+
+
Shares

संग्रहालयको प्रदर्शनीमा छोराको शव देखेपछि…

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ४ गते १८:३३
Pixabay
Listen News
0:00
0:30
🔊

अमेरिकामा मानिसहरूका शवको प्रदर्शनी गर्ने एक अनौठो संग्रहालय विवादमा परेको छ । संग्राहलय हेर्न गएको टेक्सासकी ५४ वर्षीया किम एरिक नामक महिलाले त्यहाँ राखिएको एउटा शव आफ्नै छोराको भएको दाबी गरेसँगै उक्त संग्रहालय चर्चामा आएको छ ।

संग्रहालयको ‘रियल बडीज’ नामक उक्त प्रदर्शनी लास भेगासमा हालै आयोजना भएको थियो । त्यहाँ वर्षौंसम्म संरक्षित मानव शवहरू सार्वजनिक रूपमा देखाइन्छन् । किमका अनुसार प्रदर्शनीमा देखिएको उनको छोराको शवको छाला च्यातेर निकालिएको थियो र भित्रका अंगहरू स्पष्ट देखिने गरी काटिएको थियो । त्यो शव आफ्नो छोरा क्रिसकै रहेको कुरा प्रथम दृष्टिमै आफूले ठम्याएको उनको दाबी छ ।

संग्रहालय र स्थानीय प्रहरीले भने किमको दाबीलाई पूर्ण रूपमा अस्वीकार गरेका छन्।

संग्रहालयका अधिकारीहरूका अनुसार प्रदर्शनीमा राखिएका सबै शव चीनबाट ल्याइएका हुन् र तिनलाई पहिचान गर्ने कुनै आधार पाइँदैन । प्रहरीले पनि क्रिसको मृत्युबारे गरिएका पुराना अनुसन्धान सही भएको बताउँदै किमको त्यस्तो दाबीमा कुनै सत्यता नदेखिएको जनाएको छ । स्मरण रहोस् क्रिस सन् २०१२ को नोभेम्बरमा आफ्नी हजुरआमाको घरमा मृत फेला परेका थिए ।

प्रारम्भिक जाँच अनुसार उनलाई दुई पटक हृदयघात आएर निद्रामै मृत्यु भएको थियो । क्रिसको अन्त्येष्टि उनका बुबाले सम्हालेका थिए । तर मृतक छोराको अन्त्येष्टि कसरी र कहाँ भयो भन्ने स्पष्ट जानकारी आफूलाई कहिल्यै नदिइएको किमको दाबी छ । उनलाई केवल एउटा सानो डब्बामा राखिएको खरानी मात्र दिइएको थियो । किमले छोराको मृत्युको घटनाबारे पछि पुन: अनुसन्धानको माग गरिन् । केही समयपछि घटनास्थलका तस्वीरहरू हेर्दा क्रिसको हात, छाती र पेटमा बाँधिएको जस्तो चोटका दाग देखिन् ।

शवको परीक्षण रिपोर्टमा उनको शरीरमा साइनाइडको घातक मात्रा भेटिएको थियो । त्यसैले आफ्नो छोराको मृत्यु सामान्य नभएको ठहर उनले गरिन्। यद्यपि हत्या भएको पुष्टि गर्न कुनै ठोस प्रमाण नपाएपछि जूरीले सन् २०१४ मा क्रिसको मृत्युलाई आत्महत्या नै घोषित गर्‍यो । उता आमा किम भने उक्त निष्कर्षसँग सहमत छैनन् र छोराको हत्या भएको विश्वास गर्छिन् ।

किमले जब रियल बडीज प्रदर्शनीबारे थाहा पाइन् उनले त्यहाँ भएका शवका तस्वीरहरू ध्यानपूर्वक हेरिन् ।  तीमध्ये एउटा शवको खप्परको बनावट छोराको टाउकोमा परेको चोटसँग मिल्दोजुल्दो भएको दाबी उनको छ ।

उनका अनुसार क्रिसका शरीरमा रहेका सबै टाटू काटेर हटाइएको जस्तो देखिन्थ्यो, जसले उनी झनै आशंकित भइन् । किनकि टाटू छालासँगै काटिएन भने त्यो मेट्न सकिँदैन। किमको यस्तो दाबीप्रति प्रदर्शनी सञ्चालन गर्ने कम्पनी ‘इमेजिन एक्सिबिसन्स, इंक.’ ले प्रतिक्रिया दिँदै त्यस्तो आरोप आधारहीन भएको बताएको छ ।

आयोजकका अनुसार किमको छोराको भनी दाबी गरेको शव त्यहाँ सन् २००४ देखि निरन्तर रूपमा प्रदर्शनीमा राखिएको छ र त्यसको क्रिससँग कुनै सम्बन्ध छैन । साथै ती सबै शवका नमूनाहरू वैधानिक रूपमा प्राप्त गरिएका र पहिचानयोग्य पनि नभएको पनि कम्पनीले जनाएको छ । तर किम भने यस्तो दाबीबाट सन्तुष्ट छैनिन् । उक्त शवको डीएनए परीक्षण गराउन माग गर्दै उनले छोराको मृत्युबारे पुन: विस्तृत अनुसन्धानको दाबी गरिरहेकी छन् । उनले भनेकी छन् – छोराको हत्या भएको हो र त्यो सत्य उजार नगरुन्जेल म थाक्ने छैन ।

-एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?