+
+
Shares

काठमाडौं-६ : दोहोरिन खोज्दै रास्वपा, फर्किन चाहँदै कांग्रेस-एमाले

कांग्रेस, एमाले, राप्रपा लगायतका दलबाट काठमाडौं–६ मा नयाँ अनुहार उम्मेदवार देखिँदा रास्वपाबाट अघिल्लो चुनावका निर्वाचित पुनः अवसर पाएका छन् । गत चुनावमा प्रत्यक्ष र समानुपातिकमा पहिलो शक्ति बनेको रास्वपा नै अन्य दललाई चुनौती बनेको छ ।

लिलु डुम्रे लिलु डुम्रे
२०८२ माघ १७ गते ८:२०

१६ माघ, काठमाडौं । आसन्न प्रतिनिधि सभाको निर्वाचनमा काठमाडौं-६ मा नेपाली कांग्रेस र नेकपा एमालेबाट नयाँ अनुहार उम्मदेवार हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भने पूर्व निर्वाचितलाई दोहोर्‍याएको छ ।

पहिलोपटक २०७९ सालमा प्रतिनिधि सभामा उम्मेदवार बनेर निर्वाचित भएका शिशिर खनाललाई रास्वपाले पुनः प्रतिस्पर्धामा अघि सारेको छ ।

कांग्रेसले अघि सारेका कृष्ण सुबज बानियाँ, एमालेका अमनकुमार मास्के र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) उम्मेदवार उद्धवराज भेटवाल यस क्षेत्रका लागि प्रतिनिधिका नयाँ प्रतिस्पर्धी हुन् ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार हिमाल शर्मा दोस्रोपटक प्रतिस्पर्धामा उत्रिएका छन् । दलीय उम्मेदवार १५ र स्वतन्त्र ५ गरी यस क्षेत्रमा कूल २० जना चुनावी मैदानमा छन् ।

गत निर्वाचनमा प्राप्त गरेको मतको आधारमा विश्लेषण गर्दा रास्वपा यो क्षेत्रमा पहिलो शक्ति हो । प्रत्यक्ष र समानुपातिक दुवैतर्फ रास्वपाले पहिलो स्थानको मत पाएको थियो ।

रास्वपाका सचिवालय सदस्य खनालले गत निर्वाचनमा १४ हजार २२१ मत ल्याएर निर्वाचित भएका थिए । समानुपातिक तर्फपनि रास्वपा पहिलो दल बनेको थियो ।

उक्त दलले ११ हजार ९९६ मत पाउँदा दोस्रो स्थानमा एमाले थियो । एमालेको पक्षमा समानुपातिकमा ८ हजार १९ मत खस्दा कांग्रेसले ७ हजार ५७७ मत प्राप्त गरेको थियो ।

गत निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेपछि चुनाव चिन्ह घण्टी लिएर खनालले प्रतिस्पर्धा गरेका थिए । खनाल पार्टी भूमिकामा सचिवालय सदस्य, विदेश विभाग र पर्यटन विभागका प्रमुख छन् ।

४७ वर्षीय खनालले अमेरिकास्थित युनिभर्सिटी अफ विसकन्सिनबाट स्नातकोत्तर तहको अध्ययन सकेका छन् ।

युनिभर्सिटी अफ विसकन्सिन म्याडिसनबाट सार्वजनिक नीतिमा स्नातकोत्तर र वज्रपोर्ट विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय राजनीतिक अर्थशास्त्रमा स्नातकको अध्ययन सकेका छन् । सक्रिय राजनीतिमा आउनु अघि ‘टिच फर नेपाल’ संस्था मार्फत उनी परिचित थिए ।

सुशासनका लागि भ्रष्टाचार न्यूनीकरण, सेवा प्रवाहको डिजिटाइजेसनलाई उनले चुनावी मुद्दा बनाएका छन् । आर्थिक वृद्धिका लागि कानुन निर्माण, संशोधन र खारेजी गर्नुपर्ने आवश्यकता उनी देख्छन् । पूर्वाधार विकास, आर्थिक कूटनीतिको प्रवर्द्धन लगायतलाई उनले चुनावी मुद्दा प्रवाहित गरेका छन् ।

२०७९ सालको निर्वाचनमा यस क्षेत्रमा प्रतिस्पर्धी हुन चाहेका तर टिकट प्राप्त गर्नबाट वञ्चित भएका व्यक्ति कृष्ण सबुज बानियाँलाई कांग्रेसले उम्मेदवार बनाएको छ । दुईपटक काठमाडौं जिल्ला सभापति बनेका बानियाँ यसपटक प्रतिस्पर्धामा उत्रने अवसर पाएका छन् । २०५४ सालमा तत्कालीन गोंगुब गाविसको अध्यक्षमा निर्वाचित ६१ वर्षिय बानियाँ टोखा नगरपालिकाबासी हुन् ।

पहिलोपटक प्रतिनिधि सभाको उम्मेदवार बनेका बानियाँले नदी संरक्षणलाई प्रमुख चुनावी मुद्दा बनाएर मतदाताकहाँ पुगिरहेका छन् । मतदातासँग बानियाँ भन्छन्,‘शहरी संरक्षण तथा पुर्नजागरण सम्बन्धी संकल्प प्रस्ताव संसद बैठकमा पेश गर्ने प्रतिबद्दता गर्दछु । काठमाडौंका नदीहरुलाई प्राकृतिक सम्पदा घोषणा गर्ने प्रक्रियामा सुरु गराउन पहल लिने उनले बताएका छन् । निर्वाचित भएको अवस्थामा शहरी नदी संरक्षण ऐन बनाउन सक्रियता लिने प्रतिबद्दता मतदातासँग गरेका छन् । बानियाँ भन्छन्,‘‘मेरो उद्देश्य पद पाउनु होइन । प्रणाली सुधार्नु हो ।’

गत निर्वाचनमा गुमाएको क्षेत्र फर्काउनुपर्ने चुनौती बानियाँको सामु छ । २०७९ सालको निर्वाचनमा उम्मेदवार बनेका भीमसेनदास प्रधानले तेस्रो स्थानको मत ८ हजार ८१२ पाएका थिए । २०७४ सालमा भने उनै प्रधानले यो क्षेत्र जितेका थिए ।

विघटित प्रतिनिधि सभाको दोस्रो दल एमालेबाट उम्मेदवार हुनका लागि प्रदेश सभा सदस्यबाट राजीनामा गर्न लगाएर अमनकुमार मास्केलाई अघि बढाइएको छ । काठमाडौं–६ (२) बाट निर्वाचित उनले बागमती प्रदेश सभामा पूरा कार्यकाल रहेनन् ।

प्रतिनिधि सभामा उठ्नका लागि राजीनामा दिएर उम्मेदवार बनेका छन् । बागमती प्रदेश सरकारमा उनी भौतिक पूर्वाधारविकास मन्त्री समेत बने । यसै क्षेत्रको तारकेश्वर नगरपालिका–फुटुङ स्थायी बासिन्दा मास्केले स्नातकोत्तर तहसम्म अध्ययन गरेका छन् । इन्जिनियर समेत रहेका मास्के एमालेको ११ औं महााधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।

अघिल्लोपटक दोस्रो स्थानमा रहेका एमालेबाट उम्मेदवार बनेका मास्केले ‘विकास भनेको आजको लागि मात्र होइन, पुस्तौंका लागि योजना हो’ भन्दै चुनावी मुद्दा सहित प्रचारमा लागेका छन् ।

मतदातासँग उनी भन्छन्, ‘राजनीति एउटा सेवा हो । पेशा होइन । एमालेले यसपटक जित्नेछ । र, इतिहास कायम हुनेछ । त्यो इतिहासको साक्षी तपाईंहरु हुनु हुनेछ ।’ प्रदेश सभा सदस्य र मन्त्री मतदाताको चाहना अनुसार बनेको उल्लेख गर्दै यस क्षेत्रका बासिन्दाले दायरा फराकिलो बनाउन आग्रह गरेर संघको उम्मेवार बनेको उनी बताउँछन् । अघिल्लो निर्वाचनमा यस क्षेत्रमा एमालेबाट एमालेबाट सर्वेन्द्र खनाल बनेर पराजित भएका थिए । उनको पक्षमा ८ हजार ९१७ मत खसेको थियो ।

राजनीतिक दलका विभिन्न घटकहरु सम्मिलित गरेर गठन भएको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट हिमाल शर्मा उम्मेदवार बनेका छन् । शर्माका लागि यो क्षेत्र दोस्रोपटकको उम्मेदवारी हो ।

२०७० सालमा यस क्षेत्रबाट उनी उम्मेदवार बनेका थिए । तत्कालीन माओवादी पार्टीको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का अध्यक्ष शर्माले त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको स्ववियु निर्वाचनमा २०६५ सालमा सभापति पदमा जितेका थिए । हाल तारकेश्वरका बासिन्दा शर्माले स्नातकोत्तर तहको अध्ययन सकेका छन् ।

नेकपाका उम्मेदवारको चुनावी प्रचारका लागि ६६६ सदस्यी निर्वाचन परिचालन समिति गठन गरिएको छ । विद्यार्थी संगठनका पूर्वनेता सुदेश पराजुलीको नेतृत्वमा निर्वाचन परिचालन समिति गठन गरिएको हो ।

‘वर्तमानको जिम्मेवारी, भविष्यको आशा । काठमाडौं –६ मा तारा, जनताको सहारा’ नारा तय गरेर शर्माको चुनावी प्रचार भइरहेको छ । नेकपा उम्मेदवार शर्मा आफू जेनजीको वास्तविक प्रतिनिधि भएको दाबी सहित मत मारिहेका छन् ।

उनी भन्छन्,‘जेनजी पुस्ताको वास्तविक प्रतिनिधित्व गर्नसक्ने म हुँ । उहाँहरुको भावनाको कदर मैले गर्न सक्छु ।’

यस क्षेत्रमा तत्कालीन माओवादी केन्द्रका नेता झक्कु सुवेदी २०७४ सालमा पराजित भएका थिए । तत्कालीन समयमा एमाले र माओवादी एकता गर्ने गरी टुंगो लागेपछि माओवादीबाट झक्कु सुवेदी उम्मेदवार बनेका थिए ।

सुवेदी कांग्रेसका उम्मेदवार प्रधानसँग पराजित भएका थिए । झक्कुको पक्षमा १५ हजार ४८५ मत आएको थियो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट उद्धवराज भेटवाल उम्मेदवार बनेका छन् । ३६ वर्षीय भेटवालले स्नातकोत्तर तहको अध्ययन सकेका छन् । २०७९ सालको चुनावमा विष्णुप्रसाद आचार्यलाई राप्रपाले उम्म्मेदवार बनाएको थियो । यसपटक राप्रपाले नयाँ अनुहारका रुपमा भेटवाललाई अघि सारेको छ ।

विदेशवादलाई हराउन र स्वदेशीवादलाई जिताउनका लागि राप्रपाले जित्नुपर्ने तर्क उनले मतदाता सामू गरेका छन् । भेटवाल भन्छन्, ‘हामीलाई कुनैपनि विन्दु र अर्थमा हार्ने छुट छैन । हार्ने सुविधा छैन ।’

राजसंस्था सहितको प्रजातन्त्रको मुद्दा सहित भेटवाल चुनावी प्रचारमा जुटिरहेका छन् । गत निर्वाचनमा यस क्षेत्रमा राप्रपाका उम्मेदवार आचार्यले २ हजार १८५ मत सहित चौथो स्थानमा थिए ।

यस क्षेत्रमा काठमाडौँ महानगरपालिकाको २६, २७ र २८ नम्बर वडा, टोखा नगरपालिकाको १, ८, ९, १० र ११ र तारकेश्वर नगरपालिकाका वडा १, २, ६, ७, ८, ९, १० र ११ पर्दछन् ।

लेखक
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?