News Summary
Generated by OK AI. Editorially reviewed.- सिन्धुपाल्चोकको बाह्रविसेमा प्राकृतिक स्रोतमा आधारित उद्यम र जलवायु वित्तका चुनौती तथा अवसरबारे कार्यशाला गोष्ठी सम्पन्न भएको छ।
- फरेस्ट एक्सन नेपालले चार वर्षदेखि बाह्रविसे क्षेत्रका उद्यमीसँग सहजीकरण गर्दै आएको कमल भण्डारीले बताए।
- त्रिपुरासुन्दरी गाउँपालिकामा पनि प्राकृतिक स्रोतको दिगो उपयोग र जलवायुमैत्री लगानीमा केन्द्रित एकदिने गोष्ठी सम्पन्न भएको छ।
सिन्धुपाल्चोक । यहाँको बाह्रविसेमा प्राकृतिक स्रोतमा आधारित उद्यमको प्रवर्द्धन र जलवायु वित्तका चुनौती तथा अवसर बारेमा सम्बद्ध पक्षबीच कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
फरेस्ट एक्सन नेपालको आयोजनामा भएको कार्यक्रममा स्थानीय जनप्रतिनिधि, उद्यमी र वित्तीय क्षेत्रका प्रतिनिधिले सहभागिता जनाएका थिए ।
बाह्रविसे नगरपालिकाकी उप-प्रमुख मन्जु तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा डा. मीना बोहराले ‘प्राकृतिक स्रोतमा आधारित उद्यममा जलवायु वित्तको भूमिका’ विषयमा कार्यपत्र प्रस्तुत गरेकी थिइन् ।
जलवायु परिवर्तनले सिर्जना गरेका जोखिमका बीच कसरी उद्यमशिलतालाई दिगो बनाउन सकिन्छ र यस क्षेत्रमा लगानीका अवसरहरू के-के छन् भन्नेबारेमा उनले चर्चा गरिन् ।
फिल्ड संयोजक कमल भण्डारीले संस्थाले ४ वर्षदेखि बाह्रविसे क्षेत्रका उद्यमीसँग सहजीकरण गर्दै आएको जनाए ।
संस्थाकी उपाध्यक्ष कञ्चन लामाले महिला उद्यमीको सशक्तीकरणमा जोड दिइन् । उनका अनुसार, बाह्रविसे र त्रिपुरासुन्दरी क्षेत्रमा सिस्नो, पाउडर, कफी, थुन्चे, डोका, नाङ्लो, कुचो र नर्सरीजस्ता उद्यम सञ्चालन गर्न संस्थाले सीप, ज्ञान र प्रविधि सहयोग गर्दै आएको छ । यसले स्थानीय महिलालाई स्वरोजगार बन्न मद्दत गरेको उनले बताइन् ।

फरेस्ट एक्सनको सहयोगमा ती उद्यम महिला समूहमार्फत ४ वर्षदेखि संचालन भैरहेका छन् ।
नगरपालिका ८ का वडाध्यक्ष विमल पौड्यालले उद्यमका लागि वडाले निःशुल्क जग्गा उपलब्ध गराएर नर्सरी व्यवस्थापनमा सहज गरिदिएको बताए । उत्पादित सामग्रीको बजार व्यवस्थापनमा समेत वडाले सक्रिय भूमिका खेलिरहेको र आगामी दिनमा उद्यमीलाई आवश्यक बजेट विनियोजन गरी सहयोग गर्ने प्रतिबद्धता उनले व्यक्त गरे ।
उपमेयर तामाङले नगरको तर्फबाट उद्यमीका लागि बजार प्रवर्द्धन र बजेटको उचित योजना बनाएर अगाडि बढ्ने आश्वासन दिइन् । स्थानीय स्रोतको परिचालन गरी आयआर्जन बढाउने कार्यमा नगरपालिका सधैं उद्यमीको साथमा रहने बताइन् ।
आयोजित कार्यक्रममा वडा ७ का वडाध्यक्ष ङिमा शेर्पा, सामुदायिक वन उपभोक्ता महासंघ सिन्धुपाल्चोकका उपाध्यक्ष एवं हरित स्वयंसेवक संयोजक शारदा चालिसे र फरेस्ट एक्सन नेपालकी अनुसन्धानकर्ता सृजना सिग्देल लगायत सहभागी थिए ।
त्रिपुरासुन्दरी गाउँपालिकामा पनि गोष्ठी

यहाँको त्रिपुरासुन्दरी गाउँपालिकामा पनि एकदिने गोष्ठी सम्पन्न भएको छ । शुक्रबार गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा सरोकारवालाले प्राकृतिक स्रोतको दिगो उपयोग र जलवायुमैत्री लगानीमा जोड दिए ।
गाउँपालिका अध्यक्ष भक्तध्वज बोहराले सो अवसरमा स्थानीय स्तरमा रहेका प्राकृतिक स्रोतलाई उद्यमशिलतामा बदल्न जलवायु वित्तको ठूलो भूमिका रहने बताए । प्रशिक्षक डा. मीना बोहराले प्राकृतिक स्रोत वित्तका चुनौती, अवसर र हालको विश्वव्यापी तथा स्थानीय अवस्थाबारे कार्यपत्र प्रस्तुत गरेकी थिइन् ।
प्रतिक्रिया 4