+
+
Shares

नेपाली सरकारी कर्मचारीलाई कोइकाको तालिम

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १९ गते १३:०२
Listen News
0:00
0:30
🔊

काठमाडौं । कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) ले स्नातकोत्तर तथा विद्यावारिधि छात्रवृत्ति प्राप्तकर्ताका नेपाली सरकारी कर्मचारीलाई अभिमुखीकरण तालिम दिएको छ ।

कोइका अलुम्नाई एसोसिएसन अफ नेपाल (कान) को सहकार्यमा सन् २०२५ पार्ट–२ (जनवरी इन्टेक) अन्तर्गत छनोट भएकाहरुलाई कोइका नेपाल कार्यालयमा तालिम दिइएको हो ।

२९ जनवरी २०२६ मा आयोजित अभिमुखीकरण कार्यक्रममा कोरियामा अध्ययन गर्ने विद्यार्थीलाई त्यहाँको विश्वविद्यालय, शैक्षिक प्रणाली, जीवनशैली तथा संस्कृति, प्रस्थान प्रक्रिया र विदेश अध्ययनसँग सम्बन्धित व्यावहारिक जानकारी प्रदान गरिएको थियो । कार्यक्रममा कोइका नेपाल कार्यालयका उपनिर्देशक चुङही चोइले छात्रवृत्ति प्राप्तकर्तालाई बधाई दिँदै कोरियामा अध्ययन तथा जीवनका लागि उपयोगी अनुभव र सुझाव साझा गरेका थिए ।

कोइकाको नेपाल कार्यालयका अनुसार कोइकाको छात्रवृत्ति कार्यक्रममार्फत हालसम्म १७५ जना नेपाली सरकारी कर्मचारीले स्नातकोत्तर अध्ययन पूरा गरिसकेका छन् । उनीहरूले कोरियामा अध्ययनका क्रममा उत्कृष्ट शैक्षिक प्रदर्शन गरेको कोइकाले जनाएको छ ।

चालु शैक्षिक वर्षमा अगस्ट र जनवरी इन्टेक गरी आठ जना सरकारी कर्मचारी कोइका छात्रवृत्तिमा छनोट भएका छन् । तीमध्ये दुई जना ई–गभर्नेन्स र सार्वजनिक व्यवस्थापन विषयमा विद्यावारिधि अध्ययन गर्नेछन् भने बाँकी छ जना विभिन्न विषयमा स्नातकोत्तर अध्ययनका लागि कोरिया जानेछन् ।

दीर्घकालीन शैक्षिक कार्यक्रमसँगै कोइकाले छोटो अवधिका देश–विशेष क्षमता विकास तालिम पनि सञ्चालन गर्दै आएको छ । सन् २०२५ मा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलगायतका निकायका ७५ जना सरकारी कर्मचारीले यस्ता तालिममा सहभागिता जनाएका थिए ।

यी तालिमहरू स्वास्थ्य आपतकालीन समन्वय तथा कार्य प्रणाली सुदृढीकरण, प्राविधिक तथा व्यवसायिक शिक्षा (टीभिइटी) प्रशिक्षकका लागि ई–लर्निङ सीप विकास, फलफूल तथा तरकारीको कटनीपछिको व्यवस्थापन सुधार तथा प्रभावमा आधारित बाढी पूर्वचेतावनी प्रणाली विकासमा केन्द्रित थिए । कोइकाका अनुसार सबै कार्यक्रम नेपाल सरकारको औपचारिक अनुरोधमा प्राविधिक सहयोगमार्फत कार्यान्वयन गरिएको हो ।

कोइकाले सन् १९९५ देखि ‘क्यापासिटी इम्प्रुभमेन्ट एन्ड एडभान्समेन्ट फर टुमारो’ (सिआट) कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस कार्यक्रमअन्तर्गत छोटो अवधिका तालिम र दीर्घकालीन स्नातकोत्तर तथा विद्यावारिधि छात्रवृत्तिमार्फत सरकारी संस्थाको क्षमता अभिवृद्धि गर्ने उद्देश्य राखिएको छ । कोरियाको विकास अनुभव, प्रविधि र ज्ञान साझेदारीमार्फत साझेदार मुलुकको दिगो विकासमा योगदान पुर्‍याउने लक्ष्य रहेको कोइकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?