७ फागुन, विराटनगर । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाल र भारतका सीमावर्ती जिल्लाका सुरक्षा अधिकारीले ७२ घण्टासम्म सीमा नाका बन्द गर्ने निर्णय गरेका छन् ।
बिहीबार कोशी प्रदेशका सीमावर्ती जिल्ला झापा, मोरङ र सुनसरी र सीमावर्ती किशनगञ्ज, अररिया र सुपौल जिल्लाका सुरक्षा अधिकारीको बैठकले मतदान हुनुभन्दा ७२ घण्टा अगाडिदेखि सीमामा आवागमन रोक्ने सहमति भएको हो ।
सहमतिअनुसार फागुन १८ गते राति १२ बजेदेखि फागुन २१ गते राति १२ बजेसम्म सीमा नाका बन्द रहनेछ ।
बैठकमा नेपाली पक्षले चुनावी प्रचारप्रसारका लागि भारतीय सवारी साधनहरूको नेपाल प्रवेशमा रोक लगाउन भारतीय सुरक्षा निकायसँग आग्रह गरेको छ ।
मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाका अनुसार भारतीय सुरक्षा अधिकारीहरू यस विषयमा सहयोग गर्न सकारात्मक देखिएका छन् । ‘भारतीय नम्बर प्लेटका गाडी प्रयोग गर्न निर्वाचन आचारसंहिताले दिदैन, हामीले यसमा कडाइ गरेका छौं,’ उनले भने,‘ भारतीय पक्षलाई पनि सहयोगका लागि आग्रह गरेका छौं ।’
सीमा क्षेत्रमा दुवै देशका सुरक्षा निकायले संयुक्त गस्ती बढाउने सहमति पनि गरेका छन् । बैठकमा तेस्रो मुलुकका नागरिकहरूको अनधिकृत प्रवेश रोक्ने, लागुऔषध ओसारपसार, मानव बेचबिखन, र नक्कली मुद्राको कारोबार नियन्त्रण गर्ने, हातहतियारको तस्करी, अवैध नगद ओसारपसार जस्ता सीमापार अपराध नियन्त्रणका लागि सहकार्य गर्ने सहमति भएको सहायक प्रजिअ कोइरालाले जानकारी दिए ।
बैठकमा कोशी प्रदेशका तीन जिल्ला झापा, मोरङ र सुनसरीका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुख र भारतको बिहार राज्यका किशनगञ्ज, अररिया र सुपौल जिल्लाका सुरक्षा अधिकारीहरूको सहभागिता थियो ।
प्रतिक्रिया 4