
२६ भदौ, काठमाडौं । नेपाली सेनाले काठमाडौं, भक्तपुर र ललितपुरमा भोलि पनि दिनभर निषेधाज्ञा र राति कर्फ्यू लाग्ने जानकारी गराएको छ ।
सेनाको मुख्यालय जंग्गीअड्डाले जारी गरेको विज्ञप्ति अनुसार, भोलि (भदौ २७) गते बिहान ११ बजेबाट बेलुकी ५ बजेसम्म निषेधाज्ञा लाग्नेछ । त्यस्तै, साँझ ७ बजेबाट रातभर कर्फ्यू आदेश जारी गरिएको छ ।
बिहान ६ देखि ११ बजे र साँझ ५ देखि ७ बजेसम्मको समयमा भने अत्यावश्यक कार्यका लागि आवतजावत गर्न सकिने नेपाली सेनाले विज्ञप्तिमार्फत जनाएको छ ।
जेनजी युवाहरूले गत सोमबार र मंगलबार गरेको प्रदर्शन उग्र बनेपछि यतिबेला देशभर कर्फ्यू र निषेधाज्ञा लागेको छ ।
यसैबीच नेपाली सेनाले सुरक्षाको नेतृत्व गरिरहेको हो ।
जेनजीहरूको प्रदर्शनका क्रममा ३४ जनाले ज्यान गुमाएको तथ्यांक सार्वजनिक भएको छ ।
सेनाले नयाँ सरकारको नेतृत्वका लागि पहल गरिरहेको छ । जेनजी युवाहरू नै नेतृत्वको विषयमा विभाजित हुँदा विषय टुंगिन सकेको छैन ।
प्रतिक्रिया 4