल बीचको दीर्घकालीन साझेदारी, समावेशी तथा दिगो विकासप्रति दृढ प्रतिबद्धता व्यक्त गरे । उनले शिक्षा, स्वास्थ्य, कृषि र सुशासन जस्ता प्रमुख क्षेत्रमा क्षमता अभिवृद्धि र नवीनताको प्रवर्द्धनमा कोइकाको प्राथमिकता रहेको उल्लेख गरे ।
यसैगरी परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुङ्गानाले नेपाल र कोरियाबीचको लामो मित्रता र सहकार्यलाई उल्लेख गर्दै, शिक्षा, स्वास्थ्य, कृषि र क्षमता अभिवृद्धि क्षेत्रमा कोइकाले पुर्याएको महत्वपूर्ण योगदानप्रति धन्यवाद व्यक्त गरे । उनले द्विपक्षीय सम्बन्ध मजबुत बनाउन र नेपालको दिगो विकास लक्ष्य हासिल गर्न कोइकाको भूमिकाको प्रशंसा गरे । साथै, आगामी दिनहरूमा अझ गहिरो सहकार्य गर्दै नेपालको समृद्धि र दिगोपनलाई अघि बढाउन मन्त्रालयको प्रतिबद्धता दोहोर्याए ।
नेपालका लागि कोरियाली राजदूत पार्क ते–यङ्गले कोइकाको ३० वर्षे यात्रा नेपाल र कोरियाबीचको गहिरो मित्रता र आपसी विश्वासको प्रतिबिम्ब भएको बताए । उनले नेपाललाई सहयोग गर्ने कोरियाको निरन्तर प्रतिबद्धतालाई जोड दिँदै नयाँ परियोजना सम्झौताहरूलाई साझा प्रगतिका प्रतीकको रूपमा औंल्याए ।
कोइका कोरिया सरकारको एक विकास सहयोग संस्था हो, जसले विभिन्न विकासशील देशहरूमा आर्थिक सहायता, प्राविधिक सहयोग र स्वयंसेवी कार्यक्रमहरूमार्फत सहयोग प्रदान गर्छ । कोइकाले नेपालमा शिक्षा, स्वास्थ्य, कृषि, सूचना प्रविधि, पर्यटन, पूर्वाधार विकास र प्रशासन सुधार जस्ता विभिन्न क्षेत्रहरूमा सहयोग गर्दै आएको छ ।
कोइकाले नेपालमा आफ्नो तीन दशक लामो विकास यात्राको समीक्षा गर्दै नेपाल सरकार र स्थानीय समुदायसँग सहकार्यमा समावेशी, दिगो र समृद्ध भविष्य निर्माण गर्न आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिने जनाएको छ ।
सन् १९९१ देखि दक्षिण कोरियाली सरकारले कोइका मार्फत नेपालमा स्वास्थ्य, शिक्षा, कृषि, प्राविधिक तालिम, ग्रामीण विकास, सूचना प्रविधि र पर्यटन जस्ता क्षेत्रमा सहयोग गर्दै आएको छ । कोइकाले हालसम्म नेपालभरका सरकारी निकायहरूमा २ हजार ९२१ जना स्वयंसेवकहरू परिचालन गरेको छ भने २ हजार २३० जना नेपाली निजामती कर्मचारीहरूले कोइकाका क्षमता अभिवृद्धिका कार्यक्रमहरूमा भाग लिएका छन् ।
कोइकाले विभिन्न नागरिक समाज संस्था, विश्वविद्यालय तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँग पनि सहकार्य गर्दै नेपाललाई दिगो विकास लक्ष्य हासिल गर्न सहयोग पुर्याउँदै आएको छ ।
सन् २०१० मा नेपाललाई कोइकाको प्राथमिकतामा राखेपछि दक्षिण कोरियाली सरकारको सहयोग उल्लेखनीय रूपमा बढेको छ । सन् २०२५ सम्म पुग्दा कोइकाको कुल सहयोग २०० मिलियन अमेरिकी डलर नाघेको छ । यसलाई अझ सबल बनाउन विकास सहयोग सम्बन्धी रूपरेखा सम्झौता पनि भइरहेको छ, जसले नेपाल–कोरिया बीचको मित्रता अझ बलियो बनाउने विश्वास छ ।
प्रतिक्रिया 4