News Summary
Generated by OK AI. Editorially reviewed.- अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका ६ जना नेता नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने भएका छन्।
- जसपा संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठ, उपाध्यक्ष रणध्वज लिम्बु र परशुराम बस्नेत नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने सहमति गरेका छन्।
- जसपा केन्द्रीय सल्लाहाकार सदस्य दुर्गामणि देवान, विज्ञ परिषद् अध्यक्ष डा. पुष्पराज राजकर्णिकार र अनुशासन आयोग अध्यक्ष कृष्णबहादुर घजु पनि समाहित हुने सहमतिमा छन्।
७ मंसिर, काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) का ६ जना नेता नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने भएका छन् ।
जसपा संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठ, उपाध्यक्षद्वय रणध्वज लिम्बु (कन्दङ्वा) र परशुराम बस्नेत लगायतका नेता नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने भएका हुन् ।
यस्तै नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने सहमति गर्नेमा जसपा केन्द्रीय सल्लाहाकार समितिका सदस्य दुर्गामणि देवान, केन्द्रीय विज्ञ परिषद् अध्यक्ष डा. पुष्पराज राजकर्णिकार, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष कृष्णबहादुर घजु रहेका छन् ।
जेनजी आन्दोलनपछि जसपामा नीति, सिद्धान्त तथा माग मुद्दाहरू मिल्ने राजनीतिक दलसँग एकीकरण, मोर्चा, तालमेल गर्ने निर्णय केन्द्रीय कार्यकारिणी समितिलाई दिइएकोमा बैठक नै नबोलाएर अनिर्णित बनाइएको संघीय परिषद् अध्यक्ष श्रेष्ठसहित ६ नेताले हस्ताक्षर गरेको जानकारी पत्रमा उल्लेख छ ।
‘दिनानुदिन काम गर्नुपर्ने कार्यकारिणीको स्थगित बैठक हालसम्म नडाकिएको हूँदा चालु केन्द्रीय कार्यकारिणी समितिको बैठकको कार्यसूची नं.१(ख) को कार्यसूचीलाई टुंङ्गोमा नपुर्याएकोमा असहमत रहँदै जेनजी आन्दोलनपछि विकसित नयाँ परिस्थितिमा २०६२/०६३ सालको जनआन्दोलनबाट प्राप्त उपलब्धिहरू समेत खतरामा पर्नसक्ने भएकाले विचारमा सामिप्यता रहेको अग्रगामी परिवर्तनका पक्षधर राजनीतिक शक्तिसँग मिलेर उपलब्धिहरूबमे रक्षा र थप उपलब्धी प्राप्तिका लागि संघर्ष गर्नु पर्दछ भन्ने हाम्रो धारणा रहेको छ,’ जानकारी पत्रमा उल्लेख छ ।
सोही निर्णय अनुसार केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरू जनता समाजवादी पार्टीको आ–आफ्नो पदीय जिम्मेवारीबाट अलग हुँदै नेपाली कम्युनिस्ट पार्टीसँग एकीकरण, ध्रुवीकरणको दिशामा अगाडि बढ्ने निर्णय गरिएको ६ नेताद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।

प्रतिक्रिया 4