News Summary
Generated by OK AI. Editorially reviewed.- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनमा एनसेलमा भएको क्षति समाधानका लागि सरकारले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।
- एनसेलले जेनजी लक्षित प्याक सार्वजनिक गर्ने र १ सय विद्यार्थीलाई १ करोड रुपैयाँ बराबरको छात्रवृत्ति दिने तयारी गरेको छ।
- एनसेलले सगरमाथा क्षेत्रमा थप पाँच टावर स्थापना गरी फोरजी सेवा विस्तार गर्ने योजना सुनाएको छ।
२२ मंसिर, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलन क्रममा एनसेलमा भएको क्षतिसम्बन्धी समस्या समाधानका लागि सरकारले आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सोमबार एनसेलको कार्यालय तथा डेटा सेन्टरको अवलोकन गर्दै सञ्चारमन्त्री खरेलले पछिल्लो समय एनसेलसँग सम्बन्धित समस्या समाधानका लागि पनि सरकार प्रयासरत रहेको बताएका हुन् ।
‘केही नीतिगत समस्या छन्, केही विवाद पनि देखिएका छन्, यद्यपि यी सबै कानुनसम्मत समाधान हुनुपर्छ भन्नेमा सरकार छ,’ सञ्चारमन्त्री खरेलले भने ।
मन्त्री खरेलले एनसेलको सेयर सम्बन्धी विवाद, भुक्तानी दायित्व लगायत सबै विवाद चाँडो समाधान गरिनुपर्नेमा जोड दिए ।
‘राज्य र नागरिकको नजरमा एनसेलको बिजनेस सम्मानित हुनुपर्यो, जति पनि विवाद छन्, तिनको समाधान गरेर क्लिन बिजनेस र सर्भिस दिनेतर्फ केन्द्रित हुन आग्रह गर्दछु,’ खरेलले भने, ‘क्लिन बिजनेसका लागि सरकारको साथ र सहयोग रहन्छ ।’
मन्त्री खरेललाई एनसेल कार्यालयमा अध्यक्ष सतिशलाल आचार्य र प्रमुख कार्यकारी अधिकृत (सीईओ) माइकल फोलेले स्वागत गरेका थिए । त्यस क्रममा एनसेलले जेनजी आन्दोलनमा भएको क्षतिबारे जानकारी गराएको थियो ।

२४ भदौमा भएको जेनजी आन्दोलन क्रममा एनसेलको लैनचौरस्थित केन्द्रीय कार्यालय क्षतिग्रस्त भएपछि एनसेलले नख्खुस्थित कार्यालयबाट सेवा प्रवाह गरिरहेको छ ।
एनसेलका अनुसार करिब ६५ करोड बराबर क्षति भएको थियो । अवलोकनपछि मन्त्री खरेलले आफूले एनसेलमा भएको क्षतिबारे जानकारी लिन आएको बताए । एनसेलले जेनजीलाई लक्षित गरी ‘प्याक’ ल्याउन लागेको सुन्दा खुसी लागेको पनि मन्त्री खरेलले उल्लेख गरे ।

‘मैले उहाँहरूलाई विद्यार्थी र जेनजीका लागि केही गर्नुहोस् भनेको थिएँ, उहाँहरूले नयाँ प्याकेज ल्याउँछौं भन्नुभएको छ,’ सञ्चारमनत्री खरेलले भने, ‘त्यसबाहेक सगरमाथा आधार शिविर र केही दुर्गम स्थानमा टेलिकमको पहुँच बढाउने विषयमा उहाँहरूले आफ्नो योजना सुनाउनुभएको छ ।’
उनले एनसेलमा ठूलो क्षति भएको उल्लेख गर्दै सरकारबाट हुन सक्ने सहयोगका लागि तयार रहेको समेत बताए ।
एनसेलका अनुसार कम्पनीले जेनजी लक्षित गरी प्याक सार्वजनिक गर्ने र मुलुकभरिका १ सय विद्यार्थीलाई १ करोड राशिको जेनजी छात्रवृत्ति पनि घोषणाको तयारी गरेको छ ।
एनसेलका तर्फबाट मन्त्री खरेललाई सगरमाथामा क्षेत्रको गोरखसेपसम्म थप पाँच टावर थप गरी ‘फोरजी’ सेवा विस्तार गर्न लागेको जानकारी गराइएको थियो ।

एनसेलका सीईओ फोलेले नेपालको टेलिकम क्षेत्रको सेवा अन्तर्राष्ट्रिय स्तरको नभएको उल्लेख गर्दै सरकारले नीतिगत रूपमा सहजीकरण गर्नुपर्ने धारणा राखे ।
‘टेलिकम्युनिकेसन सेवा पछिल्लो समय मानिसका लागि अत्यावश्यक भइसकेको छ, त्यसैले सरकारले पनि यस विषयमा ध्यान दिनु आवश्यक छ,’ उनले भने ।
प्रतिक्रिया 4