News Summary
Generated by OK AI. Editorially reviewed.- इन्डिगोको विमानमा उडिरहेको बेला परेवा पसेको घटना सार्वजनिक भएको छ जसले यात्रु र चालक दलबीच अन्यौलता सिर्जना गर्यो।
- इन्डिगोले पाइलटहरूको संख्या बढाउने नयाँ नियम लागू भएपछि उडानहरू रद्द गरेको र सरकारले त्यो नियम स्थगित गरेको छ।
- इन्डिगोले १० डिसेम्बरसम्म उडान तालिका सामान्य अवस्थामा फर्किने प्रतिक्रिया दिएको छ।
२२ मंसिर, एजेन्सी । उडिरहेको विमानमा चरा ठोक्किएको घटना त प्राय: हामीले सुन्दै आएका छौं । तर, भारतको चर्चित एयरलाइन्स इन्डिगोको एक विमानमा परेवा पसेको छ ।
इन्डिगोको फ्लाइट रद्द भएर विमानस्थलमै यात्रुहरूको चर्को आलोचना र विरोध खेपिरहेका बेला उडिरहेको विमानमै परेवा छिरेको घटना सार्वजनिक भएको हो ।
बेंगलुरु–बडोदरा उडान भरिरहेको इन्डिगोको विमान अवतरण गर्नु अघि परेवा पसेपछि यात्रु र चालक दलका सदस्यबीच केहीबेर अन्यौलता र रोमाञ्चकता सिर्जना भएको थियो ।
सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियो फूटेजमा बाहिर निक्लिनका लागि बाटो खोज्दै परेवा विमानभित्र लगातार यताउता उडिरहेको देखिन्छ ।
चालक दलका सदस्य र केही यात्रुहरूले परेवालाई समात्ने प्रयास गरे पनि परेवा केहीबेर यताउता उडिरह्यो । सोही बेलाको दृश्य एक यात्रुले आफ्नो क्यामेरामा कैद गर्न भ्याए र अहिले सामाजिक सञ्जालमा त्यसैको चर्चा भइरहेको छ ।
सुरुमा इन्स्टाग्राममा पोस्ट भएको उक्त भिडियो हेरेर प्रयोगकर्ताले अनेक टिप्पणी गरिरहेका छन् । कतिले एयरलाइन्सको सुरक्षा संवेदनशीलतामाथि प्रश्न गरिरहेका छन् ।
उडिरहेको विमानमा परेवा कसरी पस्यो भन्ने खुलेको छैन । इन्डिगो एयरलाइन्सले पनि हालसम्म यसबारे कुनै प्रतिक्रिया नजनाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । साथै विमानभित्र परेवा छिरेको घटनाको मितिसम्म यकिन हुन सकेको छैन । यद्यपि यो यो घटना यसै साता भएको अनुमान गरिएको इन्डिया टूडेले लेखेको छ ।
यसअघि सन् २०२० को फेब्रुअरीमा पनि भारतकै अहमदाबादबाट जयपुर जाँदै गरेको फ्लाइटमा परेवा पसेको थियो ।
इन्डिगो भारतमा हवाइ यात्राको ६५ प्रतिशत हिस्सा ओगटेको एयरलाइन्स हो । पछिल्लो एक सातामा ४५० भन्दा धेरै फ्लाइट रद्द र उडानमा ढिलाइ हुँदा इन्डिगो एयरलाइन्सको भारतमा चर्को आलोचना भइरहेको छ ।
सरकारले चालक दलका सदस्य संख्या बढाउनु पर्ने गरी नियम लागू गरेपछि इन्डिगोले दबाब सिर्जना गर्न उडान रद्द गरेको टिप्पणी भइरहेको छ ।
पाइलटहरूको आरामका लागि बनाइएको उडान ड्युटी समय सीमा (एफडीटीएल) नियम अन्तर्गत संशोधित नियमहरू लागू भएपछि पाइलटको अभाव देखाउँदै इन्डिगोले सोमबारसम्म थुप्रै उडानहरू रद्द गरेको छ ।
पाइलटहरूको नयाँ नियमका कारण उडान तालिका अस्तव्यस्त बनेको एयरलाइन्सको दाबी छ ।
यद्यपि, सरकारले हाल उक्त नियमलाई हाललाई स्थगित गरेको छ ।
इन्डिगोले १० डिसेम्बरसम्म उडान तालिका सामान्य अवस्थामा फर्किने प्रतिक्रिया दिएको छ ।
प्रतिक्रिया 4