११ माघ, जनकपुरधाम । मधेश प्रदेशमा राष्ट्रिय सभा सदस्यमा महिला क्लस्टरबाट नेकपा (एमाले) की उम्मेदवार रेखा झा विजयी भएकी छन् । झा ७ हजार २२२ मत भारसहित निर्वाचित भएकी हुन् । उनका प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की शमी कुमारी अग्रवालले १ हजार ९४४ मतभार प्राप्त गरेकी छिन् ।
जनता समाजवादी पार्टीकी उम्मेदवार चन्द्रकला देवी साहले ३२२ मतमा सीमित भइन् । झालाई जिताउन एमालेसहित कांग्रेस, जसपा र जनमते मतदान गरेको छ ।
महोत्तरीको सम्सी गाउँपालिका–४, गैढा भेटपुरकी रेखा झा शिक्षामा अर्थशास्त्र र सामाजिक शास्त्रमा स्नातक गरेकी छन् ।
नेकपा एमालेको प्रदेश सदस्य रहेकी रेखा दुईपटक दुईपटक एमालेबाट समानुपातिक सूचीमा परिन् । तर सांसद बन्न पाइनन् । निराश नभई निरन्तर पार्टी र जनताका लागि काम गरिरहिन् । ‘यहाँसम्म आइपुग्छु भन्ने लागेको थिएन,’ उनले भनिन् । राष्ट्रिय सभा सदस्यमा निर्वाचित हुन पाउँदा खुसी र गर्वको महसुस भएको बताइन् ।
युवाकालदेखि नै राजनीतिमा लागेकी उनी जनकपुरधामस्थित जानकी माध्यमिक विद्यालयबाट एसएलसी गरेकी हुन् । जनकपुरधामको रामानन्दचोक माइत भएकी उनी चार भाइबहिनीमध्ये माहिली हुन् ।
सामाजिक चेतना र राजनीतिक वातावरणमै हुर्किएकी झा सामाजिक क्षेत्रमा पनि सक्रिय भूमिका निर्वाह गरेकी छन् ।
विगतमा उनी मानवअधिकार एलायन्समा आवद्ध भई अधिकार र न्यायका पक्षमा काम गरेकी छन् । महिला सशक्तीकरण र संगठन निर्माणमा उनको योगदान छ । अखिल नेपाल महिला संघको केन्द्रीय सदस्य तथा किसान संघको केन्द्रीय सदस्यको जिम्मेवारीसमेत उनी सम्हालिसकेकी छन् ।
उनका पति सुधिर झा कृषिपेशासँगै गैरसरकारी संस्थामा आबद्ध भएर सामाजिक काममा सक्रिय छन् । परिवार, समाज र राजनीतिबीच सन्तुलन मिलाउँदै अघि बढ्नु उनको जीवनको ठूलो चुनौती र उपलब्धि दुवै बनेको छ । पार्टीले आफूमाथि गरेको विश्वासलाई जिम्मेवारीका रूपमा लिएको उनको भनाइ छ । उनका चार सन्तान छन् ।
प्रतिक्रिया 4