+
+
Shares

निपाह भाइरस फैलन नदिन उच्च शतर्कता

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ८ गते १४:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतको पश्चिम बंगालमा निपाह भाइरसको संक्रमण देखिएपछि नेपालले सबै हवाई तथा थल नाकाबाट भित्रिने यात्रुको निगरानी शुरु गरेको छ।
  • स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले निपाह भाइरसको जोखिम उच्च भएकाले संक्रमित शंका भएका व्यक्तिलाई अस्पतालमा उपचारका लागि तोकेको जानकारी दिए।
  • निपाह भाइरस चमेरो, सुँगुर र संक्रमित व्यक्तिबाट सर्ने भएकाले ती माध्यमलाई विशेष ध्यान दिएर रोकथामका उपाय अपनाइएको छ।

८ माघ, काठमाडौं । छिमेकी मुलुक भारतमा निपाह भाइरसको संक्रमण देखिएपछि नेपालमा पनि संक्रमण फैलिन नदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उच्च शतर्कता अपनाएको छ ।

भारतको पश्चिम बंगालमा केही साताअघि निपाह भाइरसको संक्रमण पुष्टि भएपछि नेपालका सम्पूर्ण हवाई तथा थल नाकाबाट भित्रिने यात्रुको निगरानी शुरु गरिएको मन्त्रालयले जनाएको हो ।

मन्त्रालयका  प्रवक्ता डा. प्रकाश बुढाथोकीले हवाई तथा थल नाकामा स्थापना गरिएका हेल्थ डेस्कमार्फत संक्रमणका लक्षण देखिएका यात्रुमाथि निगरानी राख्ने कार्य भइरहेको जानकारी गराए ।

‘केही साता पहिले छिमेकी मुलुक भारतको पश्चिम बंगालमा निपाह भाइरसको संक्रमण देखापरिसकेपछि हामीले हाम्रान सम्पूर्ण हवाई एवं थल नाकामार्फत नेपाल भित्रिने व्यक्तिहरूलाई पनि निगरानी गर्न शुरु गरेका छौँ । त्यसैगरी हामीसँग थल र हवाई नाकामा रहेका हेल्थ डेस्कहरूले संक्रमणको लक्षण भएका बिरामीहरूलाई निगरानीमा राख्ने काम गर्नुभएको छ,’ उनले भने ।

प्रवक्ता बुढाथोकीले निपाह भाइरसको जोखिम नेपालमा उच्च रहेको उल्लेख गर्दै संक्रमणको शंका भएका व्यक्ति नेपाल प्रवेश गरेमा उपचारका लागि अस्पतालहरू समेत तोकिएको जानकारी पनि दिए ।

निपाह भाइरस चमेरो, सुँगुर वा संक्रमित व्यक्तिबाट सर्ने भएकाले ती माध्यमलाई विशेष ध्यानमा राखेर रोकथामका उपाय अपनाइएको उनको भनाइ छ ।

‘त्यस्ता व्यक्तिहरू नेपालभित्र आए भने उनीहरूको उपचार गर्नको लागि हामीले अस्पतालहरू समेत तोकेका छौँ । यो संक्रमण सार्ने माध्यम भनेको चमेरो र सुंगुर हो । कि चाहीँ संक्रमित व्यक्ति हो,’ उनले भने, ‘त्यसकारण यी तीन चिजहरूलाई मध्यनजगर गरेर आम नेपाली नागरिकलाई पनि निपा भाइरस संक्रमण फैलिएको ठाउँबाट आउने मानिसहरूलाई केही समय क्वारेन्टाइनमा रहने र उहाँहरूको सम्पर्कमा नजाने भनेर सचेतना फैलाइरहेका छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?