News Summary
Generated by OK AI. Editorially reviewed.- फ्रान्सले इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सलाई युरोपेली सङ्घको आतङ्ककारी सङ्गठन सूचीमा समावेश गर्ने निर्णय समर्थन गरेको छ।
- फ्रान्सेली विदेश मन्त्री जाँ-नोएल बारोटले इरानी जनताको साहसको सम्मान गर्न दमनलाई टुलुटुलु हेर्न नसकिने बताउनुभएको छ।
- अमेरिका, फ्रान्स, जर्मनी र इटालीको समर्थनमा यो प्रस्ताव युरोपेली सङ्घमा पारित हुने निश्चित देखिएको छ।
१५ माघ, काठमाडौं। फ्रान्सले आफ्नो पुरानो कूटनीतिक अडान बदल्दै इरानको ‘इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स’ (आईआरजीसी) लाई युरोपेली सङ्घको आतङ्ककारी सङ्गठनको सूचीमा समावेश गर्ने निर्णयलाई समर्थन गरेको छ।
बिहीबार ब्रसेल्समा हुने युरोपेली सङ्घका विदेश मन्त्रीहरूको बैठकमा इरानमाथि नयाँ प्रतिबन्धहरू लगाउने तयारी भइरहँदा फ्रान्सको यो निर्णय सार्वजनिक भएको हो।
यसअघि इरानसँगको कूटनीतिक सम्बन्ध पूर्ण रूपमा टुट्ने र इरानी जेलमा रहेका आफ्ना नागरिकहरूको सुरक्षामा खतरा पुग्ने डरले पेरिसले यो कदम चाल्न हिचकिचाउँदै आएको थियो। तर, इरानमा जारी प्रदर्शनकारीहरूमाथि सरकारले हजारौँको मृत्यु हुने गरी गरेको दमनले फ्रान्सलाई आफ्नो नीति परिवर्तन गर्न बाध्य तुल्याएको छ।
फ्रान्सेली विदेश मन्त्री जाँ-नोएल बारोटले शान्तिपूर्ण नागरिकमाथि भइरहेको दमनलाई अब टुलुटुलु हेरेर बस्न नसकिने बताउँदै इरानी जनताको साहसको सम्मान गर्न यो निर्णय लिइएको स्पष्ट पार्नुभएको छ।
सन् १९७९ को इस्लामिक क्रान्तिपछि इरानको राजनीतिक प्रणालीको रक्षाका लागि स्थापना गरिएको आईआरजीसीको त्यहाँको अर्थतन्त्र, सेना र आणविक कार्यक्रममा ठूलो पकड रहेको छ।
अमेरिकाले यसअघि नै यसलाई आतङ्ककारी समूह घोषणा गरिसकेको अवस्थामा अब फ्रान्स, जर्मनी र इटालीको समर्थनले युरोपेली सङ्घमा पनि यो प्रस्ताव पारित हुने निश्चित देखिएको छ।
कूटनीतिज्ञहरूका अनुसार आईआरजीसीको भूमिका देशभित्र हिंसा फैलाउन मात्र नभई विदेशमा पनि अस्थिरता सिर्जना गर्न केन्द्रित रहेको छ र यसलाई आतङ्ककारी गतिविधि सरह मान्न सकिन्छ।
तेहरानस्थित दूतावासमा रहेका आफ्ना नागरिकहरूको सुरक्षालाई लिएर चिन्ता कायम रहे तापनि युरोपेली मुलुकहरूले मानव अधिकार र क्षेत्रीय सुरक्षालाई प्राथमिकता दिँदै इरानी नेतृत्वलाई कडा राजनीतिक सन्देश दिन खोजेका छन्।
(एनडीटीवी वर्ल्ड न्युजबाट)
प्रतिक्रिया 4