२ फागुन, सल्यान । जिल्ला अस्पताल सल्यानको स्तरोन्नति हरेक निर्वाचनमा राजनीतिक दलका घोषणापत्रको प्राथमिकतामा पर्छ । तर, सधैं घोषणापत्रमा समेटिने यो मुद्दा कागजमै सीमित छ ।
एकातिर विशेषज्ञ सेवा नहुँदा यहाँका नागरिक उपचारका लागि अझैसम्म जिल्लाबाहिर जान बाध्यमा छन्, भने अर्कातिर अस्पतालमा विशेषज्ञ सेवा विस्तार गर्ने उद्देश्यले निर्माण सुरु गरिएका दुई वटा भवन दुई वर्षदेखि अलपत्र छन् ।
अलपत्र भवन निर्माणको ठेक्का आरोग्य-सुवेदी जेभीको छ । उसले २०७८ वैशाखमा तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने सम्झौता गरेको थियो । तर निर्माण सुरु भएदेखि नै पटक-पटक अवरुद्ध हुँदैआएको निर्माणकार्य अन्तिम चरणमा पुग्दा रोकियो । सधैँ चुनावी मुद्दा बनाउने दलहरूले भवन निर्माण अलपत्र परेको विषयमा पनि ध्यान दिन सकेका छैनन् ।
सेवा विस्तारको अपेक्षा राखेका जिल्लाका नागरिक अस्पताल भवनको निर्माण नै अलपत्र पर्दा निराश छन् । ‘जिल्ला अस्पतालबाटै विशेषज्ञ सेवा पाउँछौँ भन्ने लागेको थियो, तर अलपत्र भवन देखेपछि दु:ख लागेको छ,’ उपचार गर्न जिल्ला अस्पताल पुगेका शारदा नगरपालिका-२ खलंगाका अभिलाषा सिँह भन्छिन्, ‘चुनाव आउँदा नेताहरू अस्पतालमा विशेषज्ञ सेवाले भरिपूर्ण बनाउने आश्वासन दिन्छन् । जितेपछि खै कता हराउँछन् ।’
अलपत्र भवन देखेर कपुरकोट गाउँपालिका–३ का विष्णुप्रसाद गौतम आक्रोशित सुनिन्छन् । ‘स्वस्थ्यजस्तो संवेदनशील विषयलाई भोट बैंक बनाउने नेताहरू त्यसपछि खै कहाँ हराउँछन् । अस्पताल भवनले उनीहरू आफ्नै वचनमा कति उदासिन बन्नसक्छन् भन्ने प्रमाण दिएको छ,’ उनले भने । जिल्लामै उचित उपचारको प्रबन्ध नहुँदा बाहिर जानुपर्ने बाध्यताले बिरामीले सास्ती र आर्थिक भार बेहोर्नुपरेको उनको दुखेसो छ ।
‘जिल्ला अस्पतालमा संरचना सुधार र जनशक्ति थप गरेपछि मात्रै सेवा विस्तार सम्भव छ । यी भवन बनिदिए सहज हुन्थ्यो,’ गौतमले भने, ‘तर, बन्न लागेका भवन नै अलपत्र पारिदिएपछि जनताको आशामाथि नै तुषारापात भएको छ ।’
२०७९ को निर्वाचनमा पनि दल तथा उम्मेदवारहरूले घोषणापत्रमा अस्पताल स्तरोन्नतिको मुद्दा अघि सारेका थिए । त्यतिबेला सबैजसो दलको मुद्दा अस्पताल स्तरोन्नति गर्दै ५० शैया बनाउने थियो ।
यद्यपि, त्यसअघि नै ५० शैयाको अस्पताल बनाउन संघीय सरकारको १८ करोड बजेटमा दुई भवन निर्माणको काम थालिएको थियो । सम्झौताअनुसार ठेकेदार कम्पनी आरोग्य-सुवेदी जेभीले २०८० भित्रै निर्माण सम्पन्न गरिसक्नुपर्थ्यो ।
आरोग्य-सुवेदी जेभीले सम्झौता भएको एक वर्षपछि पेटी ठेकेदारलाई निर्माणको जिम्मा दियो । उसले करिब ७५ प्रतिशत काम सकेपनि निर्धारित समय २०८० चैतसम्म पूरा गर्न सकेन् । म्याद थपका लागि आवश्यक कागजात नबुझाउँदा समयमै म्याद थप हुन नसकेको वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा. अर्जुनकुमार बुढामगरले बताए ।
अहिले बल्ल म्याद थप भएको छ । बुढामगरका अनुसार स्वास्थ्य मन्त्रालयले २०८३ असार १० सम्मको म्याद थपेको छ । ठेकेदार कम्पनीले छिट्टै काम सुरु गर्ने आश्वासन दिएको बुढामगरले बताए ।
अस्पताल भवन समयमै निर्माण नहुँदा जिल्ला अस्पतालबाट स्तरीय सेवा प्रवाह गर्न समस्या भइरहेको छ । ‘अहिले सीमित संरचनामा सेवा प्रवाह गरिरहेका छौँ । इमरजेन्सी, ल्याब, वार्ड सबैमा विभिन्न सेवा थप गरेका छौँ,’ स्वास्थ्य सेवा कार्यालय प्रमुख बुढामगरले भने, ‘सेवा थप विस्तार गरौँ भन्दा संरचना अभाव छ । यसैकारण खुम्चिएर बस्नुपरेको छ ।’
जिल्ला अस्पताल सल्यानबाट अहिले दैनिक १२० भन्दा बढी विरामीले उपचार सेवा लिने गरेका छन । जसमा छिमेकी जिल्ला रोल्पा र रुकुमका बिरामीसमेत पुग्छन् । बिरामीको चाप धेरै भएका हुनथालेपछि अस्पतालले १५ शैयाको ठाउँमा ५० शैया राखेर सेवा दिइरहेको छ ।
प्रतिक्रिया 4