९ माघ, सुनसरी । धरानका नागरिक समाजका अगुवाहरूले प्रदेश सरकारको आर्थिक सहयोगमा चारकोशे जंगलमा खनिएको डिप ट्युबवेलबाट उत्पादित भूमिगत खानेपानी वितरण गर्न माग गरेका छन् ।
मेयर छँदै धरान खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष हर्कराज राई साम्पाङले राजीनामा दिएर चुनावी मैदानमा उत्रिएपछि कार्यवाहक मेयर अइन्द्रविक्रम बेघा लिम्बुसँग नागरिक अगुवाले बिर्को लगाएर राखिएको डिप ट्युबवेल सञ्चालनमा ल्याएर खानेपानी सहज बनाउन आग्रह गरेका हुन् ।
धरानको खानेपानीको समस्या हल गर्ने उद्देश्यले प्रदेश सरकारले डेढ वर्षअघि नै भूमिगत पानी उत्पादन गर्न दिएको आर्थिक सहयोगले चारकोशे जंगलमा डिप ट्युबवेल खनिएको थियो ।
सामाजिक अभियन्ता महेश श्रेष्ठसहितका अगुवाहरूले धरान उपमहानगरपालिकाका कार्यवाहक मेयरसमेत रहेका बोर्डका अध्यक्ष बेघालाई भेटेर प्रदेश सरकारको बजेटबाट खनिएको वेलबाट दैनिक ५० लाख लिटर पानी उत्पादन भए पनि अघिल्लो नेतृत्वले वितरण नगरेर अस्थाई खोलाखोल्सीमै सीमित बनेको गुनासो गरेका थिए ।
नागरिक अगुवाको आग्रह सुनेपछि बोर्ड अध्यक्ष बेघाले खानेपानी अभावका कारण धरानवासी निरन्तर पीडित रहँदै आएको र तयारी अवस्थामा रहेर पनि वितरण नगरिएको दैनिक ५० लाख लिटर उत्पादन हुने खानेपानीको स्रोतलाई सञ्चालन गर्ने प्रतिबद्धता जनाएका थिए ।
निवर्तमान बोर्ड अध्यक्ष साम्पाङ भने भूमिगत स्रोतको पानी डिप ट्युबवेलमार्फत उत्पादन गर्दा मासिक ५० लाख रुपैयाँभन्दा बढी विद्युत महसुल आउने भएपछि सतहको स्रोतमा जोड दिएर महसुल जोगाएको बताउँदै आएका थिए ।
साम्पाङले खानेपानी बोर्डका कर्मचारीहरूलाई श्रम संस्कृति पार्कको टिकट काउन्टरमा खटाएको भन्दै बेघाले खानेपानी बोर्डबाट अन्यत्र पठाइएका कर्मचारीलाई तुरुन्त फिर्ता ल्याउन पनि बोर्डका कार्यकारी निर्देशक राजु पोखरेललाई निर्देशन दिएका थिए ।
बेघाले भनेका थिए, ‘खानेपानी बोर्ड भित्र रहेका कर्मचारीहरू कहीँकतै पठाइएको छ भने तुरुन्त आजैको मितिदेखि कागजी प्रक्रिया सुरु गरेर बोर्डमै फिर्ता ल्याउनुहोला । यहाँ ल्याएर के जिम्मा दिने हो दिनुहोला, आजै निर्देशन दिएको छु ।’
उपमेयरबाट कार्यवाहक मेयर भएका बेघाले धरान खानेपानी व्यवस्थापन बोर्डलाई पारदर्शी बनाउने घोषणासमेत गरेका थिए । उनले धरान खानेपानी व्यवस्थापन बोर्डका गतिविधिहरू यसअघिका अध्यक्ष साम्पाङले गोप्य राखेको जस्तो नहुने बताए ।
मेयरले राजीनामा दिएपछि उपमेयर बोर्डको स्वत: अध्यक्ष हुने प्रावधानअनुसार बेघा अध्यक्ष भएका छन् । बोर्ड अध्यक्षको पदभार ग्रहण गर्दै उनले बोर्डको गतिविधि र कामकारबाहीलाई पारदर्शी बनाउने बताए । उनले भने, ‘खानेपानी व्यवस्थापन बोर्डको हिसाबकिताब अब गोप्य रहँदैन । पारदर्शिता भाषणमा होइन, व्यवहारमै देखिनुपर्छ ।’
पुस दोस्रो सातादेखि नै धरानमा दिन बिराएर पालो प्रणाली अपनाएर उपभोक्ताका धारामा खानेपानी वितरण हुँदै आएको छ ।
उनले धरानको पानी कुन स्रोतबाट कति पानी उत्पादन हुँदै आएको छ भनेर तथ्यसहित पत्रकार सम्मेलन गरेर नै सार्वजनिक गर्ने पनि बताए । उनले सुख्खायाममा धरानमा खानेपानीको अभाव सिर्जना हुने गरेकाले सर्दु जलाधार (सतह) र चारकोशे जंगल (भूमिगत) स्रोत–साधनबाट आएको पानीलाई व्यवस्थित र न्यायोचित ढंगले वितरण गर्ने पनि बताए ।
प्रतिक्रिया 4