+
+
Shares

बेलायतको अल्डरसटको कन्सुलर घुम्ती शिविरबाट १०० बढीले लिए सेवा

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ५ गते १०:४२

५ माघ, लन्डन । लन्डनस्थित नेपाली राजदूतावासले नेपालीहरुको वाहुल्यता रहेको अल्डरसट सहरमा राहदानी तथा कन्सुलर घुम्ती शिविर गरेको छ ।

विशेष गरी ज्येष्ठ नागरिक र अशक्त व्यक्तिहरूलाई लक्षित गर्दै एकदिने शिविर गरिएको हो ।

१७ जनवरी शनिबार अल्डरसटस्थित शिव कल्चरल एण्ड कम्युनिटी सेन्टर प्रांगणमा दिनभर सञ्चालित शिविरबाट एक सय बढी नेपाली लाभान्वित भएको दूतावासका कार्यवाहक राजदूत विपिन दुवाडीले जानकारी दिए ।

शिविरमा विद्युतीय राहदानी नवीकरण, अधिकृत वारेसनामा, कागजात प्रमाणीकरण, पर्यटक भिसा, एकतर्फी यात्रा अनुमतिपत्र र गैरआवासीय नेपाली परिचय पत्र (एनआरएन आइडी)सम्बन्धी सेवा उपलब्ध गराइएको थियो ।

नेपालीहरु उल्लेख्य रहेको संयुक्त अधिराज्य (यूके) का चारवटै राज्यस्थित विभिन्न सहरमा यस खालका शिविर नियमित सञ्चालन भइरहेको दुवाडीले बताए । टाढा यात्रा गर्न असमर्थ नेपालीका लागि यस्ता शिविर बढी प्रभावकारी बनेको उनको भनाइ छ ।

अल्डरसटमा शिविर सञ्चालनका लागि स्थानीय ग्रेटर रसमोर नेपाली कम्युनिटी र शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरका प्रतिनिधिहरुले समन्वय र सहयोग गरेका थिए ।

शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरका अध्यक्ष हरि भट्टराईले घुम्ती शिविरबाट अरुको सहारामा दूतावाससम्म जानुपर्ने वृद्धवृद्धाका लागि समय र पैसा वचत भएको बताए । ‘हाम्रो समुदायमै आएर दूतावासले निकै राम्रो सेवा गरेकामा हामी कृतज्ञ छौं’, भट्टराईले भने, ‘अब दूतावाससंग सहकार्य गरी प्रत्येक ६ महिना वा वर्ष दिनमा नियमित शिविर गर्ने सोच बनाएका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?