
News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले देशको जिम्मा अब माओवादीको काँधमा आउँदै छ भनेकी छन्।
- अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय समिति भंग गरी मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव राखेका छन्।
- महाधिवेशनका लागि नयाँ टिम ल्याउने र पदाधिकारीलाई निर्देशक समितिमा रुपान्तरण गर्ने प्रस्तावमाथि छलफल भइरहेको छ।
१० असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले देशकै जिम्मा माओवादीको काँधमा आउँदै गरेको बताएकी छन् ।
काठमाडौंको प्रज्ञा भवनमा जारी केन्द्रीय समितिको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् । मुलुकको नेतृत्व लिँदै गर्दा पार्टीभित्र प्रष्ट र बलियो बैचारिक धार हुनुपर्ने उनको आग्रह छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भूमिकाले मुलुकमा ठूलो क्रान्ती र परिवर्तन भएको उल्लेख गर्दै उनले प्रचण्डकै भूमिका कारण संविधानसभाबाट संविधान जारी हुन सकेको बताइन् । पार्टीले उठाउँदै आएका एजेण्डा जेनजी आन्दोलनपछि फेरि अगाडि आएकाले त्यसलाई आडि बढाउन पार्टीले भूमिका खेल्ने उनको दृढता छ ।
उनले भनेकी छन्, ‘देशकै जिम्मा अब हामीमा आउँदै छ ।’ उपाध्यक्ष भुसालले अध्यक्ष प्रचण्डको प्रस्तावमा समर्थन जनाइन् ।
भुसालसँगै नेताहरू वर्षमन पुन, हरिबोल गजुरेल, अग्नि सापकोटा, मातृका यादव, राम कार्की लगायतले बोलेका छन् ।
उपत्यका विशेष प्रदेश, लुम्बिनी प्रदेशको निष्कर्ष पनि प्रस्तुत भइसकेको छ । नेता रहिश साहका अनुसार लुम्बिनी प्रदेशबाट अध्यक्ष प्रचण्डको प्रतिवेदनलाई पुर्ण समर्थन गरिएको छ । महाधिवेशन मंसिरमै गर्नुपर्छ भन्ने मतमा सबै सहमत छन् । मसिंरमा कहिले गर्ने गते तोकेर जानुपर्ने सुझाव प्रस्तुत भएको छ ।
महासमिति बनाएर संयोजक प्रचण्डलाई नै तोकेर महाधिवेशनमा जानुपर्ने सुझाव प्रस्तुत भएको छ ।
उपत्यका विशेष प्रदेशले पनि प्रचण्डकै नेतृत्वमा महाधिवेशनमा जाने निष्कर्ष सुनाएको छ । ‘आत्मालोचना गर्ने, नातागोतावाद तोड्ने प्रतिवद्धता भने सबैले गर्नुपर्ने’ सुझाव प्रस्तुत भएको छ ।
काठमाडौंको प्रज्ञा भवनमा बिहीबार सुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माको डकुमेन्ट प्रस्तुत भएका थिए ।
प्रचण्डले केन्द्रीय समिति भंग गरेर महाधिवेशन आयोजक समिति बनाउने प्रस्ताव राखेका छन् । आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव राखेका छन् ।
वरिष्ठ उपाध्यक्ष श्रेष्ठले आगामी फागुन २१ मा हुने प्रतिनिधि सभाको चुनाव पछाडि महाधिवेशन गर्नु उपयुक्त हुने बताएका छन् । नेतृत्वको सन्दर्भमा अध्यक्ष प्रचण्डले छोड्ने र कार्यवहाक अध्यक्ष आफूले पाउनुपर्ने प्रस्ताव राखेका छन् ।
उपमहासचिव जनार्दन शर्माले सबै पदाधिकारी नआउने गरी नयाँ टिम ल्याउने प्रस्ताव राखेका छन् । हाल रहेका पदाधिकारी निर्देशक समितिमा रुपान्तरित भएर रहने उनको प्रस्ताव छ ।
तीन वटै प्रस्तावमाथि छलफल गरेर समूहगत निष्कर्ष प्रस्तुत गर्नेक्रम चलिरहेको छ । समुहगत छलफल सकिएपछि अध्यक्ष प्रचण्डले जवाफ दिने र प्रतिवेदन पारित गरेर बैठक सक्ने तयारी छ ।
प्रतिक्रिया 4