+
+
Shares

चुनावी तालमेल गर्न एमालेको अपिल, अरू दलमा अरुचि

एमाले उपाध्यक्ष बादलले चुनावी गतिविधिबारे जानकारी दिँदै मतदान अघिको अन्तिम समयसम्म तालमेलबारे निर्णय हुन सक्ने बताएका हुन् ।

सइन्द्र राई सइन्द्र राई
२०८२ माघ २१ गते २२:००

२१ माघ, काठमाडौं । नयाँ राजनीतिक शक्तिहरूको दबाब बढ्दै गएपछि नेकपा एमालेले आफ्ना मुख्य नेताहरू जोगाउन निश्चित क्षेत्रहरूमा चुनावी तालमेल गर्ने नीति लिएको छ ।

केन्द्रीय मुख्यालय च्यासलमा बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत् एमालेले चुनावी तालमेलका निम्ति दलहरुसँग सम्वाद भइरहेको जानकारी दिएको हो ।

‘कतिपय निर्वाचन क्षेत्रहरुमा हाम्रो सहकार्य हुन सक्छ र त्यो कुराहरु चलि पनि रहेको छ विभिन्न दलहरुसँग..,’ उपाध्यक्ष रामबहादुर थापा बादलले भने, ‘२१ गते भन्दा अगाडिसम्म सहकार्यका निम्ति सबै पक्षहरुसँग प्रयत्न जारी रहन्छ, र अन्तिम समयमा ती ठाउँहरुमा सहकार्य हुन सक्छ ।’

देश जनाउनेहरुका विरुद्ध दलहरुले सहकार्य गर्नुपर्ने आवश्यकता रहेको तर्क उनले गरेका छन् । ‘देश जलाउनेहरुका विरुद्ध जाने राजनीतिक दलहरुसँग सहकार्य गर्न सकिन्छ भन्ने पार्टीको नीति छ,’ बादलले भनेका छन्, ‘..निश्चित क्षेत्रहरुमा वीनवीनको नीति अनुसार सहकार्य हुन सक्छ ।’

उपाध्यक्ष बादललाई एमालेले निर्वाचन परिचालन समितिको संयोजक बनाएको छ । संयोजककै हैसियतमा चुनावी गतिविधिबारे जानकारी दिँदै बादलले मतदानको अन्तिम समयसम्म तालमेलबारे निर्णय हुन सक्ने बताएका हुन् ।

बादलले जानकारी दिनुअघि नै पार्टीको लेटरप्याडमै वक्तव्य जारी गरेर एमालेले तालमेलको प्रयासबारे जानकारी दिएको थियो ।

‘कर्णाली प्रदेशको रुकुम पश्चिममा प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार जनार्दन शर्मालाई सघाउने सहमति भएको छ भने प्राविधिक कारणले मनाङमा उम्मेदवारी कायम हुन सकेन,’ प्रचार संयोजक मीनबहादुर शाहीले जारी गरेको बक्तव्यमा भनिएको छ, ‘निर्वाचन क्षेत्रहरूमा स्थानीय वस्तुस्थितिका आधारमा विभिन्न राजनीतिक दल वा समूहसँग सम्वाद र सहमति भइरहेका छन् ।’

अर्का उपाध्यक्ष पृथ्वीसुब्बा गुरूङले मंगलबार आयोजित पत्रकार सम्मेलनमा पनि यस्तै तर्क गरेका थिए । उनका अनुसार अहिलेसम्म सहमति नजुटे पनि चुनावी तालमेलको सम्भावना टरिसकेको छैन ।

तर कहाँ–कहाँ कुन राजनीतिक दलसँग चुनावी तालमेल हुन्छ भन्ने चाहिँ उनीहरूले भनेका छैनन् ।

गगन थापाको नेतृत्वमा पुनगर्ठित नेपाली कांग्रेसले चुनावी तालमेल नगर्ने घोषणा गरिसकेको छ । पार्टी सभापति चयन भइरहँदा नै थापाले चुनाव अघि कसैसँग गठबन्धन नगर्ने र देशभरका कांग्रेसले रुख चिन्हमा मतदान गर्न पाउने व्यवस्था मिलाउने सार्वजनिक घोषणा गरेका थिए ।

अनलाइनखबरसँगको अन्तर्वार्तामा पनि थापाले कसैसँग कुनै किसिमको तालमेल संभव नरहेको प्रष्ट पारेका छन् । ‘म कांग्रेस सभापतिको हैसियतले स्पष्ट भन्दैछु– नो, नट एट अल ! कुनै पनि तहको नेताले कहिँ कतै त्यस्तो सम्झौता गरेको पाइएमा त्यो कारबाहीको विषय बन्छ । यो पटक १६५ वटै निर्वाचन क्षेत्रमा कांग्रेस एक्लै लड्छ । कसको क्षेत्रमा के होला भनेर कसैले अलमलिनु पर्दैन,’ थापाले भनेका छन् ।

थापाले आफू सभापति निर्वाचित भएर आएपछि नेपालमा असफल सावित चुनाव अघि गरिने गठबन्धन संस्कृति भत्किएको बताएका छन् । थापाले भन्दा चर्को स्वरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले तालमेल अस्वीकार गरेका छन् ।

‘मेरो खुला आग्रह छ– अझै पनि जो–जो मिल्नु छ, मिल । खुला मिल वा गोप्य मिल, जस्तो र जसको गठबन्धन गर्नुपर्ने हो, गर,’ लामिछानेले फेसबुक पेजमा मंगलबार लेखेका छन्, ‘अन्तिम शक्ति लगाऊ र यो सुनामी रोकेर देखाऊ, हामी मत परिणाम स्वीकार्छौ ।’

एमालेसँग चुनावी तालमेल हुन सक्ने अर्को शक्ति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि कसैसँग चुनावी तालमेल नगर्ने घोषणा गरिसकेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले एमालेसँग तालमेलको हल्ला चलाएर बद्नाम गराउन खोजिएको तर्क गरेका छन् ।

जबकि विगतका अभ्यास र एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि यसपटक बढेको दबाव हेर्दा झापामा राप्रपासँगै तालमेल हुन सक्ने अनुमान गरिदै थियो । ०७४ को चुनावमा वाम गठबन्धन हुँदा पनि झापामा ओलीले लिङ्देनसँग चुनावी तालमेल गरेका थिए । ०७९ मा पनि तालमेल गरेर ओलीले झापा–५ र लिङ्देनले झापा–३ बाट जित्ने बातावरण मिलाएका थिए । तर लक्ष्मीप्रसाद संग्रौलालाई उम्मेदवार बनाएको लिङदेनले यसपटक तालमेल नहुने अन्तर्वार्ता नै दिएका छन् ।

तालमेलबारे एमालेले सार्वजनिक गरिसकेको नीतिलाई थोरै सहयोग पुग्नेगरी अभिव्यक्ति भने नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएका छन् । अनलाइनखबरसँगकै अन्तवार्तामा पनि प्रचण्डले सहकार्य असंभव नरहेको बताएका हुन् ।

‘..राजनीतिमा असंभव भन्ने त हुँदैन, तर अहिले नै त्यस्तो (तालमेलबारे निर्णय) भइसकेको छैन,’ प्रचण्डले अन्तर्वार्तामा भनेका छन् । प्रचण्डको सार भने यसपटक तालमेल नगर्ने नै देखिन्छ । ‘यो पटक हामीले कुनै एउटा पार्टीसँग समीकरण गरेर आफ्नो ठाउँ छाड्ने सोचेका छैनौं । मैले अघि नै भने– हामी १६४ ठाउँमा आफ्नै उम्मेदवार उठाएर अगाडि बढिसकेका छौ,’ उनले भनेका छन् ।

नेताहरूका अनुसार नेकपाले संस्थागत रूपमै यसपटक एक्लै लड्ने निर्णय गरिसकेकाले अब तालमेलको सम्भावना न्यून छ । ‘तारामा आकाशमा मात्रै रहन्छ भने पनि त्यो सहन तयार हुनुपर्छ, तर कसैसँग तालमेल हुँदैन भन्ने नै दबाव पार्टीभित्र ठूलो छ,’ नेकपाका एक नेता भन्छन्, ‘संयोजक र सहसंयोजकले चाहे भने पनि अब पार्टीको निर्णय उल्ट्याउन गाह्रो छ ।’

अर्थात् एमालेसँग स्थानीय स्तरमा तालमेल गर्न तयार दल अहिलेसम्म प्रलोपा मात्र देखिएको छ । प्रलोपासँग एमालेले हुम्ला र जुम्ला बाहेकका कर्णाली प्रदेशका जिल्लाहरूमा तालमेल गर्ने निर्णय गरिसकेको छ । यो तालमेलबाट प्रलोपाका जनार्दन शर्मा, एमाले महासचिव शंकर पोखरेल लगायतलाई लाभ पुग्न सक्ने देखिन्छ ।

अरू राजनीतिक दलहरू भने एमालेको अपिल स्वीकारेर तालमेल गर्न अहिलेसम्म तयार देखिँदैनन् । तर एमाले उपाध्यक्ष बादलले भने पुराना दलहरुलाई सिध्याउने षडयन्त्र चिर्न पनि तालमेल आवश्यक रहेको तर्क गरेका छन् ।

नलुकेको विरोधाभास

नयाँ र पुराना दलहरुको अनिच्छा बाबजुत सार्वजनिक वक्तव्य र पत्रकार सम्मेलन मार्फत चुनावी तालमेल हुन सक्ने सन्देश दिएको एमालेमा अरू राजनीतिक निष्कर्षबारे पनि विरोधाभास देखिएको छ ।

राजनीतिक एजेण्डामा रहेको विरोधाभास पार्टी उपाध्यक्ष बादलले पत्रकार सम्मेलनमा पनि लुकाउन सकेनन् । उनका अनुसार एमालेको मुख्य लक्ष्य चुनावबाट पार्टीलाई बहुमत दिलाउनु हो, र ओलीलाई प्रधानमन्त्री बनाउनु हो ।

‘भाद्र २३ गते अगाडिको देशभक्त र लोकतान्त्रिक सरकारलाई यो निर्वाचनबाट पुनर्स्थापना गर्ने अहिलेको ठोस् कार्यनीति हो हाम्रो,’ उनले भने, ‘यो निर्वाचनमा नेकपा एमालेलाई कम्तिमा पनि पहिलो पार्टी बनाउनुपर्छ, र अधिकतम रुपमा बहुमतको पार्टी बनाउनुपर्छ भन्ने लक्ष्य निर्धारण गरिएको छ ।’

तर लगत्तै, प्रतिनिधि सभा पुनस्थार्पना एमालेको मुख्य एजेण्डा रहेको बताउन पनि उनीले छुटाएनन् । ‘हप्ता दिनभित्रै विघटन असंवैधानिक थियो भनेर निर्णय दिनुपर्थ्यो । विलम्ब गर्नुको पछाडि ऊ निर्णय दिन चाहँदैन,’ बादलले भने, ‘यतातिर पनि षडयन्त्रको निरन्तरता देखिन्छ ।’

प्रतिनिधि सभा पुनर्स्थापना नभए स्थापित दलहरुलाई सिध्याउने खेल भइरहेको पनि उनले बताए । ‘यहाँका स्थापित दलहरुलाई सिध्याउने कुरा भइरहेको छ, त्यस्तो अवस्थामा हाम्रो अध्यक्षले निर्वाचन हुन सक्दैन भनिरहनु भएको छ,’ उपाध्यक्ष बादलले भने ।

अर्थात् ओलीलाई प्रधानमन्त्री बनाउनेगरी बहुमत ल्याउने पार्टीको ठोस् कार्यनीति रहेको तर्क गर्दागर्दै बादलले प्रतिनिधि पुनर्स्थापनामा पनि जोड दिए ।

२१ फागुनअघि प्रतिनिधि सभा पुनर्स्थापना नगरेर अदालतमा षडयन्त्र देखेका बादलले देश जलाउनेहरुलाई नंग्याउन भारत र चीनका विश्लेषकहरु लागेको तर्क गरे ।

‘अहिले यो परिघटनालाई (जेनजी आन्दोलन) भण्डाफोर गर्ने, नंग्याउने कुराहरुमा भारतका राजनीतिक विश्लेषकहरुले पनि काम गरिरहेका छन्,’ बादलले भने, ‘देश जलाउने सरकार जो छ, यो थोपरिएको अवैध सरकार छ, त्यसलाई नंग्याउने काम त्यतातिरबाट (चीन) पनि भइरहेको छ ।’

चीनको पृथकतावादीलाई नेपाल सरकारले राजकीय सम्मान सहित काठमाडौंमा स्वागत गरेको दावी सहित उपाध्यक्ष बादलले यस्तो कार्यको मूल्य महंगो पर्ने समेत बताएका छन् ।

वर्तमान नेपाल सरकारलाई नंग्याउन भारत र चीन लागिपरेको बताउने क्रममा बादलले ओली राष्ट्रवादी नेता भएकैले सरकारबाट हटाइएको पनि तर्क गरे । ‘ऊ (ओली) बाह्य शक्तिहरुको अगाडि नझुकेको हुनाले, घुँडा नटेकेको हुनाले उसको सरकार विघटन गरिएको हो,’ बादलले भने, ‘केपी ओली एउटा स्वाभिमानी देशभक्त हो भन्ने भाष्य बन्दै गएको छ ।’

यसरी एकपछि अर्को विरोधाभासपूर्ण निष्कर्ष सुनाउने क्रममा बादलले नयाँ राजनीतिक शक्तिहरुप्रति तिक्ततापूर्ण अभिव्यक्ति दिए । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तिम सरकारलाई देश जलाउनेहरुको सरकार भनेर उनले बारम्बार भने ।

‘देश जलाउनेहरु र देश जलाउनेहरुको सरकार दिनप्रतिदिन नांगिदै गइरहेको छ । र यो नंग्याउने कुराहरुमा देशभक्त र निष्पक्ष राजनीतिक विश्लेषकहरुले महत्वपूर्ण भूमिका खेलिरहेका छन्,’ उनले भने । कतिसम्म भने कार्की नेतृत्वको सरकारलाई नंग्याउन दुर्गा प्रसाईंको अभिव्यक्तिहरूलाई समेत बादलले सन्दर्भ सामाग्रीका रुपमा प्रस्तुत गरे ।

जबकि त्यही पत्रकार सम्मेलनमा बाँडिएको एमाले बक्तव्यमा ओलीप्रति सामाजिक सञ्जालमा प्रयोग भइरहेको आरोपहरुमाथि छानबीनको माग गरिएको छ । ‘.. अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गरी गरिएका गालीगलौज, अमर्यादित र असभ्य शब्दहरुको प्रयोग, व्यक्तिगत मर्यादा र स्वतन्त्रताको समेत उल्लङ्घन हुनेगरी सामाजिक सञ्जालमा प्रसारण गरिएका सामग्रीप्रति आपत्ति प्रकट गर्दै यस्ता असभ्य, गैरराजनीतिक र आपत्तिजनक अभिव्यक्तिहरुको कडा शब्दमा भर्त्सना तथा निन्दा गर्दछ,’ वक्तव्यमा भनिएको छ ।

लेखक
सइन्द्र राई

राई अनलाइनखबरका राजनीतिक ब्यूरो प्रमुख हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?