News Summary
Generated by OK AI. Editorially reviewed.- अञ्जना बराइलीले २० लाख रुपैयाँ पारिश्रमिक डिमान्ड गरेको हल्ला बाहिरिएकोमा असन्तुष्टि व्यक्त गरेकी छिन्।
- उनले पारिश्रमिकको कुरा नितान्त गोपनियताको विषय भएको र यसलाई बाहिर ल्याउनु राम्रो नभएको बताइन्।
- अञ्जनाले चलचित्र उद्योगमा हार्ड वर्क गर्ने आउटसाइडरलाई टिक्न दिइँदैन र यो कलाको अपमान भएको उल्लेख गरिन्।
काठमाडौं । नेपाली फिल्मको इतिहासमा सर्वाधिक कमाउने शीर्ष पहिलो र चौंथो फिल्म अभिनेत्री अञ्जना बराइलीको नाममा छन् । ‘पूर्णबहादुरको सारंगी’ मा बाटुली होस् या ‘परान’ की कान्छी बुहारी ।
एकपछि अर्को हिट फिल्ममा अभिनय गरेकी अञ्जना अहिलेकी ‘डिमान्डेड एक्ट्रेस’ पनि हुन् । सफलताको घोडामा सयर गरिरहेकी उनै अञ्जना केही दिनयता पारिश्रमिकको कारणले चर्चामा छिन् ।
उनले २० लाख रुपैयाँ पारिश्रमिक डिमान्ड गरेको कुरा केही मिडिया विवरणमा उल्लेख छ । उनलाई हालै अप्रोच गरिएका केही फिल्मका निर्माण स्रोतबाट यो हल्ला फैलिएको अनुमान गरिएको छ ।
जुन कुरालाई लिएर स्वयम अञ्जना खुसी छैनन् । महंगो पारिश्रमिक डिमान्ड गरिएको भन्ने अपुष्ट विवरणबारे अनलाइनखबरले अञ्जनालाई जिज्ञासा राखेको थियो ।
जवाफमा उनी असन्तुष्टि सुनिइन् । ‘पारिश्रमिकको कुरा नितान्त गोपनियताको कुरा हो । जहाँबाट यो कुरा आयो, उहाँहरूले व्यवसायिक मर्यादा कायम गर्नुपथ्र्यो । बाहिर आएको कुरामा मलाई चित्त बुझेको छैन ।’

उनले चलचित्र उद्योगमा टिकेर मिहेनतसँग काम गर्न मुस्किल हुने गरेको अनुभव सुनाइन् । भन्छिन्, ‘आउटसाइडर भएर इन्डष्ट्रिमा हार्ड वर्कसँग राम्रो काम गर्नेलाई टिक्न दिइँदैन । अहिले जे भैरहेको छ, यो कलाको अपमान हो । घुमाउरो तरिकाले ब्यंग्य गरिएको हो ।’
पारिश्रमिकको कुरालाई प्राइभेसी राख्नुपर्ने उनको भनाई छ । भन्छिन्, ‘पारिश्रमिकको कुरा बजारमा फैलाउनु राम्रो होइन । यो कुराले अन्य प्रोजेक्टमा पनि असर गर्छ । उहाँहरुले गरेको यो कुरा मानवता नै नरहेको जस्तो लाग्यो ।’
घरेलु फिल्ममा बेला-बेलामा पारिश्रमिकको कुरालाई लिएर चर्चा हुने गरेको छ । विशेषगरि, महिला कलाकारले पारिश्रमिकमा न्याय होस् भन्ने धारणा बेला बेलामा राख्दै आएका छन् ।
प्रतिक्रिया 4